आयातका कारण चिनी उद्योग चलाउन नसक्ने अबस्थामा पुग्यौं




चिनी उद्योग भनेको मौसमी उद्योग हो । बर्षमा जम्मा ४ महिना चिनी उद्योग चल्छ । यो ४ महिनाले बर्षभरीको खर्च धान्नुपर्ने हुन्छ । उखु किसानको पनि यस्तै हो । किसानले पनि त्यही ३/४ महिना उखु बेचेको भरमा बर्षभरीको खर्च धान्नुपर्ने हुन्छ ।

अहिले उद्योग बन्द हुने अबस्था आइसक्यो । चिनी कारखना चल्ने बेलामा दशैं, तिहार र छट जस्ता पर्व भर्खर सकिएका हुन्छन् । अर्थात चिनी कारखना चल्ने बेलामा अघिल्लो बर्ष उत्पादन भएको चिनी सकिएको हुन्छ । कारखना चलेको ४ महिनामा कूल उत्पादनको ५० देखि ६० प्रतिशत चिनी उत्पादन हुदै जान्छ र उपभोग पनि हुदै जान्छ ।

यसरी उत्पादन भएको चिनी विक्दै गएको आधारमा किसानलाई भुक्तानी पनि दिदै गरेका हुन्छौं । केही पैसा बैंकबाट ऋण लिएका पनि हुन्छौं । त्यो ऋणबाट पनि किसानलाई भुक्तानी दिने गरिएको छ ।

यो बर्ष फरक परिस्थिति छ । अहिलेसम्म कूल उत्पादनको ३ देखि ४ प्रतिशत मात्रै चिनी बिकेको छ । चिनी विकेको छैन । पाकिस्तान, थाइल्याण्ड जस्ता देशहरुबाट सस्तोमा चिनी आयात भएको कारण हामीले उत्पादन गरेको चिनी विक्री भएको छैन ।

नेपालमा पनि विगतको भन्दा केही मात्रामा चिनी उत्पादन बढेको छ । तैपनि नेपाललाई चाहिने जति चिनी उत्पादन हुने गरेको छैन । आवश्यक मात्रामा चिनी उत्पादन बढेको नभएपनि अन्तराष्ट्रिय बजारमा उत्पादन बढी भएको र मूल्य घटेको अबस्था छ ।

पाकिस्तानले आफ्नो उत्पादनलाई प्रतिमेट्रिक टन ११० अमेरिकी डलर अनुदान दिएको छ । पाकिस्तानले दिएको सुबिधाको कारण उसको उत्पादन बढ्यो र सस्तो पनि भयो । यस्ता कारणले हाम्रो चिनी विकेन । हाम्रो चिनी विक्री नभएपनि हामीले किसानलाई समयमै भुक्तानी दिन पनि सकेनौं । हामीले पैसा नदिएका कारण किसानलाई अप्ठेरो परेको छ ।

तर, हामीसँग पनि किसानलाई दिने पैसा छैन । किनभने एक त हामीले उत्पादन गरेको चिनी विकेको छैन । दोस्रो कुरा तरलता अभाव भन्दै बैंकहरुले हामीलाई ऋण दिएकै छैन ।

सरकारले गत बर्षदेखि उखुलाई राष्ट्रिय बाली घोषणा गरेको छ । यसरी घोषणा गरिए पनि अहिलेसम्म कुनै कार्यक्रम संचालन गरिएको छैन । उखु खेतीको लागि आधुनिक प्रविधि र पुँजी थप्ने काम हुन सकेको छैन ।

नेपाल राष्ट्र बैंकले कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जाको सीमा नै तोकेको छ । बैंक तथा वित्तीय संस्थाहरुले कृषि क्षेत्रमा लगानी गरिरहेका छन् भनिएको छ । तर, उखु किसान वा कृषिमा आधारित चिनी उद्योगले सस्तो ब्याजदरमा कर्जा पनि पाएका छैनौं । अहिले त बजार दर अनुसारको ब्याज तिर्छौं भन्दा पनि ऋण पाइरहेका छैनौं । हामी कृषिमा आधारित उद्योग भएपनि कुनै पनि प्रकारको सहुलियत र सुविधा पाएका छैनौं । किसानको लागि भ्याट फिर्ताको सुबिधा दिएको भएपनि उद्योगका सबालमा कुनै सहुलियत छैन ।

