इलेक्ट्रिक गाडीका लागि ‘भर्चुअल पावर स्टेसन’को खोजी



एजेन्सी । विश्वभर अहिले एक अर्बभन्दा बढी सवारी रहेको अनुमान छ । अहिले विद्युतीय कार सवैको रोजाईमा पर्दछ ।

विश्वभरका उत्पादकहरु अहिले विशुद्ध इलेक्ट्रिक वा हाइब्रिड (विद्युत् र पेट्रोल वा डिजेल दुवैबाट चल्ने) कार बनाउन धमाधम लगानी गरिरहेका छन् । डिजेल र पेट्रोलबाट चल्ने सवारीले प्रदूषण बढाएको भन्दै विश्वका केही देशले भविष्यमा यिनलाई प्रतिबन्ध गर्नुपर्ने धारणा सार्वजनिक गर्न थालेका छन् ।

तत्कालै पेट्रोल र डिजेलबाट चल्ने गाडीलाई विद्युतीय विकल्पले विस्थापित गर्न त सम्भव छैन तर अबको केही वर्ष विद्युतीय सवारीको निर्माण र बिक्री दुवैमा उल्लेख्य वृद्धि हुनेछ ।

बेलायतले भने भविष्यमा वृद्धि हुने विद्युतीय सवारीका लागि कति विद्युत् चाहिन्छ भनेर अनुमान गर्न थालेको छ । बेलायती नेसनल ग्रिडका अनुसार त्यहाँ सन् २०३० सम्ममा ९० लाख विद्युतीय सवारी हुने अनुमान गरेको छ ।

बेलायतमा चार्जर कम्पनीले पनि यसका लागि तयारी थालेको छ । उनीहरुले यस्तो स्मार्ट चार्जर बनाइरहेका छन् जसले पिक आवरमा सवारीलाई चार्ज गर्नेछैन बरु फरक–फरक समयमा गाडी चार्ज गर्दा फरक–फरक शुल्क निर्धारण गर्नेछ । यसो गर्दा, एकै समयमा विद्युत्को धेरै माग नहुने अनुमान छ ।

कार उत्पादक कम्पनी निसानको योजना भने फरक छ । निसानको अनुसन्धान केन्द्रमा दर्जनौं विद्युतीय कारहरु चार्ज गर्नका लागि लाइनमा हुन्छन् तर ती कार विद्युत्तबाट चार्ज मात्रै भएका छैन, विद्युत फिर्ता पनि दिइरहेका छन् ।

कम्पनीले यो प्रणालीलाई भइकल टु ग्रिड (भीटुजी) नाम दिएको छ । जापानी कम्पनी निसानले इटालियन कम्पनी इनेलसँगको सहकार्यमा यस्तो खालको प्रणालीको परीक्षण गरेको हो । यसको परीक्षण अहिले डेनमार्कमा पनि भइरहेको छ ।

यो प्रणालीमा ग्रिडले आवश्यक परेको बेला हरेक कारबाट केही मात्रामा ऊर्जा लिन सक्छ । कारधनीले ग्रिड चार्ज गरिदिए बापत पैसा पनि पाउँछ । धेरै कारहरुबाट थोरै थोरै ऊर्जा ग्रिडमा पठाउँदा धेरै ऊर्जा जम्मा हुने छ ।

इन्जिनियर कोरालिनी यसलाई भर्चुअल पावर स्टेसन भन्न रुचाउँछन । यो जटिल खालको प्रणाली हो र निसानले यसलाई केही समयदेखि बेलायतमा पनि परीक्षण गरिरहेको छ । निसानले अहिले यो प्रणाली परीक्षण गरिरहेको भए पनि उसको योजना भविष्यमा यसलाई व्यावसायिक रुपमा बिक्री गर्नु हो ।


पुष्प दुलाल