किताब किन्न कसले कति खर्च गर्छन ?




काठमाडौं । पछिल्ला केही बर्षयता महिनैपिच्छे नेपाली बजारमा नयाँ पुस्तक सार्वजनिक भएको खबर सुनिन्छ । यसरी लगातार पुस्तक बजारमा आईंरहँदा लेखक, प्रकाशक तथा पाठक भने कसरी पुस्तक खरिद गर्छन त ? लेखन तथा अध्ययनसँगै जोडिएका व्यक्तिहरु पुस्तक खरिदमा कती खर्च गर्छन त भनेर क्लिकमान्डुले कुराकानी गरेको छ ।

अमर न्यौपाने, लेखक


किताब किन्नकै लागि भनेर पैसा छुट्याको हुन्न । प्रत्येक महिना ३ देखि ४ हजारको किताब किन्छु । किताब खरिद गर्दा संस्कृति र लोक परम्परामाथि लेखिएका किताब धेरै छान्छु । आख्यान र गैर आख्यानका किताब पनि उत्तिकै किन्छु । नेपालमा उपलब्ध नहुने किताब विदेशबाट साथीहरुसँग पनि मगाउने गर्छु । म आफै पनि विदेश जाँदा पहिलो प्राथमिकता पुस्तक खरिदलाई दिन्छु । पछिल्लो समय अमेरिका भ्रमणमा मैले प्रसस्तै पुस्तक किनेको थिए । किताब प्रदर्शनिमा जाँदा धेरै नै किताब खरिद गरिन्छ । मैले एक पटकमा १५ हजारसम्मको किताब खरिद गरेको छु । पुस्तकमा गरिएको खर्च फजुल खर्च होइन पुस्तकले हामीले बाँचेको संसारलाई अझ नजिकबाट नियाल्न सहयोग गर्छन् । गैर आख्यानले लेखकलाई आख्यान लेखनको लागि मोटिभेट पनि गर्छ ।

भुपेन्द्र खड्का, प्रकाशक बुकहिल


किताब खरिद गर्नमा धेरै नै खर्च गर्छु । एकै पटकमा ४० हजार रुपैयाँसम्मको किताब खरिद गरेको छु । म नेपालमा पनि नयाँ प्रकाशित पुस्तकहरु खरिद गर्छु । पुस्तक खरिद गर्दा म लेखक र किताबको गुणस्तरमा केन्द्रीत भएर खरिद गर्छु । विशेष गरि भारत जाँदा धेरै पुस्तक खरिद गर्छु । भारतमा नेपालमा नपाईने अन्तर्राष्टिय लेखकका किताब सहजै उपलब्ध हुन्छन् । भारतमा मैले अनलाईनबाट पनि किताब खरिद गर्ने गर्छु । नेपालमा विदेशी किताब खरिद गर्दा मण्डला बुक पोइन्ट र एडुकेशनल बुक हाउसबाट धेरै खरिद गर्छु । मेरो कम्तिमा पनि महिनामा ८ देखि १० हजार रुपैयाँ किताबमा खर्च भईरहेको हुन्छ । म आफै पढ्नको लागि मात्र नभई उपहार दिनको लागि पनि किताब खरिद गर्छु ।

घिमिरे युवराज, रंगकर्मी


मासिक ५ हजार रुपैयाँसम्म किताबमै खर्च हुन्छ । म नेपालमा भन्दा नेपाल बाहिर हुँदा धेरै किताब खरिद गर्छु । नेपालमा मेरो श्रीमतीले धेरै किताब खरिद गर्छिन् । विदेशमा रहँदा म विशेषगरि ट्रान्जीटमा धेरै किताब खरिद गर्छु । मैले किताब खरिद गर्दा थिएटर र कला सम्बन्धी किताबलाई पहिलो प्राथमिकता दिन्छु । यसका अलवा म सर्ट स्टोरी पनि उत्तिकै खरिद गर्छु । विदेशबाट साथीहरु आउँदा पनि किताब मगाउने गरेको छु । भर्खरै मात्र मैले नेदरल्याण्डको साथीसँग १२ वटा पुस्तक मगाए । कतिपय विदेशी किताबको मूल्य निकै महगोँ हुन्छ । यस्ता धेरै किताब मैले चाहेर पनि किन्न पाएको छैन । रुवी कौरको किताब मैले अझै किन्न सकेको छैन् । म उपहारको रुपमा पनि किताब नै दिन्छु । कतिपय साथी तथा आफन्तको बिहेमा मैले किताब उपहार दिने गर्छु । उपहार दिनको लागि छुट्टै किताब भने खरिद गर्दिन, आफुसँगै भएको किताब दिन्छु ।

