काठमाडौमा कम , तराई र हिमालमा बढ्यो मूल्यवृद्धि



काठमाडौं । हिमाल र तराईमा मूल्यवृद्धि बढेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको ८ महिनाको विवरणमा क्षेत्रगत उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा कम देखिएको छ तर तराई र हिमालमा भने बढी देखिएको छ ।

क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति तराईमा ६.३ प्रतिशत, हिमालमा ६.० प्रतिशत, पहाडमा ५.६ प्रतिशत र काठमाडौं उपत्यकामा ४.५ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर तराईमा २.८ प्रतिशत, हिमालमा ३.७ प्रतिशत, पहाडमा ५.९ प्रतिशत र काठमाडौं उपत्यकामा १.९ प्रतिशत रहेको थियो ।

यस्तै २०७३ फागुन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.९ प्रतिशत रहेकोमा २०७४ फागुन महिनामा सो मुद्रास्फीति ६.० प्रतिशत कायम भएको छ ।

तरकारी भाऊ बढ्दा पर्यो प्रभाव

तरकारीजन्य वस्तुहरुको मूल्यमा आएको वृद्धिका कारण समग्र मुद्रास्फीति बढ्न गएको हो ।

आठ महिनाको औसत उपभोक्ता मुद्रास्फीति भने ४.० प्रतिशतमा नै रहेको छ । खाद्य मुद्रास्फीति २०७४ फागुन मसान्तमा खाद्य मुद्रास्फीति ५.६ प्रतिशत रहेको छ ।

अघिल्लो वर्ष उक्त मुद्रास्फीति ०.४ प्रतिशतले ऋणात्मक रहेको थियो । गत वर्षको तुलनामा मुलतः तरकारीजन्य वस्तुहरुको मूल्यमा भएको वृद्धिका कारण समग्र खाद्य मुद्रास्फीति बढ्न गएको हो ।

गैर–खाद्य मुद्रास्फीति समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ६.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ५.६ प्रतिशत रहेको थियो ।

यस समूह अन्तर्गतको शिक्षा, घरायसी सामान तथा सेवा लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा बढी रहेकोले गैर–खाद्य मुद्रास्फीति बढ्न गएको हो ।


क्लिकमान्डु