‘अधिकांस नेपाली बैंकले विदेशी बैंकबाट ऋण ल्याउन सक्दैनन्’



काठमाडौं । अर्थमन्त्रीको रुपमा पद बहाली गरेलगतै डा. युवराज खतिवडाले एउटा घोषणा गरे- सरकारले विदेशी बैंकबाट ऋण ल्याएर भएपनि नेपाली बैंकहरुले भोगिरहेको लगानी योग्य पुँजी (तरलता) अभावको समस्या समाधान गर्छ ।

अर्थमन्त्रीको यो अभिव्यत्तिले तरलताको अभावमा छटपटाइरहेका बैंकरहरुलाई राहतको आभाष मिल्यो । बजारबाट निक्षेप आउन छाडेपछि ब्याजदर बढाएर एक बैंकको निक्षेप अर्को बैंकले तान्ने चरम प्रतिस्पर्धा गरिरहेका बैंकरहरुलाई आशाको त्यान्द्रो पलाउन अस्वभाविक पनि होइन ।

निक्षेप नआएपछि अहिले बैंकहरु कर्जा प्रवाह ठप्प पारेर बसेका छन् ।

अर्थमन्त्री खतिवडाको उक्त उदघोषसँगै नेपाल राष्ट्र बैंकले बैंकहरुलाई विदेशी बैंकबाट ऋण ल्याउन पाउने व्यवस्था गर्न गृहकार्य गरिरहेको छ ।

‘विदेशी बैंकहरुले विश्वास गरेको खण्डमा नेपाली बैंकहरुले ऋण ल्याउन सक्छन्, मलाई लाग्छ आजको अवस्थामा नेपालका अधिकांस बैंकहरुले विदेशी बैंकबाट ऋण ल्याउन सक्दैनन्,’ खालिङले भने ।

‘नेपाली बैंकहरुलाई विदेशी बैंकबाट ऋण ल्याएर तरलता अभावको समस्या समाधान गर्नका लागि हामीले मस्यौदा तयार पारिरहेका छौं,’ राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले क्लिकमाण्डूसँग भने ।

सरकारले आफ्नो ढुकुटीमा भएको पैसा खर्च गर्न नसकेपछि बैंकिङ प्रणालीले तरलता अभावको समस्या भोग्नु परेको बैंकरहरु बताउँछन् ।

पूर्वगभर्नरसमेत रहेका अर्थमन्त्री खतिवडाले यही भावनालाई बुझेर विदेशी बैंकबाट ऋण ल्याउने व्यवस्था मिलाएर भएपनि तरलता अभावको समस्या समाधान गर्ने आइडिया निकाले ।

तर, विदेशी बैंकबाट ऋण ल्याएर तरलता छेलोखेलो बनाउन संभव छ त ?

लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ भने नेपाली बैंकहरुलाई विदेशी बैंकबाट ऋण ल्याउन निकै कठिन भएको बताउँछन् ।

‘विदेशी बैंकहरुले विश्वास गरेको खण्डमा नेपाली बैंकहरुले ऋण ल्याउन सक्छन्, मलाई लाग्छ आजको अवस्थामा नेपालका अधिकांस बैंकहरुले विदेशी बैंकबाट ऋण ल्याउन सक्दैनन्,’ खालिङले क्लिकमाण्डूसँग भने ।

यसका लागि उनी केही आधारहरु प्रस्तुत गर्छन् । खालिङकै शब्दमाः

नेपाली बैंकहरुले कुनैपनि संस्था वा अन्तर्राष्ट्रिय बैंकबाट ऋण लिएपछि त्यो पैसा तिर्नुपनि पर्छ । अहिले परिचालन हुनुपर्ने स्रोतको जुन ग्याब देखिइरहेको छ । सरकारी प्रसा ढुकुटीमा अड्किएका कारण तरलतामा चाप पर्यो । सरकारी ढुकुटीको पैसा बजारमा आउनलाई कति महिना लाग्छ त ? मानौं अहिले ६ महिना लाग्छ । ६ महिनामा सरकारी स्रोत बजारमा आउँछ ।

सरकारी पैसा बजारमा आउँदासम्मलाई अल्पकालका लागि विदेशी बैंकसँग बैंकहरुले ऋण लिएर भएपनि तरलता सहज बनाउन सक्छन् ।

विदेशी बैंकहरुले विश्वास गरेको खण्डमा नेपाली बैंकहरुले ऋण ल्याउन सक्छन् । मलाई लाग्छ आजको अवस्थामा नेपालका अधिकांस बैंकहरुले विदेशी बैंकबाट ऋण ल्याउन सक्दैनन् ।

किनभने विदेशी बैंकले क्रेडिट एनालाइसिस गर्दा, जोखिम हेर्दा देश र बैंक दुबैको जोखिम पनि हेर्छन् । आजका दिनमा पनि हामीले एलसी लगायतका अन्तराष्ट्रिय कारोबार गर्दा उनीहरुले हामीमा बढी जोखिम देखेको अनुभव गरिरहेका छौं । जस्तैः १ लाख डलरको एलसी खोल्दा सो बराबर नगदै पैसा राख्नुपर्छ ।

नेपाली बैंकहरुले विदेशी बैंकहरुसँग ‘क्लिन क्रेडिट’ नआउन सक्ने संभावना बढी देखिन्छ । क्लिन क्रेडिट भन्दा ‘क्यास ब्याक’ ऋणका लागि विदेशीले हामीलाई पत्याउँछन् ।

विदेशी मुद्रामा लिएको ऋण नेपाली रुपैयाँमा परिवर्तन गरेर निक्षेप देखाउन पाउने र निश्चित समयपछि त्यो ऋण विदेशी मुद्रामै फर्काउनु पर्ने हुन्छ । ६ महिनाको अवधिमा पनि सरकारी ढुकुटीमा रहेको पैसा बजारमा आएन भने विदेशी बैंकबाट लिएको ऋण कसरी तिर्ने ? यसरी विदेशी बैंकसँग लिएको ऋण समयमा तिर्न नसक्ने अवस्था आउँछ ।

विदेशी बैंकको ऋण तिर्नेवित्तिकै फेरि बैंकहरुकलाई सीसीडी रेसियो नियन्त्रण गर्न कठिन हुन्छ । किनभने हामी स्रोत फिर्ता गर्छौं । तर लगानी गरिएको कर्जा त फिर्ता हुँदैन ।

५/६ महिनामा सरकारी पैसा खर्च हुन्छ भने बैंकहरुले अहिले विदेशी बैंकबाट ऋण लिएर तरलताको समस्या सुल्झाउनका लागि प्रयोग गर्न सक्छन् । होइन भने भोलि झन् ठूलो समस्या निम्तन सक्छ ।

राष्ट्र बैंकले विदेशी बैंकबाट ऋण ल्याउन पाउने व्यवस्था खुल्ला गरे पनि तत्कालै यस्तो ऋण ल्याइहाल्न सक्ने अवस्था देखिँदैन ।


पुष्प दुलाल