थिलिएको अर्थतन्त्रको भारी कसलाई बोकाउलान् ओलीले, यी छन् चर्चामा



काठमाडौं । नेपालको ४१ औं प्रधानमन्त्रीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन् । उनले विहिबारदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् ।

दुई वर्षअघि अविश्वासको प्रस्तावबाट सिंहदरबार छाडेका ओली पुनः दोस्रो इनिङ सुरु गर्न सिंहदरबार प्रबेश गरेका छन् । ओली नेतृत्वको सरकार गठन भएपछि राजनीतिक तथा आर्थिक क्षेत्रमा चर्चामा आएको विषय हो अर्थमन्त्री ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले छाडेर गएको थिलिएको अर्धतन्त्रलाई ट्याकमा ल्याउनु अब बन्ने अर्थमन्त्रीको लागि त्यति सहज छैन । यस्तो कठिन परिस्थितिमा ओलीले अर्थतन्त्रको बागडोर कसलाई पुम्पन्छन् भन्ने चर्चा हुनु स्वभाबिक हो ।

एमाले स्रोतहरुकाअनुसार अर्थमन्त्रीका लागि एमाले महासचिव समेत रहेका इश्वर पोखरेलले समेत दावी गरेका छन् । तर उनलाई अर्थमन्त्री भन्दा पनि अरु नै कुनै मन्त्रालय जिम्मा दिने तयारी रहेको बुझिएको छ ।

डा खतिवडालाई अर्थमन्त्री बनाए ६ महिना पछि कुन बाटोबाट संसद सदस्य बनाउने भन्नेमा मार्ग प्रशस्त नभएका कारण उनको सम्भावना कम रहेको हो ।

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे पनि अर्थमन्त्रीको प्रबल दावेदार रहेका छन् । नेपालको अर्थतन्त्रलाई चलायमान बनाएको, सबैलाई मिलाएर जाने क्षमता राख्ने भएकाले व्यूरोक्रेसीदेखि गठबन्धनको साझेदार माओवादी केन्द्रको रोजगाईमा समेत पाण्डे नै रहेका छन् ।

अर्थतन्त्रको जानकार नभएपनि सबैलाई मिलाएर जान सक्ने र सकारात्मक प्रभाव विस्तार गर्न सक्ने क्षमता पाण्डेमा रहेको भन्दै उनको पक्षमा एमाले र माओवादी केन्द्रका धेरै नेता रहेका छन् । तर उनी एमाले भित्र ओलीका सधैका प्रतिपक्ष माधव नेपाल र भलनाथ खनालका खास मान्छे भएकाले उनलाई ओलीले अर्थमन्त्री बनाइहाल्न् भन्ने अवस्था भने रहेको छैन ।

यस्तै अर्थमन्त्रीमा चर्चामा रहेका अर्का नेता हुन् रविन्द्र अधिकारी । तत्कालीन व्यवस्थापिका संसद्को विकास समितिको सभापति भएर राजनीतिक, आर्थिक तथा भौतिक पूर्वाधारको क्षेत्रमा सकारात्मक प्रभाव पारेका अधिकारीलाई अर्थमन्त्री बनाउँदा उपयुक्त हुने सल्लाह ओलीलाई दिइएको छ । त्यसो त एमाले उपाध्यक्ष वामदेव गौतमको जोड पनि अधिकारी अर्थमन्त्री भइदिए राम्रो हुन्छ भन्ने रहेको छ ।

स्थानीय तह, प्रदेश र संघीय सरकारलाई राम्रोसँग ड्राइभ गर्न सक्ने क्षमता अधिकारीमा रहेको भन्दै उनको पक्षमा पनि सकारात्मक माहौल निर्माण भइरहेको छ ।

यस्तै अर्थमन्त्रीमा पूर्व अर्थमन्त्री विष्णु पौडेल पनि पुन अर्थमन्त्रालय हाँक्न लालायित छन् । त्यसो त एमाले भित्र ओलीका खास मान्छेका रुपमा प्रचारित पौडेललाई नै अर्थमन्त्री बनाउनुपर्ने र विगतमा सिकेको ज्ञानलाई उपयोग गर्नुपर्ने धारणा राख्नेको कमी छैन । अर्थतन्त्रको विषयमा जानकारी नभएका पौडेललाई भन्दा अरु कुनै नेतालाई नै अर्थतन्त्रको कमाण्ड सम्हाल्न दिनुपर्ने एमालेका केही नेताहरुको धारणा छ ।

व्यवस्थापिका संसद्को सदस्य नभएपनि अल्पकालीन रुपमा अर्थमन्त्री बनाउने भन्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडालाई पनि अगाडि सार्न सकिने झिनो प्रस्ताव राजनीतिक बजारमा देखिएको छ ।

तर, यो सम्भावना भने असाध्यै कम रहेको छ । हाल डा खतिवडालाई अर्थमन्त्री बनाए ६ महिना पछि कुन बाटोबाट संसद सदस्य बनाउने भन्नेमा मार्ग प्रशस्त नभएका कारण उनको सम्भावना कम रहेको हो ।

त्यसो त देश संघीय संरचनामा प्रवेश गरेको, अर्थतन्त्रका आयामहरुको विस्तार, प्रदेश सरकारलाई बलियो बनाउनु पर्ने र अर्थतन्त्रलाई सबल बनाउन सक्ने क्षमता भएको व्यक्तिलाई नै आर्थिक प्रशासनको बागडोर सम्हाल्न दिनुपर्ने भनाइ पनि एमाले र माओवादी भित्र उठेका कारण अहिल्यै यही व्यक्ति अर्थमन्त्री बन्लान् भनेर कठिन हुन्छ ।

सरकारको आर्थिक तथा भौतिक विकासको रणनीति बनाउन एमाले उपाध्यक्ष वामदेव गौतम नेतृत्वको कार्यदलले प्रतिवेदन तयार पारिसकेको छ । सो कार्यदलमा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुन, डा खतिवडा, योजना आयोगकै पूर्व उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठ लगायत सदस्य छन् ।

सो समितिले केही दिन भित्रै प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । सोही प्रतिवेदनका आधारमा सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्यक्रम, नीति तथा योजना सार्वजनिक गर्ने र कार्यान्वयन गर्ने जनाएको छ ।

यदी यी नाम बाहेक अर्को ब्यक्ति अर्थमन्त्रीको रुपमा आएपनि नेपाली राजनीतिक वृत्तमा नौलो भने हुने छैन ।


क्लिकमान्डु