दक्षिण एशियामा कम आर्थिक बृद्धि हुने देशको दोस्रो सूचिमा नेपाल



काठमाडौं । अघिल्लो वर्ष दक्षिण एशियामा सबैभन्दा बढी आर्थिक बृद्धिदर गरेको नेपाल पछाडि धकेलिएको छ ।

विश्व बैंकले यो वर्ष नेपालको आर्थिक बृद्धिदर ४.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ । अघिल्लो वर्ष नेपालले ७.५ प्रतिशत आर्थिक बृद्धिदर गरेको थियो । जुन दक्षिण एशियाकै बढी थियो ।

विश्व बैंकका अनुसार सार्क क्षेत्रका ८ वटा देशमा नेपाल पछाडि आर्थिक बृद्धिदर कम गर्ने देशमा अफगानिस्तान रहेको छ । अफगानिस्थानले यो वर्ष २.२ प्रतिशत आर्थिक बृद्धिदर गर्ने अनुमान विश्व बैंकको छ ।

विश्व अर्थतन्त्रमा उदाउदो देशको रुपमा अगाडि बढ्दै गरेको भारतको यो वर्ष ७.३ प्रतिशत आर्थिक बृद्धिदर हुने छ । दक्षिण एशियामा यो वर्ष सबैभन्दा बढी आर्थिक बृद्धिदर भारतकै हुने विश्व बैंकको प्रक्षेपण छ ।

भारतपछि यो वर्ष बंगलादेशले ६.५ प्रतिशत आर्थिक बृद्धिदर गर्ने छ । यस्तै पाकिस्तानको ५.८ प्रतिशत,माल्दिब्स ५.५,भुटान ५.४ र श्रींलकाको ४.८ प्रतिशत आर्थिक बृद्धिदर हुने प्रक्षेपण विश्व बैंकको छ ।

नेपाल सरकारले यो वर्ष ६ प्रतिशतको आर्थिक बृद्धिदर गर्ने लक्ष्य लिएको छ । बजेटको मध्यावधी समिक्षामा ६ प्रतिशत आर्थिक बृद्धिदर हुने अनुमान गरिएको छ ।

केही दिन अगाडि एशियाली विकास बैंकले यो वर्ष ४.९ प्रतिशत आर्थिक बृद्धिदर हुने प्रक्षेपण गरेको थियो ।

तराईमा आएको बाढीको कारण नेपालको आर्थिक बृद्धिदर घट्ने प्रक्षेपण विश्व बैंकको छ ।
विश्व बैंकले बाढी बाहेक नेपालको आर्थिक बृद्धिदरलाई घटाउनको लागि रेमिटेन्सको घट्दो बृद्धिदर र बैंक तथा वित्तीय संस्थाको ब्याजदर बृद्धिदरलाई कारकको रुपमा लिएको छ ।

नेपालको श्रम बजारमा ३५ हजार जनशक्ति थपिने भन्दै विश्व बैंकले रोजगारी दिनको लागि वार्षिक २ लाख ४० हजार रोजगारी सिर्जना हुनुपर्ने जनाएको छ ।


क्लिकमान्डु