शोधानान्तर ९ अर्ब रुपैयाँले घाटामा



काठमाडौं । देशको अर्थतन्त्रका सबै परिसूचक नकारात्मक भएका छन् ।

राष्ट्र बैंकले सार्वजनिक गरेको ५ महिनाको तथ्यांकले शोधानान्तर घाटा ९ अर्बमा पुगेको देखाएको छ ।

देशमा भित्रने भन्दा बाहिरिने रकम ९ अर्ब रुपैयाँले बढी भएपछि शोधाान्तर घाटामा गएको हो । देशको चालु खाता घाटा ४१ अर्ब रुपैयाँले घाटामा रहेको छ ।

शोधानान्तर घाटा बढ्दै गएपछि यसको वित्तीय प्रणालीमा परेको छ । जसले गर्दा ब्याजदरमा अस्वभाविक बृद्धि देखिएको छ । राष्ट्र बैंकले सरकारी खर्च बढेपछि वित्तीय प्रणालीमा निक्षेप थपिने बताएपनि शोधानान्तर घाटाले यसलाई सजिलो नबनाउने देखिएको छ ।

५ महिनाको तथ्यांक अनुसार ४ खर्बको घाटाको ब्यापार भइसकेको छ । ५ महिनामा ३ अर्ब रुपैयाँको निर्यात भएको छ । ४ खर्ब ३१ अर्ब रुपैयाँको आयात भएको छ ।

देशको अर्थतन्त्रमा टेको रहेको रेमिटेन्सको बृद्धिदर भने घटेको छ । रेमिटेन्सको आय ०.८ प्रतिशतले घटेको छ । ५ महिनामा २ खर्ब ८५ अर्ब रुपैयाँको रेमिटेन्स आएको छ । विदेश जानको संख्यामा कमी आएसँगै विदेश रेमिटेन्सको बृद्धिदर घटेको हो ।

राष्ट्र बैंकले भने आर्थिक गतिविधि सहि दिशामा गएको जनाएको छ । उद्योगको क्षमता उपयोगमा भएको विस्तार, कच्चा पदार्थको आयातमा भएको वृद्धि, पर्यटक आगमनमा सुधार र पुनरनिर्माण कार्यले लिएको गतिले यसलाई राष्ट्र बैंकले प्रतिवेदनमा उल्लेख छ ।

कृषि क्षेत्रको वृद्धिले समग्र आर्थिक वृद्धिको आगामी परिदृष्य निर्धारण गर्नेछ । कृषि उत्पादन मुलतः मनसुनमा निर्भर रहदैं आएको छ ।

कृषि विकास मन्त्रालयको प्रारम्भिक प्रतिवेदन अनुसार पर्याप्त वर्षाका कारण मकैको उत्पादनमा उल्लेख्य वृद्धि भएको छ भने बाढीले भूक्षेत्र कटान गरेका कारण धानको उत्पादनमा केही ह्रास आएको छ । हिउँदे वर्षामा निर्भर रहने हिउँदे वाली उत्पादनको परिदृष्य अझै स्पष्ट भईसकेको छैन । तसर्थ, चालू आर्थिक वर्षको आर्थिक वृद्धिको गति कृषिक्षेत्रको उत्पादनले निर्धारण गर्ने देखिने राष्ट्र बैंकले प्रतिवेदनमा उल्लेख गरेको छ ।

राष्ट्र बैंकले शोधानान्तर घाटामा गएपनि देशको वैदेशिक मुद्रा संचिती सुविधाजनक अवस्थामा रहेकाले वाह्य क्षेत्र स्थायित्व सबल अवस्थामै रहेको जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष मुल्यबृद्धिको दर समेत बढेको छ । अघिल्लो वर्ष ३.८ प्रतिशतमा रहेको मुल्यबृद्धि यो वर्ष ४.८ प्रतिशतमा रहेको छ ।


क्लिकमान्डु