पोखरामा बन्न लागेको अन्तराष्ट्रिय बिमानस्थलबाट व्यवसायिक रुपमा बिमान उड्न असम्भव



काठमाडौं । चीनको ऋण सहयोगमा बन्न लागेको पोखराको अन्तराष्ट्रिय बिमास्थलबाट साना जेट बिमान संचालन गर्न असम्भव भएको प्रतिवेदन सरकारी अध्ययन टोलीले दिएको छ ।

पर्यटन मन्त्रालयले गठन गरेको विज्ञ टोलीले पोखरामा बन्न लागेको अन्तराष्ट्रिय बिमानस्थलबाट व्यवसायिक रुपमा अन्तराष्ट्रिय उडान असम्भव रहेको प्रतिवेदन दिएको हो ।

पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीले मन्त्री भएपछि गठन गरेको विज्ञ टोलीले पोखरामा व्यवसायिक रुपमा अन्तराष्ट्रिय उडान गर्न असम्भव भएको प्रतिवेदन दिएको हो ।

पूर्व सचिव पूर्वसचिव विरेन्द्रबहादुर देउजा, क्याप्टेन पिजे शाह सिभिल इन्जिनियर कमल केसी, सुमन श्रेष्ठ र प्रभा वैद्यको विज्ञ टोलीले पोखरामा अन्तराष्ट्रिय उडान गर्न असम्भव भएको निष्कर्ष निकालेको छ ।

सन् २०२१ भित्र निर्माण सक्ने लक्ष्य सहित पोखराको अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य सुरु भइसकेको छ ।
चीनको एक्जिम बैंकको सहुलियत पूर्ण ब्याजदरमा पोखरा अन्तराष्ट्रिय बिमानस्थलको काम अगाडि बढेको छ । एक्जिम बैंकबाट सरकारले सहुलियत पूर्ण ब्याजदरमा २२ अर्ब ऋण लिएको हो ।

पोखरामा अन्तराष्ट्रिय बिमानस्थल निर्माण सुरु हुँदा पनि यसको व्यवसायिक उडानको विषयमा प्रश्न उडेको थियो । १६० सिटसम्मको जहाज पोखरामा बन्न लागेको अन्तराष्ट्रिय बिमानस्थलमा उडान गर्न सकिने बताइएको छ ।
देउजा नेतृत्वको सुझाव समितिले पोखरामा व्यवसायिक उडान सम्भव नहुँने र पोखरामा अन्तराष्ट्रिय बिमानस्थल नाफामा जान नसक्ने निष्कर्ष निकालेको हो ।

विज्ञ टोलीले नेपालमा बनाउने भनिएका तीनवटा अन्तराष्ट्रिय बिमानस्थलमा निजगढमात्र व्यवसायिक दृष्टिकोणले फाइदाजनक हुने निष्कर्ष निकालेको छ । भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध एयरपोर्टको लागि भारतसँग एयर स्पेसको लागि माग गर्नुपर्ने सुझावमा उल्लेख छ ।

‘त्रिभुवन र निजगढ अन्तराष्ट्रिय बिमानस्थल सजिलै आत्मनिर्भर हुन सक्ने देखिन्छ’,विज्ञ टोलीको सुझाव प्रतिवेदनमा भनिएको छ,‘गौतम बुद्ध २० वर्षमा हुन्छ,काठमाडौमा एयर चाप पठाउन सके १० वर्षमा हुन्छ,पोखराको लागि काठमाडौंको एयर चाप पठाउन सके ३० वर्षमा मात्र आत्मनिर्भर हुन्छ।’

प्रतिवेदनमा व्यवसायिक उडान गर्न पोखरा बिमानस्थलमा असम्भव भनिएपनि कारण भने दिइएको छैन ।
पोखरामा चिनियाँ सहयोगमा अन्तराष्ट्रिय बिमानस्थलको निर्माण कार्य सुरु भइसकेको छ । सन् २०२१ सम्म निर्माण सक्ने योजनाका साथ विमानस्थल निर्माणको काम सुरु भएको हो ।

विगतमा बिमानस्थल निर्माण सुरु गर्ने वा नगर्ने भन्ने विषयमा विवाद हुँदा व्यवसायिक रुपमा संचालन हुन नसक्ने कुरा आएको थियो । पोखरामा अन्तराष्ट्रिय बिमानस्थल निर्माणको लागि आन्दोलन तथा लबिङ समेत भएको थियो । जसमा हालका पर्यटनमन्त्री रबिन्द्र अधिकारीको पनि पोखरामा अन्तराष्ट्रिय बिमानस्थल निर्माण गर्न ठूलो भूमिका खेलेका थिए ।

यस्तै सुझाव टोलीले देशभित्र कुनैपनि स्थानमा आन्तरिक उडानका लागि बिमानस्थल नबनाउन सुझाव दिएको छ । टोलीले ५ वर्षसम्म आन्तरिक उडानका लागि बिमानस्थल आवश्यक नभएको सुझाव दिएको हो ।

पर्यटनमन्त्री रविन्द्र अधिकारीले काभ्रेमा आन्तरिक उडानका लागि बिमानस्थल निर्माण गर्ने तयारी गरेका छन् । १० अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको सो बिमानस्थल निर्माणका लागि चालु आर्थिक वर्षमा बजेट बिनियोजन भएको छ ।

हाल ४८ वटा बिमानस्थल बनिसकेको र ७ वटा बनेको र जसमा १६ वटा बिमास्थल संचालनमा नआएको र ३२ वटामा ४ बाहेक सबै घाटामा चलेको सुझाव टोलीको प्रतिवेदनमा उल्लेख छ ।

तराईका बिमास्थललाई रातीमा पनि चल्ने बनाउनुपर्ने जसले काठमाडौंको एयर चाप कम हुने सुझाव प्रतिवेदनमा दिइएको छ ।


क्लिकमान्डु