‘बिचैलियाको मारबाट किसानलाई बचाउन गाडी उपलब्ध गराउनु पर्छ’



काठमाडौं । बिचैलियाको मारबाट किसानलाई बचाउँनका लागि किसानलाई गाडी उपलब्ध गराउनु पर्ने कृषि भूमी व्यवस्थापन तथा सहकारी सचिव युवक ध्योज जिसीले बताएका छन् ।

कृषकलाई कृषि उपज बजारसम्म पुर्याउनका लागि गाडी उपलब्ध गराउन सके कृषक बिचैलियाको सिकार हुन नपर्ने सचिव जिसीले बताएका हुन् ।

‘किसानले उत्पादन गरेको तरकारीमा बिचैलियाको ठूलो चलखेल हुने गरेको छ, जसका कारण परिश्रम गर्ने कृषकले सहि मूल्य पाउन सकेका छैनन् । त्यस्तो अवस्थाको अन्त्य गर्नका लागि कृषकलाई गाडी उपलब्ध गराउनु पर्ने हुन्छ,’ उपभोक्ता संरक्षण मञ्चको कार्यक्रममा सचिवले भने ।

कृषकलाई गाडी उपलब्ध गराउनका लागि सहकारीसँग सहकार्य गर्नुपर्ने उनको भनाई छ । सहकारीले गाडी खरिदका लागि किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराउन उनले आग्रह समेत गरे ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष जोति बाँनियाले किसानहरु तरकारीको बजार मूल्यबारे समेत अनविज्ञ रहेको बताए ।

‘कृषकहरु आफूले उत्पादन गरेको तरकारीको बजार मूल्यबाट नै अनविज्ञ छन्, जसका कारण किसानसँगै उपभोक्ता ठगिन पुगेका छन्,’ बाँनियाले भने ।

उनले कालिमाटी बजार भित्रै एउटा स्टलको चार कुनालाई समेत ५ देखि ७ भागमा विभाजन गरेर बेच्ने गरेको तथ्य समेत खुलाए । यसरी एउटा स्टललाई ४ भाग गरेर बेच्दा प्रतिव्यक्ति ४० देखि ५० हजार रुपैयाँसम्म भाँडा लिने गरेको आफ्नो अनुसन्धानले देखाएको उनले बताए ।

बजारलाई व्यवस्थित बनाउनका लागि बजार व्यवस्थापन सम्बन्धी ऐनको निर्माण हुनुपर्ने उनले बताए ।

‘बजार व्यवस्थापन सम्बन्धी ऐन बनाउनका लागि मन्त्रालयले मोडल बनाउनु पर्ने हुन्छ, मन्त्रालयले ऐन सम्बन्धी कुनै मोडल निर्माण नगरेका कारण किसान र उपभोक्ता मारमा पर्दै आएका छन्,’ उनले भने ।

उपभोक्ता हित संरक्षण विभागका महासचिव बाबुराम हुँमागाईले बिचौलयाका कारण किसान र उपभोक्ता दुबै ठगिनु परेको बताए ।

‘बिचौलियाले किसानबाट २० रुपैयाँ केजी तरकारी किन्छन्, त्यसमा ६ केजी ढुवानीमा जोड्छन्, होलसेलमा व्यवसायीले १५ देखि २० प्रतिशत नाफा लिन्छन्, रिटेलका व्यवसायीले २० देखि ३० प्रतिशत नाफा खाई बेच्दा उपभोक्ता २० रुपैयाँको सामान ७५ रुपैयाँदेखि ८५ रुपैयाँसम्ममा किन्न बाध्य भइरहेका छन्,’ हुमागाइले भने ।


क्लिकमान्डु