बार्षिक डेढ अर्बको चलचित्र उद्योगमा कहिले लागू हुन्छ बक्स अफिस प्रणाली ?




काठमाडौँ । सरकारले २०७५ बैशाख १ गतेदेखि उपत्यकाका सिनेमा हलमा अनिवार्य रुपमा बक्स अफिस जडान गर्ने निर्देशन दिए पनि अझै अझै कार्यान्वयन भएको छैन ।

सूचना तथा सञ्चार मन्त्रालयले बैशाख १ गतेदेखि उपत्यकाका सबै सिनेमा हलमा विद्युतीय टिकेटिङ सिस्टम अन्र्तगत बक्स अफिस जडान गर्न सिनेमा हललाई निर्देशन दिएको थियो ।

उपत्यकाका मील्टप्लेक्स हलमा भने गत फागुनबाट नै विद्युतीय टिकेटिङ सुरु गरिए पनि सिगंल थिएटर र अन्य केही हलमा भने म्यानुअल टिकेटिङ प्रणाली अझै कायम छ ।

लामो समयदेखि सिनेमा निर्माता तथा निर्देशकले बक्स अफिस लागू गर्नुपर्र्ने माग राख्दै आएका थिए । उनीहरुको माग सम्बोधन गर्दै सरकारले चलचित्र विकास बोर्डलाई बक्स अफिस लागू गर्न निर्देशन दिएको थियो । बक्स अफिसको अभावमा सिनेमा हलहरुले निर्माता र निर्देशकलाई ठग्ने गरेको आरोप लाग्ने गरेको छ ।

बोर्डकी अध्यक्ष निकिता पोडेलले पूर्वाधारको अभाबमा बैशाख १ देखि बक्स अफिस जडान गर्न नसकिएको बताइन् । समय कम भएकोले थप समय मागेर यसको गृहकार्य भइरहेको उनको भनाइ छ ।

‘सफ्टवयर र हार्डवयरको काम सकिएको छ, अहिले हामी सिगंल थिएटरमा नेटवकिङको काम गरिरहेका छौं,’ अध्यक्ष पौडेलले क्लिकमाण्डूसँग भनिन् ।

असार मसान्त भित्र उपत्यकाका सबै हलहरु बक्स अफिस सिस्टममा जडान भईसक्ने पौडेलले बताईन् । उपत्यका बाहिर भने इन्टरनेटको सहज पहुँच र अन्य प्राविधिक कारणले बक्स अफिस जडान गर्न अझै केही समय लाग्ने उनको भनाइ छ ।

पौडेलले असार मसान्तभित्र उपत्यकाका हलमा बक्स अफिस जडान भईसक्छ भनिरहँदा सूचना तथा सञ्चार मन्त्रालयकी सहप्रवक्ता संगिता ओझाले भने साउन १ गतेबाट उपत्यकाका सबै हलमा बक्स अफिस जडान गर्ने भनिए पनि संभव नहुने बताईन् ।

बक्स अफिस जडानको कार्य प्राविधिक कार्य भएकाले केही ढिलाई हुन सक्ने उनको भनाइ छ । ओझाका अनुसार कतिपय हलमा बोर्डले निर्माण गरेको सफ्टवेरले काम नगरेकाले केही ढिलाई हुने देखिएको हो । जडानका क्रममा देखिएका त्रुटी सच्याउँदै जाँदा तोकिएको समय सीमा भित्र बक्स अफिस जडान गर्न नसकिने देखिएको ओझाले बताईन् ।

सरकारले बक्स अफिस जडानको लागि बैशाखदेखि असारसम्म तीन महिनाको समयसीमा तोकेको थियो । सरकारले बक्स अफिस जडान गर्न निर्देशन दिएको समय सीमाको एक महिनाम बित्दा पनि हलमा बक्स अफिस जडान नभएपछि काठमाडौँ जिल्ला प्रशासन कार्यालयले तोकिएको समयमा बक्स अफिस जडान किन नभएको भन्ने प्रश्न गर्दै बोर्डको नाममा पत्र पठाएको छ । प्रशासन कार्याललयले बक्स अफिस जडानमा ढिलाई भएको कारण खुलाउन निर्देशन दिदै बोर्डलाई पत्राचार गरेको छ । स्रोतका अनुसार गृह मन्त्रालयको निर्देशनमा प्रशासन कार्यालयले बोर्डलाई पत्राचार गरेको हो । निर्माता संघका अध्यक्ष नवल खड्काले केही अगाडि गृहमन्त्री रामबहादुर थापालाई भेटेर तत्काल बक्स अफिस प्रणाली कार्यान्वयन गरी सिनेमा क्षेत्रको सिण्डिकेट तोड्न अनुरोध गरेका थिए ।

बक्स अफिस प्रणाली कार्यान्वयनमा आए राज्यलाई धेरै फाइदा हुने चलचित्र निर्माता दीपक गिरी बताउँछन् । यो प्रणाली कार्यान्वयनमा आए बार्षिक डेढ अर्ब रुपैयाँ बराबरको चलचित्र उद्योग पारदर्शी हुने र यसले राज्यलाई कर उठाउन सहयोग पुग्ने उनको भनाइ छ ।

