विज्ञ अर्थशास्त्रीले सेयर बजारलाई अनुत्पादक हो भन्न सक्दैनः नीरव पुडासैनीको विश्लेषण



अर्थमन्त्री डा. युवराज खतिवडाको हालैको शेयर बजार बारेको अभिव्यक्ति संसयात्मक रुपमा बुझिन खोजेको देखियो । बैंकिङ क्षेत्रले शेयर बजारमा गर्ने गरेको लगानी उत्पादक हो, होइन वा उचित हो, होइन भन्ने कुरा बहसको विषय हुन सक्ला । तर स्वयं शेयर बजारलाई नै अनुत्पादक भनियो भनेर मूर्खतापूर्ण तरिकाले भ्रम छर्न खोजिँदैछ ।

डा. खतिवडाको हिँजोको र आजको उद्देश्यमा कुनै तात्विक भिन्नता छैन । हिजो गर्भनर हुँदा पनि उनको अभिव्यक्ति बिचौलिया प्रवृत्तिका शेयर तथा घर जग्गा माफियालाई लक्षित थियो । आज मन्त्री हुँदा पनि उस्तै छ । यसैको फलस्वरुप उनको अभिव्यक्तिलाई लिएर अहिले बुम¥याङ गर्ने असफल प्रयास गरिँदैछ । अनुत्पादक भन्नुमा तर्क छ । बैंकले दिने शेयर कर्जाले पक्कै पनि उत्पादकत्व बढाउँदैन । तर यसको अर्थ समग्र पूँजी बजारलाई उनले पक्कै पनि अनुत्पादक भनेका होइनन् ।

पूँजी बजारलाई अर्थतन्त्रको ऐना मानिन्छ । कुनै पनि मुलुकको आर्थिक अवस्थाको ज्ञान लिन सर्वप्रथम त्यस देशको पूँजी बजारको अवस्था र कारोबारको जानकारी लिन जरुरी हुन्छ । अहिलेको बजार परिसूचक हाम्रो अर्थतन्त्रको अवस्थाभन्दा कहाँ फरक छ । हाम्रो अर्थतन्त्रमा वैदेशिक लगानीको महत्वलाई बुझेका अर्थमन्त्रीले यस्ता अभिव्यक्ति दिए भनेर रोइलो गर्नु खेदजनक छ ।

अर्थतन्त्र खुम्चिएको आजको अवस्थामा बैंकको लगानी योग्य ऋणको व्याजमा वृद्धि भएको छ । रोजगारीमा थप अवसर सिर्जना हुन सकेको छैन । व्यापार घाटाका कारण विप्रेषणको आडमा भित्रिएको विदेशी मुद्रा व्यापार घाटाका कारण बाहिरिइरहेको छ । पूँजी वृद्धिका साथ आएका बैंकले थप पूँजीको प्रयोग गर्न पाइरहेका छैनन् । शेयरको आपूर्ति मागको तुलनामा बढी देखिन्छ । लगानी कोषलगायतका संस्थागत लगानीकर्ताहरु शेयर बजारको कारोबारमा पर्ख र हेरको सिद्धान्तमा रहेका छन् । यस्तो अवस्थामा शेयरको मूल्य वृद्धि हुनुमा कुनै तुक छ र ?

एउटा विवेकी लगानीकर्ताले शेयरको मूल्यमा होइन त्यसको आर्थिक अवस्थाको आधारमा लगानी गर्नुपर्छ । यस्ता बेतुकका हौवाका पछि नलागौ । शेयर कारोबार भविस्यमा मर्यादित हुने निश्चित छ । नवनियुक्त अर्थमन्त्रीका अभिव्यक्तिले यसलाई थप पुस्टि गरिसकेको छ । तर्सथ हौवाको होइन, बिवेकको प्रयोग गरौ ।

तसर्थ विभिन्न परियोजनाहरुका आवश्यक थप पूँजी जुटाउने महत्वपूर्ण औजार पूँजी बजारलाई अर्थतन्त्रको ज्ञाता अर्थमन्त्रीले यस्तो भने भनेर रोइलो गर्नुमा कुनै अर्थ छैन । कतै वाम सरकार र उनको यो अभिव्यक्तिको गलत बुझाईलाई हौवा बनाएर सट्टेवाजहरु ठूलै चलखेल गर्न उद्यत् त छैनन् ? शेयर बजारको कारोबारमा स्पेकुलेशनको ठूलो हिस्सा रहेको हुन्छ । म्यानुपुलेशन गर्दै स्पेकुलेशन गर्न खप्पिस शेयर सट्टेबाजहरु यस्ता हौवालाई थप हावा दिन सँधै तत्पर हुन्छन् ।

तर अर्थमन्त्रीले हालै भन्सार तथा कर प्रशासनलाई चुस्त गर्न, मूल्य भन्दा कम भन्सार मूल्यांकन नगर्न नगराउन कडा निर्देशन दिए । जसको चर्चा गर्न उनीहरुलाई आवश्यक लागेन । जसको सकारात्मक प्रभाव तत्काल देखियो । राजस्व वृद्धि अहिलेसम्मकै उच्च भयो । यो पनि सुरुवाती संकेत हो । वाम सरकार र अर्थमन्त्री स्वयम्लाई असफल हुने सुविधा यो पटक छैन । तसर्थ नेपाली अर्थतन्त्रको सबलीकरणमा उनको कामको अहिल्यै शंसय वा शंका गर्ने सुविधाको उपयोग गर्न हामी हतारिनु उचित हुँदैन ।

