डिभी पर्यो ? अमेरिका आउँदै हुनुहुन्छ भने यसो गर्नुहोस्




सन् २०१९ को लागि अमेरिकाले डाईभर्सीटी भिषा (डिभी) लोटरीको नतिजा प्रकाशित गरेको छ । जसमा करिब ३ हजारदेखि ४५ सय नेपालीको पनि नाम निस्किएको अनुमान गर्न सकिन्छ । कतिपयलाई त डिभीको नतिजा थाहा पनि भईसक्यो होला । नपर्नेहरुले अर्को वर्षको कुर्दै होलान् भने पर्नेहरुमा एक किसिमको खुसी मिलेको होला ।

तर, डिभी पर्ने वित्तिकै तपाईले संसार जितेको भने होईन । र, यसैको आधारमा अमेरिकाले तपाईलाई भिषा पनि दिँदैन । यो त तपाई अर्को प्रक्रियाको लागि छनौंट हुनुभएको मात्रै हो । अरु दुई कठोर प्रक्रिया पूरा गरेपछि तपाईलाई अमेरिकाले भिषा दिन्छ । अब तपाईले दोस्रो प्रक्रियामा जानुपर्ने हुन्छ । र, त्यसपछिको मौखिक अन्तरवार्तामा पनि तपाई सफल हुनुपर्ने हुन्छ ।

यो बाहेक तपाईको शैक्षिक अवस्था र स्वास्थ्य अवस्थाको आधारमा पनि कतिपय अवस्थामा अमेरिकाले भिषा नदिन सक्छ । यो बाहेक आपराधिक गतिविधिमा संलग्न भएको प्रहरी रेकर्डमा छ भने अगाडी नबढेकै राम्रो । किनभने अहिले अमेरिका आपराधिक गतिविधिबारेमा पहिला भन्दा निकै कडा भएको छ ।

डिभी परेर भिषा पाउने भनेको तपाईलाई अमेरिकाले आफ्नो देशमा बैधानिक रुपमा बसोबासको लागि अनुमति दिएको मात्र हो । अरु बाँकी सबै आफैंले गर्ने हो । नेपालमा अमेरिका गएपछि पैसा पाईन्छ, काम नगरेपनि सरकारले भत्ता दिन्छ भन्ने हल्ला छ । यो सबै भ्रम हो । स्थायी बसोबासको लागि अमेरिका आउनु भनेको तपाईले चिन्नु न जान्नुको पराई देशमा आफ्नो जिन्दगीको सुरुवात गर्नु हो ।

अमेरिकामा त्यो पनि संसारको शक्तिशाली भनिएको देशमा जीवन सुरु गर्नु सजिलो पक्कै छैन । केही सामान्य कुराहरु तपाईले आउनुभन्दा अगाडि नै तयारी गर्नुभयो भने तपाईलाई यहाँ धेरै सजिलो हुन सक्छ । तर, अहिलेसम्मको अनुभवमा अमेरिका भन्ने वित्तिकै सबै कुरा भइहाल्छ भनेर हुत्तिएर आउनेहरुले यहाँ धेरै हण्डर खानेगरेको अनुभव हामीसँग छ । डिभी होस वा अरु अमेरिकामा स्थायी बसोबासको लागि आउनेहरुले ध्यान दिनुपर्ने कुरा एकै हुन् । किनभने भिषा फरक भएपनि अमेरिकामा रहनसहन सबैको एकै हो ।

अमेरिका आउनु अगाडि के गर्ने ?
भाषा सिक्ने: तपाई जुन देशमा जादै हुनुहुन्छ त्यहाँको स्थानीय भाषा तपाईलाई खरर आयो भने तपाई सोच्नुहोस् कि धेरै सजिलो हुन्छ । अझ नेपाल आउने खैरैहरुले राम्रो नेपाली बोलिँदिँदा उसलाई र हामीलाई कति सजिलो हुन्छ ? हो अमेरिका पनि त्यस्तै हो । तपाई अमेरिका आउँदै हुनुहुन्छ र यहाँ बोलिने प्राथमिक भाषा अग्रेजी हो, त्यो जान्नुभयो भने तपाईलाई आएकै भोलिपल्टबाट सहज लाग्न सक्छ ।

डिभी परेपछि र भिषा पाएपछि पनि तपाईसँग प्रसस्त समय हुन्छ । त्यो समयमा अग्रेजी राम्रो छैन भने भाषा सिक्नतिर लाग्नुहोस । त्यही भाषा नेपालमा सिक्दा सर्वसुलभ हुन्छ । तर अमेरिका आएर सिक्न थालियो भने धेरै खर्चिलो र झन्झटिलो हुन्छ ।

