आगामी बर्ष जनताले अनुभूत गर्ने गरी बजार सुधारका काम गर्दैछौं




हामीले अघिल्लो वर्ष नगरेको काम यो वर्ष पनि नगर्ने भन्ने हुँदैन । हाम्रो प्रमुख काम भनेको नेपाल स्ट्याण्डर्डको विकास गर्दै जाने भन्ने हो । यसक्रममा कतिपय मापदण्डलाई समसामयिक बनाएर परिमार्जन गछौँ । नयाँ मापदण्डहरु विकास गर्दै जान्छौँ ।

यसरी नयाँ मापदण्ड बनाउँदा वा भएको मापदण्ड परिमार्जन गर्दा सरोकारवालाहरुको चासो, उनीहरुकै अनुरोध तथा मागलाई केन्द्रमा राखेर गर्ने हो ।

हाम्रो अर्काे काम भनेको नेपाल गुणस्तरको प्रमाण पत्र दिने हो । त्यो वस्तु, सेवा प्रकृयासँग आधारित हुन्छ । यस क्रममा कतिपय पुराना इजाजतहरु रद्द गर्ने काम पनि गर्ने गरिएको हुन्छ । केही नयाँ इजाजतहरु आउछन् । नयाँ–नयाँ क्षेत्रहरुमा विस्तार पनि हुँदै जान्छ ।

हामीले आगामी आर्थिक बर्षभित्रमा मेट्रोलोजी भनेर एउटा मेजरमेन्ट सिस्टमलाई देशैभर ठिक ठाक बनाउन गृहकार्य गर्ने योजना बनाएका छौं । हामीले गर्ने सबै काम कारबाहीहरु जनतासँग प्रत्येक्ष्य जोडिने हुनाले सर्बसाधारणले के कस्तो अनुभूत गरेका छन् भन्ने कुराले हाम्रो काम कारबाहीलाई मापन गर्ने गर्छ । आगामी आर्थिक बर्षमा हामी सर्बसाधारणले अनुभूत गर्ने प्रकारका केही कामहरु गर्दैछौं ।

जस्तो कि हामीले कुनै पानीलाई एनएस चिन्ह दिएका हुन्छौं । सामान्यतः पानी हेरेर मान्छेले यो पानी एनएस चिन्ह पाएको हो वा यो होइन भनेर खुट्टयाउन सक्दैन । यस्तो अबस्थामा हेर्नेको दृष्टिकोण पनि सकारात्मक हुनुपर्यो । अर्थात तपाइले यो पानीमा शंका छ भन्दै सेवन गर्यो भने राम्रो पानीले पनि उसलाई नकारात्मक असर पुर्याउन सक्छ । यस्ता शंका निवारण गर्नको लागि कुनै संयन्त्र बनाउने वा कुनै स्ट्याण्डर्ड बनाउने भन्ने कुरा सदैब पहलको बिषय हुन्छ ।

उपभोक्ताले बजारमा बस्तु खरिद गरेपछि तिरेको मूल्य अनुसारको गुणस्तर पाउनु पर्यो । त्यसको ग्यारेन्टी हुनुपर्यो । बजारमा यस्तो कुरामा समस्या भएको अनुभूति आम सर्बसाधारणले गरेका छन् । हामीले यस्ता कुरामा सुधार गर्नै पर्छ ।

जस्तो कि तपाइले बजारबाट एउटा बत्ती किनेर लानु भएको छ भने त्यो बत्ती तपाइले प्रयोग गर्नै नपाइ खेर जान पनि सक्छ । तर, उसले पैसा हालेर किनेको सामान कति समयलाई चल्छ थाहा हुनु पर्यो । उपभोत्ताले २ सय रुपैयाँ हालेर किनेको सामान २ वर्ष चल्छ भने उसले ५० रुपैयाँ हालेर किनेको सामान ३ महिलना चल्न भन्ने कुरा उसलाई थाहा हुनुपर्यो ।

हामीले विगतमा गुणस्तरको प्रवन्धन गर्ने एउटा तरिका बनाइ सक्यौं । अब आगामी दिनमा नयाँ तरिकाबाट जानुपर्छ । त्यसको लागि कसरी अन्तरनिकाय समन्वय कसरी गर्ने भन्ने कुरा हो । अन्तरनिकाय समन्वय गर्ने गरी अबका दिनमा काम गर्ने सोच बनाएका छौं ।

अहिले ११ वटा वस्तु र एउटा सेवा गरी १२ वटामा अनिवार्य एनएस गर्ने तोकिएको छ । अरुमा स्वेच्छिक हो । हामी यस्तै काममा बढी लाग्नु परेको छ । बजारलाई विश्वसनीय बनाउन हामीले केही खास रणनीति र कार्ययोजना बनाउनै पर्नेछ ।

सरकार बजेटको तयारीमा छ । बजेटभन्दा अगाडि सरकारको नीति तथा कार्यक्रम आउँछ । त्यसमा हामीले आगामी आर्थिक बर्षमा गर्ने र जनतालाई अनुभूत हुने केही कार्यक्रम ल्याउने प्रयास गरिरहेका छौं ।

सरकारले गरेको लगानीको प्रतिफल आवश्यक हुन्छ । अहिले बजारमा एक प्रकारको समस्या र हामीले गरिरहेको समाधान अर्काे प्रकारको पनि हुन सक्छ । तर, कुरा जे भए पनि हामीले खरिद गरेर प्रयोग गर्ने बस्तु सुरक्षित हुनुपर्यो भने विश्वसनीय पनि हुनुपर्यो ।

बजारमा केही विकृति पनि छन् । आगामी आर्थिक बर्ष हामी यस्ता विकृति हटाउने गरी काम गर्दैछौं । जुन जुन बस्तुमा समस्या छन् त्यस्ता बस्तुमा हामीले बढी निगरानी गर्ने हो । नेपालमा प्रयोग हुने बस्तुको आवश्यक मापदण्ड बनाउने र सो मापदण्ड नपुगेका बस्तु आयातमै रोक लगाउने गरी काम गर्छाैं ।
(गुणस्तर तथा नापतौल विभागका महानिर्देशक पुडाशैनीसँग गरिएको कुराकानीमा आधारित)


क्लिकमान्डु