सेयरमा लाभकरमा छुट नदेउ,ब्रोक्रर कमिसनबाट भ्याट तिराउ : महालेखा



काठमाडौं । महालेखा परीक्षक कार्यालयले दोस्रो बजारमा हुने सेयर खरिदबिक्रीमा तिनुपर्ने लाभकर वास्तविक नभएको बताएको छ ।

महालेखा परीक्षकको कार्यालयले आफ्नो ५५ औ प्रतिवेदनमा सेयरको वास्तविक तरिको लागतलाई आधार नलिएर बजार मुल्यको आधारमा मात्र समायोजन गर्दा लागत बढी दाबी भएको हुँदा सेयरखरिदबिक्रीमा लाभकर कम उठेको उल्लेख गरेको छ ।

आयकरको पुँजीगत लाभकर — आयकर ऐन, २०५८ को दफा ९५क (२) मा नेपाल धितोपत्र बोर्डमा सूचीकृत भएको निकायको हितको निसर्गबाट प्राप्त लाभमा ५ प्रतिशत कर लाग्ने व्यवस्था छ ।

लाभ गणना गर्ने प्रयोजनका लागि बुक क्लोज गर्दाको अन्तिम मूल्यलाई बोनस तथा हकप्रद शेयरको अनुपातले समायोजन गरी औसत गणना गरेर आउने अङ्कमा पुनः ३ पटकको बजार मूल्यको औसत लिई कायम भएको आधार मूल्यको अङ्कमा खर्च छुट दिने अर्थ मन्त्रीस्तरबाट २०६५।८।२२ मा निर्णय भएको छ । यो व्यवस्था पुँजीगत लाभ कर निर्धारण गर्ने अर्को व्यवस्था नभएसम्मका लागि लागू भएको थियो ।

आयकर ऐन, २०५८ को दफा १३ बमोजिम वास्तविक लागत खर्च मात्र कट्टी गर्न मिल्ने व्यवस्था अनुकूल देखिदैन । शेयरको वास्तविक तिरेको लागतलाई आधार नलिई बजार मूल्यको आधारमा समायोजन गर्दा बढी लागत खर्च दाबी हुने गरेको छ ।

सूचीकृत कम्पनीहरुको बोनस तथा हकप्रद शेयर बिक्रीको मात्र हिसाब गर्दा २०७२।७३ मा बढी दाबी गरेको लागत खर्च ५ अर्ब ३२ करोड ३० लाख र २०७३।७४ को १० अर्ब २६ करोड ६७ लाख समेत १५ अर्ब ५८ करोड ९७ लाखमा आयकर ऐन, २०५८ को अनुसूची १(४)ख३ बमोजिम ५ प्रतिशतले हुने कर.७७ करोड ९५ लाख छुट भएको देखिएको महालेखाले जनाएको छ ।

यसमा संस्थापक शेयर सदस्यको आय वर्ष २०७२।७३ र २०७३।७४ को बोनस तथा हकप्रद शेयर बिक्री मात्र हिसाब गर्दा बढी दाबी गरेको लागत खर्च ५ अर्ब ७४ करोड २ लाखमा ५ प्रतिशतले हुने पुँजीगत लाभ कर २८ करोड ७० लाख छुट भएको छ ।

साधारण शेयर तथा संस्थापक शेयरको २ वर्षको बोनस र हकप्रद शेयरको कारोबारमा वास्तविक लागत खर्च कट्टी गर्नुपर्नेमा माथि उल्लेख भए अनुसार आधार मूल्य छुट दिएको कारणले कुल राजस्व रु.१ अर्ब ६ करोड ६५ लाख घटी असुल भएको छ ।

यस्तो कारोबार विगत वर्षमा समेत रहेकोले थप छानबिन गरी कर निर्धारण गर्नुपर्दछ । तसर्थ ऐनको १३ बमोजिम वास्तविक लागत खर्च मात्र कट्टी गर्ने व्यवस्था हुनुपर्ने महालेखाले आफ्नो प्रतिवेदनमा लेखेको छ ।

यस्तै महालेखाले विगतमा जस्तै यो पटकपनि ब्रोक्रर कमिसनमा मुल्य अभिबृद्धि कर(भ्याट) असुल्न निर्देशन दिएको छ । महालेखाले २५ वटा करदाताबाट १६ करोड ६२ लाख रुपैयाँ भ्याट असुल्न बाँकी भएको उल्लेख गरेको छ ।


क्लिकमान्डु