नेपाली पुँजी बजार भरोसायोग्य छैन: अर्थमन्त्री डा. खतिवडा (भिडियोसहित)




काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली पुँजी बजार भरोसायोग्य नभएको बताएका छन् । संघीय ब्यवस्थापिका संसदमा आज सरकारको तर्फबाट स्वेतपत्र प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

‘वित्तीय क्षेत्रको पुँजी परिचालन आर्थिक क्षेत्रसँग प्रत्येक्ष जोडिन सकेको छैन, आर्थिक तथा पूर्वाधार क्षेत्रमा निजी क्षेत्रको लगानी उत्साहप्रद ढंगले बढेको छैन,’ उनले भने ।

यस्तै विभिन्न समयमा गरिएका लगानी सम्मेलन र पूर्वाधार सम्मेलनमा घोषणा गरिएका यथार्थमा परिणत हुन नसकेको उनले बताए । यस्तै उनले नेपाली पुँजी बजार सबल र भरोसायोग्य नभएको बताए ।


‘आन्तरिक पुँजी बजार सबल र भरोसायोग्य भएको छैन, औद्योगिक पुँजी मूलतः ब्यापारिक र वित्तीय लगानीतर्फ उन्मुख भएको छ, पुँजी निर्माणका क्रियाकलापहरु सुस्त छन्, निजी तथा सरकारी दुबै क्षेत्रमा पुँजी निर्माणले अपेक्षित गति लिन सकेको छैन,’ उनले भने ।

उनले वित्तीय सेवाको पहुच न्यून रहेको बताए । ग्रामीण तथा तथा दुर्गम क्षेत्रमा वित्तीय सेवा पुग्न नसकेको भन्दै कूल ७५३ मध्ये ३७९ तहमा अझै बाणिज्य बैंकहरुका शाखा नपुगेको उनकाे भनाइ छ ।

उनले वित्तीय सेवाको ठूलो अंश सहकारी संस्थाहरु मार्फत पुर्याइदै गए पनि यस्ता संस्थाहरुको प्रभावकारी नियमन र सुपरिवेक्ष तथा संस्थागत सुशासन कायम गराउने कार्य चुनौति बन्दै गएको बताए ।

बीमाको दायरा १० प्रतिशत पनि नपुगेको भन्दै उनले अनौपचारिक अर्थतन्त्रको दायरा फराकिलो नै भएको बताए ।

यस्तै उनले वित्तीय सेवा प्रवाह प्रतिस्पर्धी हुन नसकेको बताए । पछिल्लो समयमा तरलता अभाबको कारण निक्षेपको ब्याजदर निकै उच्च भएको पनि बताए । यसले निक्षेपकर्तालाई फाइदा भएपनि कर्जाको ब्याज महंगो हुने भएकोले कृषि, जलविद्युत, उर्जा, उद्योग जस्ता अर्थतन्त्रका अति सम्भाब्य क्षेत्रमा लगानी नै नहुने जोखिम बढेको पनि उनको भनाइ छ ।

उनले लघुवित्त संस्थाहरुको कारोबार बढ्दो क्रममा भएपनि संस्थागत स्थायित्वमा प्रश्न उठ्न थालेको बताए ।

उनले नेपालको पुँजी बजारलाई सतही र दायरा साघुरो भएको पनि बताए ।

‘नेपालको पुँजी बजार सतही रहनुका साथै यसको दायरा पनि संकुचित छ, अर्थतन्त्रमा पुँजी परिचालन गर्न पुँजी बजार ससक्त माध्यम भएपनि यस्तो बजार हाल धितोपत्रमा मात्र समित रहको छ, पुँजी बजार मार्फत ठूलो मात्रामा स्वलगानी गर्न नीतिगत र संरचनागत सुधारको आवश्यकता देखिएको छ, संस्थागत लगानीकर्ताको न्यूनता र वित्त बजारमा बढ्दो ब्याजदर र सेयर निस्कासनमा भएको बृद्धिले सेयर आपूर्ति बढी सेयर मूल्य प्रभावित भएको छ,’ उनले भने ।

बढ्दो ब्याजदर र तरलता अभावले पुँजी बजार प्रभावित बनिरहेको उनले बताए ।

‘संस्थागत लगानीकर्ताको न्यूनता, बढदो ब्याजदर र वित्त बजारमा तरलताको अभावका कारण सेयर बजार प्रभावित बनेको हो,’ उनले भने, ‘सेयर निष्कासन तथा आपूर्ति वृद्धि भएकाले दोस्रो बजारमा सेयर भाउ प्रभावित भएको हो ।’


क्लिकमान्डु