कुलमानले भने- यसकारण काठमाडौंमा २ वर्षपछि फेरि लोडसेडिङ हुनसक्छ



काठमाडौ । परम्परागत प्रसारण प्रणालीका कारण आगामी दुई वर्षभित्र काठमाडौँ उपत्यकामा फेरि लोडसेडिङ हुनसक्ने देखिएको छ । यो कुराको खुलासा अरु कसैले गरेको नभई स्वयम् नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नै गरेका हुन् ।

चन्द्र शम्शेरले तयार पारेको काठमाडौंको विद्युत् वितरण प्रणालीमा उल्लेख्य मात्रामा सुधार गर्न नसकिएको र बर्षेनी बढ्दै गएको बस्ती तथा आवासका कारण पनि समसया थपिँदै गएको छ । उपत्यका भित्रको वितरण प्रणाली परम्परागत एवम् अवैज्ञानिक रहेको छ । अधिकाशं प्रसारण लाइन ३३ केभीका छन् । बढ्दो बस्तीका कारण ३३ केभी क्षमताको प्रसारण लाइनले लोड धान्न सक्दैन ।

बढी जनघनत्वः ११ केभीका प्रसारणलाइन

यस्तै बढी जनघनत्व रहेको स्थानमा समेत ११ केभीका प्रसारण लाइन छन् । यस्तै ट्रान्सफर्मरको क्षमता पनि उस्तै रहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङकाअनुसार उपत्यकाको वितरण प्रणालीलाई पूरा नयाँ बनाउन पनि सकिने अवस्था छैन, नगरेर पनि हुनेवाला छैन । कुल विद्युत् मागको दुई तिहाई भन्दा बढी विद्युत् खपत राजधानीमा नै हुने गरेको छ ।

बागबजार र पुतलीसडकमा बढी समस्या

पछिल्लो दिनमा राजधानीका विभिन्न स्थामना देखिएको अघोषित लोडसेडिङको पछाडि पनि वितरण प्रणालीमा रहेको समस्या नै रहेको प्राधिकरणको बुझाई छ । बागबजार, पुतलीसडक सबैभन्दा बढी समस्यामा पर्ने गरेको छ । यस्तै कलंकी, बानेश्वर, कोटेश्वरलगायतका स्थानमा पनि नियमति रुपमा बत्ती काटिने गरेको छ ।

ओभरलोडको समस्या

विद्युत् नभएर नभई वितरण प्रणालीमा रहेको समस्यामा कारण कतिपय स्थानमा ओभरलोड भएर पनि विद्युत् काटनु परेको प्राधिकरणको भनाइ छ । काठमाडौँको वितरण प्रणालीलाई सहज बनाउनका लागि ६ हजार ५०० किलोमिटर नयाँ प्रसारण प्रणाली जडान गर्नुपर्ने देखिन्छ । यही प्रसारण प्रणाली राखियो भने हामीले नचाहेर पनि आगामी दुई वर्षभित्र काठमाडौँमा लोडसेडिङ हुन्छ , घिसिङले यर्थाथको जानकारी गराएका छन् ।

बढ्दो शहरीकरण तथा घना आवाद भएको स्थानमा वितरण प्रणाली सुधार गर्नु भनेको फलामको च्यूरा चपाए सरह भएको छ । यस्तै कतिपय स्थानमा स्थानीयबासीले समेत सहयोग गरेका छैनने । प्राधिकरण नयाँ ट्रान्सफर्मर जडानका लागि भौतारिएर हिडेपनि स्थानीयले ट्रान्सफर्मर राख्ने स्थान उपलब्ध गराउन सकेका छैनन् ।

एक हजार नयाँ ट्रान्सफरमर आवश्यक

प्राधिकरणकाअनुसार राजधानीमा मात्रै हाल १ हजार थान नयाँ ट्रान्सफर्मरको माग रहेको छ । आपूर्तिको अवस्था पनि उस्तै रहेको छ । नयाँ ट्रान्सफर्मरु खरिद प्रक्रिया अगाडि बढाएपनि मागअनुसारको ट्रान्सफर्मर नपाएको वितरण केन्द्रहरुको गुनासो यथावत छ । यस्तै नयाँ ट्रान्सफर्मर राख्न, नयाँ प्रसारण लाइन तान्न तथा पूरानालाई विस्थापन गर्न पनि स्थान अभाव देखिएको छ । परम्परागत प्रसारण प्रणालीका कारण चुहावट पनि उत्तिकै बढेको छ ।

बानेश्वर, चपलीमा नयाँ ट्रान्सफर्मर

नियमति विद्युत् आपूर्ति भएपनि प्रसारण प्रणालीमा देखिएको जटिलताका कारण राजधानीका केही स्थानमा कहिले बत्ती आउने र जाने गरेको छ । समस्या समाधानका लागि प्राधिकरणले बानेश्वर, चपलीलगायतको स्थानमा ट्रान्सफर्मर नयाँ जडान गरेको छ । कतिपय स्थानमा लोड व्यवस्थापनमा त्यसले सहयोग पनि पुर्याएको छ । तर जुन रुपमा हुनुपर्ने हो त्यो भने हुन सकेको छैन ।

प्रसारण प्रणाली सुधारका लागि तत्काल ५ अर्ब आवश्यक

राजधानीको प्रसारण प्रणाली सुधारका लागि मात्रै तत्काल ५ अर्ब रकम आवश्यक पर्ने प्राधिकरणको अनौपचारिक अध्ययनले देखाएको छ । तर स्थान अभाव, जग्गा प्राप्तिमा रहने समस्या तथा स्थानीयको असहयोगी व्यवहारका कारण पनि आशातित प्रगति हुन सकेको छैन ।

पिक आवरको माग ३३० मेगावाट

राजधानीमा साँझको समय ३३० मेगावाटको हाराहारीमा विद्युत् माग हुने गरेको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि खाना पकाउने ग्याँस विस्थापन गर्न अग्रसर हुने प्राधिकरणको भनाइ छ । खाना पकाउने ग्याँस विस्थापन गरेर इन्डक्सन चुलो चलाउनका लागि पनि राजधानीको सम्पूर्ण वितरण प्रणालीमा सुधार ल्याउनु जरुरी छ । विद्यमान वितरण प्रणालीमा नै इन्डक्सन चुलो चलाउन थालियो भने अधिकाशं ट्रान्सफर्मर पड्कने र तार , केवल तथा कन्डक्टर समेत जल्ने देखिन्छ ।


पुष्प दुलाल