सीप सिक्ने: अमेरिका सागर हो भनियो भने सागरमा तैरिनको लागि तपाईसँग पौडिन जान्नु र डुंगा हुनु आवश्यक हुन्छ । भाषा जान्नु भनेको पौडी खेल्न जान्नु हो, जसले केही समय तपाई डुब्नुहुन्न ।

सीप सिक्नु भनेको तपाईसँग डुंगा हुनु हो । जसले तपाईलाई पार लगाई दिन सक्छ । यति भन्नुको अर्थ हो तपाई बीना तयारी समुद्रमा हाम फाल्नु भयो भने के हुन्छ ? अमेरिका पनि त्यस्तै हो । न भाषा, न सीप, विना तयारी आएको अमेरिका तपाई र तपाईको परिवारलाई आएको भोलिपल्टबाटै कठिन हुनसक्छ । त्यसैले आउनुभन्दा अगाडि नै तपाई योग्य हुनुहोस । त्यसको लागि तपाई पहिलादेखि नै कुनै योग्य हुनुहुन्छ भने राम्रो । तर केही तयारी छैन भने आजैदेखि कुनै सीप सिक्नुहोस । तपाईसँग पढेको सर्टिफिकेट छदैछ, यसैले काम पाईन्छ भन्ने सोच छ भने त्यो त्यागिदिनुहोस् । यहाँ प्रमाणपत्रको साथमा योग्यता बढी हेरिन्छ ।

कस्ता सीप सिक्ने: अमेरिकामा काम सुरु गरेदेखिको राम्रो आम्दानी हुने पेसा भनेको सफ्टवेयर ईन्जिनियरिङ्ग, सिभिल ईन्जिनियरिङ्ग, नेटवर्किङ, हार्डवेयर, ईलेक्ट्रिक, अटो मेकानिक्स, वेभ तथा एप डेभलपिङ्ग, व्यूटिसियन, कानून व्यवसायी, नर्सिङ्ग, एकाउन्टेन, होटल म्यानेजमेन्ट लगायतका छन् ।

अमेरिकामा सुरक्षा निकायमा जागिर सुरु गर्न सक्नुभयो भने पनि धेरै राम्रो सेवा र सुविधा हुन्छ । यी बाहेकका कामहरु पनि छन् । प्रायजसो सरकारी कामको लागि भने तपाई अमेरिकन नागरिक हुनुपर्छ । त्यसको लागि कम्तिमा पाँच वर्ष लाग्नसक्छ । तपाईले ईन्टरनेट तथा अमेरिकामा रहेका आफन्तहरुसँग तपाई आउँदै गरेको स्थानमा कस्ता कस्ता संभावनाहरु छन् भनेर सल्लाह पनि गर्न सक्नुहुन्छ ।

कतिपय सीप सिक्न अमेरिकामा निकै महंगो हुन्छ । त्यसैले नेपालमै योग्य भएर आउनुभयो भने तपाईलाई केही सजिलो हुनसक्छ । केही सीप भएन भने पनि कम्तिमा गाडी चलाउने डाइभरसम्म भनेपनि भएर आउनुहोस । यसले एक त तपाईलाई निजी सवारी चलाउन सजिलो हुन्छ, अर्को लिफ्ट, उवरजस्ता ट्याक्सी सेवा चलाएर पनि गुजारा गर्न सक्नुहुन्छ ।

शुन्यबाट सुरुवात: धेरैले भनेकै कुरा हो कि नेपालमा जे जस्तो हुनेखाने भएपनि तथा ठूलै पदमा भएपनि अमेरिकामा जिवन शून्यबाटै सुरु गर्ने हो । किनभने तपाईले अमेरिकाको सेवा सुविधा लिनको लागि आफ्नो कारोबार र ईमानदारिताको ईतिहाँस देखाउनुपर्छ, जुन अमेरिकामा भर्खरै आउनेको शुन्य बराबरै हुन्छ । विस्तारै काम गर्दै क्रेडिट बनाउँदै जाने हो । त्यसैले कसै न कसैको सहयोगमै तपाईले अमेरिकाको जिन्दगी सुरु गर्नुपर्ने हुन्छ । यसैको लागि भिषा आवेदन दिँदैमा तपाईलाई स्पोन्सरको बारेमा सोधिन्छ ।

