३२ एयरलाइन्सबाट बक्यौता तिर्न अटेर



काठमाडौंं । विगतमा सञ्चालनमा रहेका तर हाल बन्द अवस्थामा रहेका ३२ स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीले ११ करोड ३९ लाख ६४ हजार ९७३ रकम तिर्न अटेर गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार रकम तिर्न अटेर गर्ने वायुसेवा कम्पनीलाई ताकेता गरिएको छ ।

विमानस्थल कार्यालयले बक्यौता रकम उठाउन तहसिल कार्यालयलाई अनुरोध गरेको जनाएको छ । विमानस्थल कार्यालयका अनुसार अष्ट्रियन एयरलाइन्सले ४३ हजार ६०० रुपैयाँ, बरमा एयरवेजले १ लाख ८६ हजार ८५० रुपैयाँ, लुफथान्सा एयरले १ लाख ६३ हजार ६४४ रुपैयाँ, गल्फ एयरले २७ लाख ८ हजार ७७७ रुपैयाँ बक्यौता रकम तिरेका छैनन् ।

यसैगरी, एयर सहाराले २४ लाख ७८ हजार १२६ रुपैयाँ, बहराइन एयरले २४ लाख ६३ हजार ३७१ रुपैयाँ, ओरियन्ट थाई एयरलाइन्सले ५ लाख ८९ हजार ८१३ रुपैयाँ, पाकिस्तान एयरलाइन्सले २६ लाख ८४ हजार २३८ रुपैयाँ, सिंगापुर एयरलाइन्स ५ लाख ५८ हजार १२८ रुपैयाँ, किंग फिसर एयरलाइन्सले १ करोड १५ लाख ९७ हजार ५६२ रुपैयाँ बक्यौता तिरेका छैनन् ।

यस्तै जिएमजी एयरलाइन्सले १ लाख ५९ हजार १०१ रुपैयाँ, युनाइटेड एयर एडिउफ ३ हजार ५३० रुपैयाँ, युनाइटेड एयरबेजले १ लाख ६ हजार ५५५ रुपैयाँ, तुई एयरलाइन्सले ९ लाख ५८ हजार ४९८ रुपैयाँ, हङकङ एक्सप्रेसले १९ लाख ६२ हजार ९७८ रुपैयाँ विमानस्थल प्रयोग गरेबापतका रकम तिरेका छैनन् ।
कार्यालयका अनुसार ¥याक एयरबेजले १ लाख ८३ हजार ७७२ रुपैयाँ, स्काइलाइन एयरबेजले ७ लाख ३३ हजार २८० बक्यौता रकम पनि तिरेका छैनन् ।

नेपाली एयरलाइन्स पनि उस्तै

विमानस्थल कार्यालयका अनुसार नेपाली एयरलाइन्स समेत बक्यौता रकम नतिर्ने सूचीमा रहेका छन् । सरकारी निकायलाई तिर्नुपर्ने रकम नतिरी अटेर गर्दै आएका ती वायु सेवा कम्पनी हाल धेरै जसो बन्द अवस्थामा छन् ।

कार्यालयका अनुसार एयर नेपालले ७८ हजार ८९७ रुपैयाँ, एयर काष्ठमण्डपले ३ लाख २९ हजार २८४ रुपैया, अल्पाइन एयरले ७२ हजार ७२८ रुपैयाँ, मकालु एयरले ९४ हजार २१८रुपैयाँ, कर्णाली एयरले १६ लाख ६४ हजार ५६रुपैयाँ, सांग्रिला एयरले २ लाख ३७ हजार ९४४ रुपैयाँ, अल्टिच्यूड एयरले ३ लाख २९ हजार ९४५ र माउण्टेन एयरले रु ५२ हजार २८१ रुपैयाँ बक्यौता रकम तिर्न बाँकी छ ।

यस्तै, नेपाल एयरबेजले ११ लाख ७९ हजार ३२० रुपैयाँ, नेकोन एयर अन्तरराष्ट्रियले ६२ लाख ८२ हजार ३२२ रुपैयाँ, नेकोन एयर आन्तरिकले ४ करोड १० लाख २ हजार ७३० रुपैयाँ, हिमाल हेलिकप्टरले ६१ हजार ५१८ रुपैयाँ, कस्मिक एयरले ३ करोड ३३ लाख १२ हजार ९०६ रुपैयाँ, गरुड एयरले २७ हजार ४४०रुपैयाँ, गोरखा एयरलाइन्सले ६ लाख ५७ हजार ५४५ रुपैयाँ बक्यौता तिर्न अटेर गर्दै आएका छन् ।

