रोकिएन ग्यास सिलिण्डरमा बद्मासी, जोखिमपूर्ण सिलिण्डर पनि बिक्री




काटमाडौं । खाना पकाउने ग्यास (एलपीजी) उद्योगहरुले जोखिपूर्ण ग्यास सिलिन्डरहरु विक्री वितरण गर्ने गरेका छन् । ग्यास उद्योगहरुले जोखिमपूर्ण ग्यासका सिलिन्डर चिन्ह लगाएर छुट्टै राख्नु पर्नेमा त्यसो नगरी विक्री वितरण गर्ने गरेका हुन् ।

नेपाल गुणस्तर तथा नापतौल विभागले निरीक्षणका क्रममा यस्तो कमजोरी फेला पारेको हो । ग्यास उद्योगीले ब्यापारको नाममा उपभोक्तालाई जोखिममा पार्ने गरेको विभागको भनाइ छ ।

ग्यास सिलिण्डर विक्रीको लागि बजार पठाउनु अघि अपनाउनु पर्ने सुरक्षाका आवश्यक प्रवन्ध नमिलाइएको विभागका उपमहानिर्देशक रोमी मानन्धरले जानकारी दिइन् । विभागले उद्योगहरुको स्थलगत निरीक्षणका क्रममा यस्तो फेला परेको हो ।

‘उद्योगहरुले खाली सिलिन्डर जोख्ने नगरेको, सिलिण्डरमा सेफ्टी क्याप नलगाउने गरेको, नेपाल स्टान्डर अनुसारको सिलिन्डर स्टोरको व्यवस्था नभएको लगायतका कैफियत पाइए,’ उपमहानिर्देशक मान्नधरले भनिन् ।

यस्तै विभिन्न उपकरणको क्षमता परीक्षण नगरिएको, आवश्यकता अनुसारको सुरक्षा तालिम नदिईएको, फायर फाइटिङ सिस्टमले पूर्ण क्षमतामा काम नगरेको, पेन्टिङ कार्य नेपाल गुणस्तर अनुरुप नभएको र सरसफाइमा पनि ध्यान नदिइएको विभागको भनाइ छ ।

ग्यास कम्पनीहरुले लिकेज टेस्टसमेत नगर्ने गरेको निरीक्षणको क्रममा फेला परेको उनले जानकारी दिइन् ।

विभागले निरीक्षण गर्ने क्रममा कतिपय ग्यास उद्योगहरु मापदण्डले तोके बमोजिमका उपकरणहरु खरिद गरी जडान गर्ने प्रक्रियामा रहेको जानकारी दिएको छ ।

मापदण्ड बमोजिमका उपकरणहरु खरिद गरी जडान गर्न समय लाग्ने देखिएकाले सम्बन्धित उद्योगले उपकरणहरु खरिद गरेको बिल भरपाई समेत अध्ययन गरिएको मान्नधरले जानकारी दिइन् ।

विभागले उपभोक्ताको सुरक्षालाई ध्यानमा राखेर नेपाल गुणस्तर ५३३ अन्तर्गत एलपीजी बोटलिङ अपरेसन ल्याएको थियो । एनएस प्रमाणपत्र नलिएका ग्यास कम्पनीको सिलिन्डर बिक्रीमा रोक लगाउने भनिएपछि ग्यास उद्योगहरुले एसएस प्रमाणपत्रका लागि आवेदन दिएका थिए ।

विभागले दिएको जानकारी अनुसार अहिले सबै ग्यास उद्योगले एनएस प्रमाणपत्र लिनको लागि विभागमा निवेदन दिएका छन् ।

नेपालमा रहेका ५८ वटा ग्यास उद्योगमध्ये सबैले विभागमा एनएस प्रमाणका लागि आवेद दिएका हुन् । यी मध्ये ८ वटा ग्यासका बोटलिङको प्रमाणीकरण भइसकेको छ ।

१७ वटा ग्यासमा विभागले दोस्रो पटक निरीक्षण पुरा गरेको छ । ३२ वटा ग्यास उद्योगहरुमा पहिलो पटकको निरीक्षण भइसकेको विभागले जानकारी दिएको छ ।

नेपालमा मनोज ग्यास, नेपाल ग्यास, श्रीकृष्ण ग्यास, साईबाबा ग्यास, कोशी ग्यास, नोबेल ग्यास धनुष, श्रीराम ग्यास धादिङ, त्रिसुली ग्यास, सिद्धनाथ ग्यास र सगरमाथा ग्यास रहेका छन् । यस्तै नमस्ते ग्यास धादिङ, सूर्य ग्यास काभ्रे, चन्डेश्वरी ग्यास काभ्रे, जगदम्बा ग्यास बारा, अम्बे ग्यास बारा, नेपाल ग्यास बारा, मारुती ग्यास सुनसरी र रिजालको ग्यास मोरङ पनि संचालनमा छन् ।

विभागका अनुसार सत्यनारायण ग्यास धादिङ, ओम ग्यास, भानु ग्यास धादिङ, गौरिशंकर ग्यास काभ्रे, बुटवल ग्यास र सिद्धर्थ ग्यास, श्री ग्यास धादिङ, बाबु ग्यास चितवन, गीता ग्यास धादिङ, कबसन्स ग्यास धादिङ, हिमालयन पेट्रो केमिकल रुपन्देही, आरती ग्यास, राप्ती ग्यास र राजधानी ग्यास पनि संचालनमा छन् । यस्तै मनकामना ग्यास, पञ्चमहालक्ष्मी ग्यास, त्रिबेणी ग्यास, अर्घखाँची ग्यास, प्रिमा ग्यास, साहारा ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास, गृहलक्ष्मी ग्यास, शक्ति ग्यास, नारायणी ग्यास, लुम्बीनी ग्यास, भेरी ग्यास, पाथिभरा ग्यास, लिओ ग्यास, पराजुली एण्ड ब्रदरस् ग्यास, कन्काइ ग्यास, उग्रचन्डी ग्यास, मेची ग्यास, सुपर ग्यास र रोयल मल्टी लुक कन्सर्न ग्यास संचालनमा छन् ।


क्लिकमान्डु