अर्थतन्त्रको सुधारका लागि उनले गर्ने दिग्दर्शनको मार्गलाई पछ्याँउदै पूँजी बजारमा कारोबार गर्नुको विकल्प छैन । उनको उद्देश्य अनुरुपको अर्थतन्त्रले गति लिन थालेसँगै पूँजीबजारले फेरी त्यो लयलाई समाउनेछ । उनको डर विदेशी लगानीको नाममा भित्रने पूँजी, बैंकमार्फत् शेयर बजार र जमिनको उत्पादकत्व मासिने गरी गरिने घर जग्गाको स्पेकुलेशनमा नआओस् भन्ने मात्रै हो । वाम सरकारको हौवामा घटेको यस बजारका लगानीकर्ताले शेयर बजारको अंक सधै स्थिर हुँदैन भन्ने बुझ्न जरुरी छ । बजारमा शेयरको आपूर्ति बढेको छ, तुलनात्मक रुपमा माग कम छ । पूँजी बजारमा गरिने ठूलो लगानीको अभाव अहिले छ । संसथागत लगानीकर्ता तथा शेयर कारोबारी लगानीकोषहरुले थोरै नाफामा शेयर बेचिरहेका छन् ।

सुविधामा खरिद गर्ने मौका पाएका यस्ता सामूहिक लगानी कोषहरुलाई प्राथमिक शेयर बेच्न पाउने निश्चित समयसीमा तोकिनु आवश्यक छ । डा. खतिवडाले शेयर बजारबाट वस्तु उत्पादनको जस्तो प्रतिफलको अपेक्षा पक्कै गरेका होइनन् । उत्पादकत्वको अर्थ वस्तु उत्पादन मात्र कदापी होइन । पूँजीको उत्पादन, रोजगारी सिर्जना, आर्थिक गतिविधिहरुको वृद्धि आदि पनि यस्को महत्वपूर्ण पक्ष हो ।

उनको आशय विभिन्न क्षेत्रहरुबाट बैंकमा भित्रिएको पूँजी ऋणको माध्यमबाट अनुत्पादक रुपमा स्पेकुलेशनको उद्देश्यका साथ शेयर बजारमा भित्र्नु उत्पादकत्व होइन । अर्थतन्त्रको ऐनाको रुपमा रहेको पूँजी बजारमा देशको अर्थतन्त्र, सम्बन्धित संस्थाको प्रतिफल तथा उनीहरुको वासलात आदिको आधारमा लगानी गर्ने लगानीकर्ताहरु डराउनुपर्ने कुनै कारण छैन । अर्थमन्त्री यस्ता लगानीकर्तामैत्री छन् भन्दा अन्यथा नहोला । उनको उद्देश्य शेयर बजारको आडमा बैंकको पूँजीलाई दाऊमा लगाउने सट्टेवाजहरुप्रति लक्षित छ ।

ती अंकको वृद्धि सँगै हाम्रो आर्थिक वृद्धिदरले दोहोरो अंकको उचाई समाउनेछ । यसको प्रयत्नमा लाग्नु अबको अर्थमन्त्रीको पहिलो काम हुनेछ । जसका लागि उनले राज्यका सबै आर्थिक चुहावटलाई बन्द गर्ने प्रयास गर्नेछन् । फलस्वरुप धेरै बिचौलिया तथा सट्ट्वाजहरु रुस्ट हुनेछन् । र, बजारमा भ्रामक हौवाहरु फैलाउने प्रयास गर्नेछन् । यसलाई त्यसैको एउटा कडी हो भन्दा अन्यथा हुँदैन ।

राम्रो क्षेत्र तथा संस्थामा लगानी गरेका लगानीकर्ताहरु केही समय घोडा बेचेर सुत्नु जस्तै सुत्नु उत्तम हुन्छ । आर्थिक वृद्धिको लक्ष्य जसरी क्रमशः पूरा हुँदै जान्छ । उसैगरी पूँजीबजारको अंकहरुले पनि उचाई लिँदै जानेछ । शेयर बजारको लगानी भनेको नै तत्कालको नाफाका लागि गरिने लगानी होइन । अर्थतन्त्रको दर्पण शेयर बजारलाई अनुत्पादक क्षेत्र भनेर एउटा विज्ञ अर्थशास्त्रीले कदापी भन्दैन । डा. खतिवडाको अभिव्यक्तिलाई यसरी नै बुझ्न जरुरी छ । तर्सथ सम्बिन्धत संस्थाको शेयरमा कारोबार गर्नुभन्दा अगाडि त्यस संस्थाको सम्पूर्ण आर्थिक विवरणको अध्ययन गरेर मात्र लगानी गर्नु उत्तम हुन्छ । तिनको प्रतिफलको आधारमा तत् संस्थाहरुको शेयर मूल्यमा परिवर्तन हुन्छ ।

एउटा विवेकी लगानीकर्ताले शेयरको मूल्यमा होइन त्यसको आर्थिक अवस्थाको आधारमा लगानी गर्नुपर्छ । यस्ता बेतुकका हौवाका पछि नलागौ । शेयर कारोबार भविस्यमा मर्यादित हुने निश्चित छ । नवनियुक्त अर्थमन्त्रीका अभिव्यक्तिले यसलाई थप पुस्टि गरिसकेको छ । तर्सथ हौवाको होइन, बिवेकको प्रयोग गरौ ।

लेखक नेपाली पुँजी बजारका जानकार हुन् ।


पुष्प दुलाल