बिदेशबाट आउने पैैसा घरजग्गा र सेयर बजारमा ‘नो इन्ट्री’



काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई विदेशबाट पैसा ल्याउने दिने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकको संचालक समितिले वाणिज्य बैंकलाई विदेशी बैंक तथा वित्तीय संस्थाबाट पैसा ल्याउने मिल्ने कार्यविधी पारित गरेको हो । राष्ट्र बैंकले यो विषयमा केही दिनभित्रमा निर्देशिका जारी गर्ने तयारी गरेको छ ।

राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पन्डितले वाणिज्य बैंकले प्राथमिक पुँजीको २५ प्रतिशत रकम विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण ल्याएर यहाँ कर्जा दिन सक्ने बताए ।

‘यसरी आउने रकम सेयर बजार र घरजग्गामा दिन पाइदैन’,पन्डितले भने,‘जलविद्युत्,उद्योग पर्यटन जस्ता उत्पादन मुलक क्षेत्रमा कर्जा दिन पर्छ।’
राष्ट्र बैंकले बिदेशबाट पैसा ल्याउदा बैंकहरुले कुन परियोजनामा कर्जा दिने हो त्यो खुलाएर प्रस्ताव गर्नुपर्ने नीति बनाएको छ ।

‘बैंकले परियोजना खुलाएर राष्ट्र बैंकमा पैसा भित्राउनको लागि प्रस्ताव गर्नुपर्छ’,उनले भने,‘परियोजना बिना त्यसै पैसा ल्याउन पाइदैन।’

अर्थमन्त्री भएपछि डा युवराज खतिवडाले तरलता समस्याको लागि बिदेशी पुँजी चाहिने र सो रकम घरजग्गा,सेयर बजार तथा हायर पर्चेजमा दिन नहुँने धारणा राखेका थिए । जसको सेयर लगानीकर्ताले विरोध गरेका थिए ।

अर्थमन्त्री खतिवडाले भनेजस्तो तरिकाले राष्ट्र बैंकले विदेशबाट ल्याउने पैसाको विषयमा कार्यविधी बनाएको छ ।

वाणिज्य बैंकले १ देखि ५ वर्षसम्म अवधीको लागि यस्तो ऋण ल्याउन सक्छन् ।
अहिले वाणिज्य बैंकको प्राथमिक पुँजी ३ खर्ब हाराहारी रहेको हुँदा बैंकहरुले ७५ अर्ब रुपैयाँसम्म यस्तो पैसा ल्याउन सक्ने छन् ।

तर,सबैले पैसा ल्याउने छन् भन्ने हुँदैन । यसरी ल्याउने पैसाको ब्याजदर भने लण्डन इन्टर बैंक अफर रेट(लाइबर) मा ३ प्रतिशत थप गरेर ल्याउन सकिन्छ । विदेशी मुद्रामा ल्याउनुपर्ने ऋण भएको हुँदा यसको जोखिम न्यूनिकरणको लागि हेजिङ गर्नुपर्छ ।

जसले बैंकहरुलाई लागत ७ देखि ८ प्रतिशतसम्म सक्छ ।

१० प्रतिशतसम्म ब्याजदरमा उत्पादन मुलक क्षेत्रमा यसबाट कर्जा जान सक्ने देखिएको राष्ट्र बैंकका सहायक प्रवक्ता पन्डितले जानकारी दिए ।


क्लिकमान्डु