बैशाख १ देखि अमेरिकाको न्यूयोर्कमा बाजेको सेकुवा



काठमाडौं । नेपालको चर्चित रेस्टुरेन्ट बाजेको सेकुवाका परिकार अब अमेरिकामा पनि खान पाइने भएको छ । आगामी बैशाख १ गते न्यूयोर्कस्थित क्विन्समा बाजेको सेकुवाको फ्रेन्चाइज आउटलेट सञ्चालनमा आउने भएको हो ।

‘०७५ बैशाख १ गते न्यूयोर्कको क्विन्समा हाम्रो फ्रेन्चाइज आउटलेट सञ्चालनमा आउँदैछ, त्यसका लागि म १५ दिनपछि अमेरिका जाँदैछु,’ बाजेको सेकुवाका अध्यक्ष चेतन भण्डारीले क्लिकमाण्डूसँग भने ।

अमेरिकाको न्यूयोर्कमा खुल्न लागेको १४औं शाखा हो । हालसम्म देशभर १३ वटा शाखा सञ्चालनमा छन् ।

देशबाहिर बाजेको सेकुवाको पहिलो फ्रेञ्चाइज अमेरिकामा सञ्चालन गर्न लागिएको हो ।

‘अमेरिकामा खोल्न लागिएको फ्रेञ्चाइज देशबाहिर पहिलो हो,’ भण्डारीले भने, ‘आगामी ५ वर्षभित्र अमेरिकामा ६/७ वटा फ्रेञ्चाइज बिस्तार गर्ने लक्ष्य छ ।’

अमेरिकामा पनि बाजेको सेकुवाको नेपाली भेराइटीलाई नै प्रवद्र्धन गरिने उनले सुनाए । यद्यपि अमेरिकाको स्थिति हेरेर केही त्यहाँका लोकल प्रोडक्टलाई पनि प्राथमिकतामा राखिने उनको भनाइ छ ।

सन् १९७६ मा स्थापना भएको बाजेको सेकुवाले आफ्नो व्यावसायिक विस्तारलाई तीब्र बनाएको छ । नेपालमा सेकुवा कल्चरको विकास गर्न सफल भएको बाजेको सेकुवाको लोकप्रियता पनि बढ्दो छ ।

‘बुबाले ५ सय रुपैयाँदेखि शुरु गरेको सेकुवा बिजनेशमा अहिले आफ्नै शाखा र फ्रेञ्चाइजसमेत गरी २० करोडको हाराहारीमा लगानी भएको छ, सयौंले रोजगारी पाएका छन्,’ भण्डारीले सुनाए ।

यस्तो छ इतिहास

सामान्य खेती किसानी गर्ने दीनानाथ भण्डारी ४१ वर्षअघि काठमाडौं घुम्न आए । ५ सय रुपैयाँ लगानी गरेर भण्डारीले एयरपोर्टमा सेकुवा पोल्न थाले । उनी पाक्कल्लमा निपुण थिए । घरमै पनि खसीको मासुका भेराइटीहरु असाध्यै मिठो पकाउँथे । त्यसैले सेकुवा पोलेरै भएपनि जिन्दगी गुजार्छु भनेर आँट गरे भण्डारीले ।

रमाइलो कुरा त के छ भने दीनानाथ जहाज कस्तो हुन्छ भनेर हेर्न एयरपोर्ट पुगेका थिए । त्यसबेला उनले एयरपोर्टभित्र मिठो खाना खाने ठाउँ भेट्टाएनन् । र, आफैंले एयरपोर्ट छेउको चौरमा सेकुवा पोल्न र खाना नास्ता बनाउने बिजनेश थाले ।

कुनै भाडा नतिरी चौरमा सेकुवा पोलेर सामान्य कारोबार गरिरहेका भण्डारी दम्पती एक दिन नगरपालिकाका कर्मचारीबाट लखेटिएको घटनाले दीनानाथका छोरा चेतनको मन छोयो । त्यतिन्जेलसम्म एयरपोर्टकाका कर्मचारी र त्रिभुवन विमानस्थल भन्सारमा सामान लिन आउने व्यापारीको खाजा खाने स्थलको रुपमा बाजेको सेकुवा लोकप्रिय हुँदै गएको थियो ।

त्यसलगत्तै घर सल्लाहपछि व्यवसाय कतै सारौं भनेर सिनामङ्गल नजिकैको खाली चौरको एक कुना भाडामा लिएर व्यावसायिक रुपमा सेकुवा पोल्न सुरु गरे । यसरी सुरु भएको बाजेको सेकुवाका अहिले देशभर १३ शाखा विस्तार भइसकेका छन् । जसमध्ये अआधा आफेनै लगानीमा र आधा फ्रेञ्चाइज हुन् ।

“यो नाम हामीले कहीँ लेखेको वा राखेको नाम होइन ग्राहकले आफैँले दिएको नाम हो, पछि त्यही नाम ब्राण्ड भयो,’  भण्डारीले भने ।

यसरी शुरु भएको बिजनेसलाई पछि चेतनले ब्यावसायिकरुपमा अघि बढाए । अहिले बाजेको सेकुवाको ब्राण्ड नै काफी छ । ट्रेडमार्क मात्रै लाखौं हालेर किन्ने दर्जनौं प्रस्ताबहरु आएको सुनाउँछन् उनी ।


पुष्प दुलाल