अन्य देशले चिनीमा कुनै पनि प्रकारको कर लिने गरेका छैनन् । हामीले तिर्ने गरेका छौं ।

अहिले अन्तराष्ट्रिय बजारमा चिनीको मूल्य प्रतिटन ३४६ डलर छ । हाम्रो देशले सन्दर्भ मूल्य लगाएर प्रतिटन ४६० डलरको दरको भन्सार लिने गरेको छ । ३४६ डलरको चिनी प्रतिकेजी करिब ३७ रुपैयाँ हो । त्यसको भन्सारदेखि अन्य सबै प्रकारका कर जोड्दा पनि यस्तो चिनीको मूल्य प्रतिकेजी ५५ रुपैयाँजति पर्छ । सन्दर्भ मूल्य बढेपछि नेपाली बजारमा प्रतिकेजी ५९ रुपैयाँ जति पर्न गएको छ ।

हामीले प्रयोग गर्ने उखुको लागत प्रतिकेजी ६२ रुपैयाँ छ । आठ महिनासम्म हाम्रो कारखना सफा गर्न २ सय जना कर्मचारी चाहिन्छ । मैले माथि पनि भनेँ कि हाम्रो कारखना चल्ने ४ महिना मात्रै हो । बाँकी ८ महिना त्यसै पाल्नु पर्छ । उखुको लागत प्रतिकेजी ६२ रुपैयाँ र पुँजीको ब्याज, संचालन गर्न, उत्पादन साधनको लागत र कारखनाको ह्रासकट्टी जस्ता खर्च कटाउँदा आउने मूल्य तपाइ आफै हिसाब गर्न सक्नुहुन्छ । यो सबै खर्च गर्दा हामीले उत्पादन गरेको चिनीको मूल्य प्रतिकेजी करिब ७२ रुपैयाँ पर्छ ।

यो हिसाब मैले किन देखाएको भने विदेशबाट आयात भएको चिनी प्रतिकेजी ५९ रुपैयाँ जति परेको छ भने हामीले उत्पादन गरेको चिनीको लागत प्रतिकेजी ७२ रुपैयाँ परेको छ । आयातको चिनीले हामीलाई धराशायी बनाएको छ ।

अहिले हामीले देखेको समस्याको सामाधान के हो भने चिनी आयातलाई पूर्णतः प्रतिबन्द लगाउनु पर्यो । प्रतिबन्दै लगाउन सकिदैन भने पनि आयातमा भन्सार बढाउनु पर्यो । हामीलाई पनि प्रतिस्पर्धा गर्न समान वातावरण दिनु पर्यो ।

राज्यले यस्तो ब्यवस्था गर्छ भने हामी यो बर्षभरी चिनीको मूल्य प्रतिकेजी ७२ रुपैयाँभन्दा बढाउदैनौं । र, यो बर्षभरी चिनीको अभाव हुन पनि दिदैनौं । यो वाचा गर्न हामी तयार छौं ।

यस्तो अबस्थामा राज्यले अब के गर्ने भनेर सोच्नु पर्ने भयो । स्वदेशी उद्योगलाई संरक्षण गरेर स्वदेशी उत्पादन बढाउने र आत्मनिर्भर बन्ने राज्यको नीति हो भने चिनी आयातमा कडाइ गर्नुपर्ने भयो । होइन जहाँ सस्तो पाइन्छ त्यहीँबाट किन्ने भन्ने हो भने उखुलाई राष्ट्रिय बाली घोषणा पनि गरिरहनु परेन । र, स्वदेशी चिनी उद्योगलाई संरक्षण पनि दिनु परेन ।
नेपाल चिनी उद्योग संघका अध्यक्ष अग्रवालसँग गरिएको कुराकानीमा आधारित


क्लिकमान्डु