‘एउटा चलचित्र बन्न औसतमा डेढ करोड रुपैयाँ लाग्छ, बर्षमा करिब १०० वटा चलचित्र बन्ने गरेका छन्, यसरी हेर्दा यो उद्योगको बार्षिक कारोबार करिब डेढ अर्ब रुपैयाँको देखिन्छ, बक्स अफिस प्रणाली कार्यान्वयनमा नआउँदा यो क्षेत्रको कारोबार नै अपारदर्शी जस्तै बनेको छ,’ गिरीले क्लिकमाण्डूसँग भने ।

बक्स अफिस प्रणाली कार्यान्वयनमा ल्याउदा राज्यलाई ८० प्रतिशत र निर्मातालाई २० प्रतिशतजति फाइदा हुने गिरीको भनाइ छ । यो प्रणाली लागू भएमा कुन हलमा कुन चलचित्र लागेको छ भन्ने पनि जानकारी हुने उनले बताए ।

‘अहिले त कुन हलमा कुन चलचित्र लागेको छ भनेर थाहै हुँदैन, म निर्माता हूँ भने मेरो फिल्म कुन हलमा लागिरहेको छ भनेर मलाई जानकारी हुनुपर्यो नि,’ गिरीले भने ।

बक्स अफिस जडान गर्नको लागि निर्माता तथा निर्देशक विगत ७ बर्षदेखि आवाज उठाईरहेका छन् । हाल नेपालमा २ सय भन्दा धेरै सिनेमा हल सञ्चालनमा रहेका छन् ।

के हो बक्स अफिस ?
सम्पूर्ण हलमा सिनेमाको टिकेट वितरण प्रणाली एउटै नेटवर्कबाट गरिने प्रणालीलाई बक्स अफिस भनिन्छ । इनटरनेटको माध्यमबाट एउटै सर्भरमार्फत सर्भंरमा जोडिएका सिनेमा हलले टिकेट विक्री गर्छन् । बक्स अफिस जडान भएपछि कुन हलमा, कुन सिनेमाको कति टिकट बिक्री भयो, यसबाट कति आम्दानी भयो भन्ने जस्ता तथ्याकं एउटै ठाउँमा सुरक्षित रहन्छन् ।

विश्वभरका सिनेमा उद्योगमा यो प्रणाली लागू गरिए पनि नेपालमा भने पहिलो पटक अभ्यास गरिदैँछ । बक्स अफिसको माध्यमबाट सिनेमा निर्माता तथा निर्देशकले मात्रै नभइ सरकार र आम जनताले पनि कुन सिनेमाले कति व्यापार गर्यो भन्ने जानकारी सहजै पाउन सक्छन् ।

बक्स अफिस नहुँदा निर्माता तथा निर्देशकले भनेको सूचनालाई नै सिनेमाको आधिकारीक व्यापार मानिदै आएको छ । बक्स अफिसको लगानीकर्ताले आफ्नो फिल्मको व्यापारलाई सहज ढंगले ‘मोनिटरिङ’ गर्न पाउँछन् । यो प्रणाली लागू भएका सिनेमा हलले टिकट बिक्रीमा अनियमितता गर्ने सम्भावना कम हुने बताइएको छ । यस अघि कतिपय निर्माता तथा निर्देशकले आफ्नो साख जोगाउन कै लागि भएपनि आफूले निर्माण तथा निर्देशन गरेको सिनेमाले धेरै व्यापार गरेको बताउने गर्थे । कतिपय निर्माता तथा निर्देशकलाई सिनेमा हलले नै थोरै व्यापार भयो भन्दै ठाँट्ने गरेका पनि थिए ।

बक्स अफिस लागू भयो भने सिनेमाको व्यापार, नाफा, घाटा जस्ता सबै आर्थिक पक्ष पारदर्शी हुन्छ । बलिउड तथा हलिउडमा बक्स अफिसकै तथ्याकंलाई सिनेमाको व्यापारको आधिकारिक तथ्यांक मानिन्छ ।

बोर्डकी अध्यक्ष पौडेलका अनुसार बक्स अफिस लागू भएपछि सरकारी राजस्वमा पनि बृद्धि हुन्छ । यसका अलवा सिनेमा निर्मातालाई पनि आफ्नो सिनेमाको नाफा तथा घाटाको यथार्थ विवरण प्राप्त हुन्छ ।

देशभरीका हलहरु एउटै कम्प्युटर प्रणालीमा जडान हुने हुँदा बोर्डलाई पनि सिनेमा हलको मनिटरिग गर्न सहज हुन्छ । बक्स अफिस लागू भएका सिनेमा उद्योगको सम्पूर्ण हिसाब किताब पारदर्शी हुने समेत पौडेलले बताईन । उनले बक्स अफिसले नेपाली सिनेमालाई थप उचाईमा पुर्याउने बताईरहँदा बोर्डको बक्स अफिस सम्बन्धीको काम कार्वाहिमा प्रश्न गर्दै प्रशासन कार्यालयले लेखेको पत्रका बारेमा उनी अनविज्ञ थिईन् ।


क्लिकमान्डु