नारायण ढकाल, लेखक


आजभोली अलिक कम किताब खरिद गर्छु । म धेरैजसो पुस्तक प्रदर्शनिमा किताब खरिद गर्छु । एकै पटकमा १५ हजारसम्मको किताब खरिद गरेको छु । नेपाली बजारमा नयाँ आउने सबैजसो पुस्तक खरिद गर्छु । कतिपय पुस्तक त उपहारमा पनि प्राप्त हुन्छन् । आजभोली म पुराना क्लासिक पुस्तक धेरै खरिद गरिरहेको छु । नेपालमा उपलब्ध नहुने पुस्तक बाहिरबाट पनि मगाउने गरेको छु । मेरो कमाईको धेरैजसो हिस्सा पुस्तक खरिदमै खर्च हुन्छ । सबैभन्दा धेरै म आख्यानका पुस्तक खरिद गर्छु, त्यसपछि कविता र गैर आख्यानका किताब खरिद गर्छु । विद्यार्थीकालमा पुस्तकालय गएरै धेरै पुस्तक अध्ययन गरिन्थ्यो तर आजभोली भने किताब किनेरै पढ्ने गरिन्छ ।

सगुना शाह, पाठक


किताब खरिदकै लागि मेरो मासिक २५ सय भन्दा माथि खर्च हुन्छ । म प्रत्येक महिना जसो किताब किन्ने गर्छु । मैले मेरो विद्यार्थी तथा साथिबाट पनि किताब नै उपहार पाउने भएकाले किताब किन्नकै लागि खर्च कम हुने गर्छ । बुकाहोलिक्समा प्रत्येक महिना छलफल गर्नु पर्ने भएकाले म धेरैजसो आख्यानका किताब किन्छु । तर मेरो रुचिले किताब किन्दा म संस्मरण र यात्रावृतान्त धेरै किन्छु । कविताका किताब निकै नै कम किन्ने गर्छु । नेपाल र भारतमा पनि नभेटिएका किताब म बाहिरबाट मगाउने गर्छु । विदेश जाँदा मैले किताब किन्नकै लागि भनेर ५ देखि ८ हजार रुपैयाँ छुट्याएको पनि हुन्छु । विदेशमा धेरैजसो त किताब पसल नै खोजेर किताब किन्ने गर्छु तर ट्रान्जीटमा पनि किताब किन्न धेरै समय खर्च गर्छु ।

कुमार नगरकोटी, लेखक


म अलिक हरफन मौला स्वभावको मान्छे । मेरो किताब किन्ने कुनै निश्चित हुँदैन । म धेरैजसो कोठामै हुन्छु तर शहरतिर निस्केको बेला किताब भने अवश्य किन्छु । ५ देखि ७ हजारसम्मको किताब महिनामा खरिद गर्छु होला । पहिला पहिला मैले बाहिरबाट पनि किताब मगाए तर अहिले भने मगाउँदीन् । बरु बाहिर जाँदा भने मनलाग्दी तरिकारले किताब खरिद गर्छु । खासमा म बाहिर जाने भनेकै किताब किन्न हो । आजभोली म किताब किन्दा सुनिरहेका लेखक मात्रै नभई नयाँ लेखक खोज्न थालेको छु । पुस्तक पसलमा किताब छान्दा म किताबको डिजाईन हेर्छु । मलाई लाग्छ डिजाईनले पुस्तकको धेरै कुरा भन्छ । मैले हिजो मात्रै सुदिप सेनको इरोटेक्स भन्ने किताब किनेको छु । यी लेखकको नाम मैले यसअघि सुनैकै थिईन । यो किताब म तपाईलाई पनि पढ्न सुझाउँछु ।

पहिला पहिला म बुबासँग पैसा मागेर किताब, सिनेमाका सिडि किन्थे । आजभोली बुबा हुनुहुन्न । म किताब संग्रह गर्न सक्दीन, किताब किनेर फर्किदा बाटोमा कोही भेटियो भने किताब थमाएर पाठाई दिन्छु । घरमा आउने एकाध साथीलाई पनि किताब दिएर पठाउँछु । किताब बाँड्नुपर्छ जस्तो लाग्छ मलाई । पछिल्लो समय मैले मिस्टीका उपन्यास प्रकाशन गरेपछि धेरै किताब किने । कहिलेकाही त म एकैपटकमा १२, १५ वटा किताब पनि किन्छु ।


क्लिकमान्डु