छाडापन विर्सनुस्: नेपालमा अपराध गरेर प्रहरीले समाए पनि सोर्सफोर्स लगाएर छोडेको उदाहरणहरु होलान् । तर, अमेरिकामा अपराधिक गतिविधिमा कुनै न कुनै रुपमा मुछिनुभयो भने त्यसले तपाईको जिवन नर्कमा पुर्याईदिन सक्छ । यसमा पुलिसको खोरमा होस या बाहिर एक पटक रेकर्ड खराब भएपछि जिन्दगीभरको लागि रेकर्ड खराब हुनसक्छ । यहाँ रोजदार दिनेहरुले पहिला अपराधिक रेकर्ड छ छैन, त्यो हेर्छन् । यतिसम्म कि तपाईले गलत तरिकाले सवारी चलाएर कारबाही भोग्नुभएको छ भने पनि त्यसको रेकर्ड राखिन्छ ।

त्यसैले यहाँ कानुन, व्यवहार, काम गर्ने तरिका सबै नै फरक छ । पहिला यी कुराहरुको जानकारी राख्नुहोस । यहाँ अरुलाई आदर गर्ने, तर नेपालमा जस्तो घुलमिल भईनहाल्ने चलन छ । कोही आएर राम्रो बोल्यो भन्दैमा उसलाई आफ्नो आन्द्राभुडीसम्म दिनु राम्रो होईन । आफूबाहेक अरुलाई प्राथमिकता दिनुपर्ने कुरा दिमागमा राख्नुहोस । र, यहाँ घरबाहिरका सबै आफ्नो गतिविधि निगरानीमा छ भन्ने हेक्का राख्नुहोला । अमेरिकामा कानुन सर्वाेपरी छ । यहाँ ठूला ठूला व्यक्ति पनि कानूनबाट उम्पन सक्दैनन् । ठूलै अपराधमा पर्नुभयो भने त फाँसीसम्म हुन्छ, नभएपनि नेपालै फर्कादिन सक्छ सरकारले ।

सामाजिक व्यवहारमा परिवर्तनः तपाई नेपालमा नचिनेको व्यक्तिको बच्चा राम्रो लाग्यो भने समातेर कतिसम्म त किसै गर्न पाउनुहुन्छ । तर यहाँ आफ्नो बाहेक अरुको बच्चा वा सम्पतिमा अनुमतिबीना छुनेसम्मको चेष्टा पनि नगरिदिनु होला । बाल्टिमोर मै एक नेपालीले एउटी गोरीको बच्चा छुँदा त्यसबाट एलर्जी भयो भनेर अदालती झमेला व्यहोरेको उदाहरण हामीसँग छ । त्यसैले यहाँ आफ्नै बच्चा, महिला, केटाकेटी र वृद्ध बृद्धालाई सम्मान गर्नुहोस । आवश्यक नपरेको व्यक्ति वा सम्पत्तिमाथि नजर नलगाउनुहोस् । यहाँ बच्चामाथी धेरै चासो राखिन्छ, त्यसैले नेपालमा जस्तो बच्चालाई पिट्नुभयो भनेपनि सोच्नुहोस तपाई पुलिसको खोरमा जाने तयारीमा हुनुहुन्छ ।

अन्त्यमा,
अमेरिकामा आएपछि गर्नुपर्ने प्राथमिक व्यवहारिक कुराहरु त तपाईको सहयोगीले बताउनु नै हुनेछ । तर, सुरुवातमा जस्तो भए पनि काम गर्छु भन्ने सोच राख्नुहोला । किनभने यहाँ कामको आधारमा कसैलाई भेदभाव गरिँदैन । र, कसैलाई पनि केमा कस्तो काम गर्छैं भनेर सोधिँदैन । बरु कति समय काम गर्छौं भन्ने ठुलो कुरा हुन्छ ।

सुरुमा सानाभन्दा सामान्य लाग्ने काम जस्तो ग्यास स्टेशन, ग्रोसरी स्टोर, होटल रेष्टुँरामा पनि काम गर्नुपर्ने हुनसक्छ । तपाईले सुरुवात स्टोरमा काम गरेर गर्नुभयो भने त्यो ठुलो कुरो होईन । तर स्टोरमै काम गरेर बुढो हुनुभयो भनेचाँही ठूलो कुरो हुनसक्छ । त्यसैले स्टोरमा काम गर्दै आफ्नो क्षमता अनुसारको अरु अवसर खोज्ने काम गर्नुहोला । डिभी पर्नेहरु सबैलाई बधाई तथा शुभकामना र अमेरिकामा स्वागत पनि ।
लेखक अमेरिकाको बाल्टिमोरमा बस्छन् ।


क्लिकमान्डु