सञ्चालनमा रहेकाले समेत तिरेनन्

विमानस्थल कार्यालयका महाप्रबन्धक देवानन्द उपाध्यायका अनुसार हाल सञ्चालनमा रहेका एयरलायन्सले ६६ करोड ३९ लाख ४६ हजार ३०८ रुपैयाँ तिर्न अटेर गरेका छन् ।

सरकारी कार्यालय तथा संघसंस्थाले समेत ५५ करोड १२ लाख २१ हजार ८१६ रुपैया तिरेका छैनन् । यस्तै, सञ्चालनमा नरहेका संघ/संस्था/फर्मको २ करोड ९७ लाख ५७ हजार ५१८ रुपैयाँ र सञ्चालनमा रहेका संस्थाको १२ करोड ४५ लाख ८३ हजार ६०३ रुपैयाँ बक्यौता रकम देखिएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालय, नेपाल वायु सेवा निगम कार्यालयले समेत बाँकी रकम तिर्न अटेर गरेका छन् । विमानस्थल कार्यालयका अनुसार भन्सार कार्यालयले ५५ करोड १२ लाख २१ हजार ८१६ रुपैयाँ र निगमले ३२ करोड २१ लाख ९ हजार ५०० रुपैयाँ तिरेका छैनन् ।

यी दुई सरकारी निकायबाट मात्रै विमानस्थललाई ८७ करोड ३३ लाख ३१ हजार ४०९ रुपैयाँ बक्यौता रकम प्राप्त हुन बाँकी छ । निगमले समय तालिका बनाएर बक्यौता रकम तिर्ने प्रतिबद्धता जनाए पनि भन्सार कार्यालयले भने विभिन्न बहानामा रकम नतिरेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थल कार्यालयले सञ्चालनमा नरहेका वायुसेवा कम्पनी र संघसंस्थाको रकम असुलीको लागि विमानस्थल कार्यालयले प्रक्रिया शुरु गरेको उपाध्यायले जानकारी दिए ।

बक्यौता उठाउन केन्द्रीय तहसिलको कार्यालयले प्रक्रिया अगाडि बढाएको छ ।

छुट दिन सकिँदैन – महानिर्देशक

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले बक्यौता रकम असुलउपर गर्ने प्रक्रिया शुरु भएको जानकारी दिए ।

तिर्न अटेर गर्ने वायुसेवा कम्पनीलाई ताकेता गरिएको जानकारी दिँदै उनले भने– ‘अटेर गर्नेलाई सरकारी बाँकी बक्यौता असुलउपर बमोजिम रकम उठाइनेछ । कोही कसैलाई छुट दिइँदैन । सञ्चालनमा रहेका वायुसेवा कम्पनीले बक्यौता तिर्न अटेर गरे सेवा सञ्चालनमा समेत रोक लगाइन्छ ।’

उनले बक्यौता उठाउनका लागि केही समय पहिले छानबिन समिति गठन गरेको र समितिको कामका आधारका केही वायुसेवा कम्पनी सम्पर्कमा आएको बताए । प्राधिकरण र विमानस्थल कार्यालयले ताकेता गरेपछि एयर एसियाले ५ करोड र अग्नि एयरले ७० लाख रुपैयाँ तिरेको छ ।

विमानस्थलमा विमान अवतरण, पार्किङ गर्दा विमान कम्पनीले शुल्क तिर्नुपर्ने हुन्छ । तर नियमित उडानमा रहेका विमान कम्पनीले पनि शुल्क तिर्न अटेर गरेका छन् ।

काठमाडौंमा रहेका विभिन्न विदेशी कम्पनीको टिकट बिक्रीको जिम्मा लिएका कम्पनीले रकम तिर्न अटेर गरेपछि सम्बन्धित विमान कम्पनीको केन्द्रीय कार्यालय रहेका मुलुकमै पत्र पठाइएको महानिर्देशक गौतमले जानकारी दिए ।

‘ठूलो बक्यौता उठाउनुपर्ने वायुसेवा कम्पनीलाई सम्बन्धित मुलुकमै पत्र पठाइएको छ, केही कम्पनीले रकम तिर्ने प्रतिबद्धता जनाएका छन् ’उनले भने ।


क्लिकमान्डु