‘समृद्ध नेपाल’ बनाउन यस्तो बन्यो टीम युवराज



काठमाडौं । अर्थमन्त्रीमा नियुक्त भएको १ महिनापछि डा. युवराज खतिवडाले आफ्नो ‘कोर टिम’ तयार पारेका छन् । गत निर्वाचनको चुनाबी घोषणापत्रमा बाम गठबन्धनले उल्लेख गरेको ‘समृद्ध नेपाल, सुखी नेपाल’ निर्माणको मुख्य जिम्मेवारी पाएका अर्थमन्त्री डा. खतिवडाले अर्थसचिब नै परिवर्तन गर्दै आफ्नो टीम तयार पारेका हुन् ।

अर्थमन्त्री बने लगत्तै डा. खतिवडाले राष्ट्र बैंकका कार्यरत डा. रामशरण खरेललाई प्रमुख सल्लाहकारको रुपमा अर्थमन्त्रालय भित्र्याएका थिए ।

अर्थमन्त्रीलाई प्रमुख रुपमा सहयोग गर्ने सचिव पनि परिवर्तन गरिएको छ । अर्थमन्त्री डा. खतिवडाले अख्तियारमा कार्यरत राजन खनाललाई अर्थसचिब बनाएर ल्याएका छन् । अर्थमन्त्रालयका क्याडर खनाल नक्कली भ्याट बिल प्रकरण हुँदा आन्तरिक राजस्व विभागको महानिर्देशक थिए । सो प्रकरणमा खनालको भूमिकाको सबैले प्रसंसा गरेका थिए ।

यसअघि नै राजस्व सचिवको भूमिका निर्वाह गरिसकेका खनाल अर्थतन्त्र बुझ्ने काविल सचिवमा पर्छन् ।

अर्थमन्त्री खतिवडाले राजस्व सचिवमा अहिलेकै सचिव शिशिर ढुंगानालाई निरन्तरता दिन खोजेको देखिन्छ । बिहीवार ३० जना सचिवको सरुवा हुँदा ढुंगाना सो मन्त्रालयबाट अन्यत्र सरुवा हुनेमा परेनन् ।

अर्थमन्त्री खतिवडाले आफ्नो नीतिमा चल्नको लागि भन्सार विभागका महानिर्देशक र ठूला करदाता कार्यालयका प्रमुख पनि परिवर्तन गरेका छन् ।

कर चुहावटको मुख्य बिन्दु नै सफा गर्ने घोषणा गरेका अर्थमन्त्री डा. खतिवडाले यसअघि नै भन्सारमा कडाई गर्न निर्देशन दिएका थिए । आयातमा सन्दर्भ मुल्यको विषयले अहिले अर्थमन्त्रालय र व्यवसायीबीच भने विवाद छ ।

अर्थमन्त्री खतिवडाले भन्सार विभागको महानिर्देशक जगदीश रेग्मीको ठाउँमा तोयम रायलाई लगेका छन् । ठूला करदाता कार्यालयमा गंगाराम गेलालको ठाउँमा धनीराम शर्मालाई लगेका छन् । शर्मा यसअघि काठमाडौं महानगरपालिकाको कार्यकारी प्रमुख थिए ।

नेपालको राजस्व भन्सारमा आधारित भएका हुँदा भन्सार विभागको महानिर्देशकको भूमिका निकै ठूलो हुन्छ । विवाद भएपनि अर्थमन्त्री डा. खतिवडाले सन्दर्भ मुल्य नै भन्सारमा लागु गर्ने पक्षमा छन् । यसको पक्ष र विपक्षमा आवाज भने उठेको छ ।

कर कार्यालयमा सबैभन्दा बढी राजस्व भने ठूला करदाता कार्यालयले उठाउने गर्छ । अर्थमन्त्री खतिवडा ठूला करदाता कार्यालयको प्रगतिसँग पनि सन्तुष्ट थिएनन् ।

अर्थमन्त्री खतिवडाले भन्सार विभागको महानिर्देशक बनाएका रायले अर्थमन्त्रालय अन्तर्गत भन्सार र आन्तरिक राजस्व विभागमा बसेर काम गरिसकेका छन् ।

उनलाई केही दिन अगाडि मात्रै महिला मन्त्रालयबाट अर्थमन्त्रालयमा ल्याइएको थियो । यस्तै काठमाडौं महानगरमा प्रमुख कार्यकारी शर्मा सोभन्दा अगाडि आन्तरिक राजस्व विभागको उपमहानिर्देशक थिए ।

तर अहिलेसम्म आन्तरिक राजस्व विभागको महानिर्देशक परिवर्तन गरिएको छैन । राजस्वमा सबैभन्दा शक्तिशाली निकाय आन्तरिक राजस्व विभागका महानिर्देशक हुन् । तत्कालिन महानिर्देशक चुडामणी शर्मा भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेपछि तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले किशोरजंग कार्कीलाई महानिर्देशक बनाएर पठाएका थिए ।

यस बाहेक अर्थमन्त्रालयको महाशाखाको नेतृत्व पनि परिवर्तन हुने सम्भावना देखिएको छ । मुख्य रुपमा अर्थ बुझेका राजन खनाललाई सचिव बनाएर ल्याएपछि अर्थमन्त्रीलाई पनि दैनिक रुपमा काम गर्नको लागि भने सजिलो हुने देखिन्छ ।

अर्थमन्त्री खतिवडाले यसअघि श्वेतपत्र तयार पार्दा अर्थसचिवसँग सल्लाह नै नगरेको समाचार सार्बजनिक भएको थियो । स्वेतपत्र निर्माणमा अर्थमन्त्री खतिवडा सहित आर्थिक सल्लाहकार डा रामशरण खरेल र सहसचिव रामशरण पुडासैनी सक्रिय थिए । अन्य बरिष्ठ अधिकारीलाई यसको जानकारी थिएन ।

संविधान अनुसार जेठ १५ मा बजेट ल्याउनुपर्ने हुन्छ । बजेट निर्माणमा बजेट महाशाखा प्रमुखको जिम्मेवारी ठूलो छ । अहिले सो महाशाखाको प्रमुखमा निर्मलहरि अधिकारी छन् ।


क्लिकमान्डु