ऊर्जा क्षेत्रमा यसरी फड्को मार्दै पाकिस्तान, यसैवर्ष ६ हजार मेगावाट विद्युत् थपिदै



काठमाडौं । चरम विद्युत् संकट भोगिरहेको पाकिस्तानले यसै वर्ष अर्थात् सन् २०१८ भित्रै करिब ६ हजार मेगावाट विद्युत् थप गर्ने तयारी गरेको छ ।

पाकिस्तानी सञ्चार माध्यमहरुकाअनुसार विद्युत् उत्पादनमा पाकिस्तानले पछिल्ला वर्षहरुमा गरेको यो नै ठूलो उपलब्धी हो ।

परमाणु शक्ति सम्पन्न पाकिस्तानमा यतिबेला चरम ऊर्जा संकट रहँदै आएको छ । चरम ऊर्जा संकटमा मुक्ति पाउने लक्ष्यका साथ सरकारले जलविद्युत् आयोजना निर्माणमा विशेष जोड दिएको र लगानीमैत्री वातावरण समेत तयार पारेकाले एकै पटक करिब ६ हजार मेगावाट विद्युत् उत्पादनको तयारी गरिएको हो ।

पाकिस्तानी सञ्चार माध्यमहरुकाअनुसार सन् २०१८ को अन्त्यसम्म ५ हजार ७७० मेगावाट विद्युत् उत्पादन हुन लागेको छ । पाकिस्तानमा उत्पादन हुन लागेको उक्त विद्युत्को मात्रा नेपालको एउटा नदी करिडोरको कूल क्षमता बराबर हो ।

पाकिस्तानले सन् २०१८ भित्र पूरा हुने गरी ५ ठूला आयोजना सम्पन्न गर्न लागेको हो । पाकिस्तानमा हाल दैनिक १२ घन्टा लोडसेडिङ हुने गरेको छ ।

लोडसेडिङ अन्त्यका लागि ती आयोजना महत्वपूर्ण मानिन्छ । निर्माणाधिन आयोजना अन्तिम चरणमा पुगेको पाकिस्तानी सञ्चार माध्यमको भनाइ छ ।

सञ्चार माध्यममा जनाइएअनुसार १ हजार ३५० मेगावाट क्षमताको साहिवाल पावर प्लान्ट, १ हजार ३२० मेगावाट क्षमताको पोर्ट क्वासिम पावर प्लान्ट, १ हजार ५ सय मेगावाटको तर्बला प्लान्ट ९ सय ५० मेगावाटको निलुम जेलुम र ६ सय मेगावाटका २ परमाणु ऊर्जा प्रणाली निर्माणको अन्तिम चरणमा पुगेको छ ।

यस्तै, ग्यासबाट विद्युत उत्पादन हुने गुडु नादिपुर परियोजना समेत निर्माण पूरा हुने चरणमा पुगेको छ ।

पाकिस्तानी सञ्चार माध्यमहरुकाअनुसार निर्माणाधीन ठूला आयोजना पूरा भएपछि हाल व्याप्त ऊर्जा संकट समाधान हुने पाकिस्तानी सरकारले विश्वास व्यक्त गरेको छ ।

नियमित विद्युत् उपलब्ध हुन नसक्दा लाखौैलाई रोजगारी दिने उद्योग धन्दा बन्द हुँदा पाकिस्तानमा बेरोजगारीको दर बढेको छ ।
माग अनुसारको आपूर्ति व्यवस्थापन नहुँदा पाकिस्तानले लामो समयदेखि लोडसेडिङको खेपिरहनु परेको छ ।

पाकिस्तानमा हाल २१ हजार मेगावाट विद्युत् माग रहेको छ । केही दिन अघि नेपाल भ्रमणमा आएका पाकिस्तानी प्रधानमनत्रीले नेपालसँग मिलेर ऊर्जा क्षेत्रमा लगानी गर्न सकिने बताएका थिए ।


पुष्प दुलाल