काठमाडौंबाट विरगञ्ज एक घन्टामै पुगिन्छ ? चैतमा छानिने कम्पनीले रिपोर्ट बुझाउने



काठमाडौं । काठमाडौं–विरगंज विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने कम्पनी २ साता भित्रमा छनोट गरिने भएको छ । काठमाडौं–विरगंज रेलमार्गको सम्भाव्यता अध्ययन गर्नका लागि ६ वटा कम्पनी इच्छुक देखिएका छन् ।

रेल विभागले सम्भाव्यता अध्ययनका लागि आव्हान गरेको रिक्वेस फर प्रपोजल (आरएफपी)मा ६ वटा कम्पनीको प्रस्ताव परेको थियो ।

रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने कम्पनीको प्राविधिक तथा आर्थिक क्षमता मूल्याङकन गरिसकेको विभागका इन्जिनियर किरण कार्कीले जानकारी दिए ।

‘काठमाडौं–विरगंज रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने कम्पनी छनोट हुने क्रममा छ, बढिमा २ साताभित्र काठमाडौं–विरगंज रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने कम्पनीको नाम सार्वजनिक हुनेछ,’ कार्कीले क्लिकमाण्डूसँग भने ।

मुलुकको प्रमुख भन्सार नाका विरगंजलाई राजधानी काठमाडौंसँग रेलमार्गबाट जोड्नका विभागले सम्भाव्यता अध्ययन प्रक्रिया अघि बढाएको हो ।

हाल काठमाडौंदेखि विरगंजसम्म मूख्य रुपमा ३ वटा सडक प्रयोग हुँदै आएको छ । काठमाडौं– मुग्लिन–विरजंग २ सय ७९ किलोमिटर, काठमाडौं–कुलेखानी–विरगंज १ सय ३६ किलोमिटर र काठमाडौं–दामन–विरगंज १ सय ७३ किलोमिटर छ ।

निर्माणधिन लोकमार्गमा काठमाडौंदेखि विरगंजको दुरु १ सय ३६ किलोमिटर छ । यस्तै सरकारले राष्ट्रिय गौरवको आयोजनको रुपमा लिएको काठमाडौं–निजगढ द्रुतमार्गबाट विरगंजसम्मको सडक दुरु १ सय २८ किलोमिटर पर्न आउँछ ।

विरगंज भन्सार नाका हुँदै आउने मालबाहक सवारी साधन २ सय ७९ किलोमिटर सडक छिचोलेर काठमाडौं आउने गरेका छन् । अन्य दुई सडकमा मालबहाक सवारी साधन गुड्न सक्नेगरी विकसित भईसकेका छैनन् ।

रेलमार्ग निर्माणसँग काठमाडौं–विरजंगको दुरु १ सय १३ किलोमिटरमा छोटिने छ । सो रेलमार्गमा गुड्ने रेलको अधिकतम गति २ सय किलोमिटर प्रति घण्टाको हुनेछ । सो रेल मार्ग निर्माणसँग सहज रुपमा रेल संचालन हुन सकेको खण्डमा काठमाडौं–विरगंजको यात्रा १ घण्टाभन्दा कम समयमा छोटिने छ ।


पुष्प दुलाल