उडान बन्द गर्ने चेतावनी दिएपछि एयर एशियाले भन्यो- बिमानस्थलको बक्यौता तिर्छौं



काठमाडौैं । मलेसियन निजी हवाई सेवा प्रदाय एयर एशिया मलेसिया कार्यालयले विमानस्थल सेवा शूल्क वापतको बाँकी बक्यौता तिर्ने प्रतिबद्धता गरेको छ । एशियाको नेपाल प्रतिनिधिले लामो समयदेखि बाँकी बक्यौता दाखिल नगरेपछि आफैं रकम तिर्ने प्रतिबद्धता गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सन्जीव गौतमले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले गत फेब्रुअरी २८ गते ६ दिनको म्याद दिँदै बक्यौता दाखिल नगरे उडान बन्द गर्ने चेतावनी दिएको थियो । कार्यालयको चेतावनी पाएलगतै एयर एशिया मलेसियाको कार्यालयले आफ्नो बक्यौता नरहेका दाबी सहितपत्र प्राधिकरणलाई पठाएको थियो ।

प्राधिकरणले त्यसलगतै शुक्रबार साँवा र व्याजसहित २६ करोड रुपैयाँ बक्यौता रहेको विवरण एयर एशियालाई पठाएको थियो । बक्यौताको विवरण पाएपछि मलेसिया कार्यालयबाट बक्यौताको विषयमा छलफल गर्ने दुई जना प्रतिनिधि नेपाल आएका थिए ।

एयर यशियाको प्रतिनिधिले सोमबार साँझ सन् २०१२ देखिको हिसाब रुजु मार्च महिनाभित्रै सम्पन्न गर्ने र २५ करोडको बैंक ग्यारेन्टी राख्ने गरी सहमति गरेको गौतमले बताए ।

एयस एशियाले अप्रिलमा बाँकी बक्यौताको ४० प्रतिशत रकम दाखिला गर्ने अन्य बाँकी रकम जुलाईसम्म चुक्ता गर्ने प्रतिबद्धता गरेको छ ।
मलेसिया कार्यालयका प्रतिनिधिलाई अहिलेसम्म नेपाल प्रतिनिधिले कुनै जानकारी नगराएको समेत खुल्न आएको छ । नेपाल प्रतिनिधिले पटक–पटक विमानस्थल कार्यालयसँग बक्यौता चुक्ता गर्ने सहमति गरेपनि कार्यान्वयन गरेको थिएन ।

एयस एशियाले पहिलो पटक पुस २४ गते बाँकी बक्यौता चुक्ता गर्ने गरी कार्यालयसँग सहमति गरेको थियो । फेरी दोस्रो पटक पुस २४ गते फेब्रुअरी २८ मा सबै रकम दाखिला गर्ने लिखित प्रतिबद्धता गरेको थियो । एयर एसियाले विमानस्थल कार्यालय बाहेक नेपाल पर्यटन बोर्डलाई पनि सवाँ ७ करोड रुपैयाँ बक्यौता दाखिल गरेको छैन ।

एयर एयशियाले नेपालबाट बाहिर जाने विदेशी पर्यटकले सँग प्रतिव्यक्ति एक हजार पर्यटन शूल्क वापत उठाएको रकम लामो समयदेखि तिरेको छैन । पर्यटन बोर्डले रकम उठाउनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणसँग सहयोग मागिसकेको छ ।

के छ कानून ?

विमानस्थल सेवा शूल्क नियमावली २०६७को नियम ३० मा विमानस्थल कार्यालय प्रमुखले वायुयान कम्पनीले समयमै रकम दाखिला नगरेको अवस्थामा कारोबार रोक्कादेखि तत्काल उडान बन्द गराउन सक्ने व्यवस्था गरेको छ । सोही आधारका विमानस्थल कार्यालयले मलेसियाको कार्यालयलाई उडान बन्द गराउने पत्र पठाएको थियो ।

नियमावलीको नियम ३० को एकमा नियमावली बमोजिम बुझाउनु पर्ने शुल्क समयमा नबुझाउने व्यक्ति वा संस्थालाई विमानस्थलबाट जारी भएको अनुमति पत्र, सम्झौतापत्र वा अन्य कुनै कारोबार गर्न दिएको अनुमति विमानस्थल प्रमुखले स्थगन गरी विमानस्थलमा रहेको निजको सम्पत्ति रोक्का राखी निजको काम कारवाही वा व्यवसायमा रोक लगाउन सक्नेछ उल्लेख छ । साथै त्यसरी रोक लगाएको सूचना अविलम्ब प्रधान कार्यालयमा पठाउनु पर्नेछ हुन्छ ।

नियम दुईमा कुनै व्यक्ति वा निकायले बिल जारी भएको मितिले साठी दिनसम्म पनि विमानस्थलसँग सम्बन्धित शुल्क नबुझाएमा विमानस्थलको प्रमुखले त्यस्तो व्यक्ति वा संस्थालाई विमानस्थलमा व्यवसाय गर्न रोक लगाउँदै वायुसेवाको हकमा उडानमा तत्काल रोक सक्ने उल्लेख छ ।

नियम ३० को ३ मा प्राधिकरणले यस नियमावली बमोजिम बुझाउनु पर्ने शुल्क नबुझाएमा वा प्राधिकरणसँग भएको सम्झौता उलंघन गर्ने व्यक्ति तथा संस्था संस्थाका सञ्चालकलाई भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै किसिमको काम कारवाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने गरी कालो सूचिमा राख्न सक्नेछ समेत नियमावलीमा उल्लेख छ ।


पुष्प दुलाल