आयातित फूलमा निर्भर रहेर व्यवसाय गर्नुपर्ने बाध्यता



इनरुवा । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न ठाउँमा पर्याप्त मात्रामा फूलको उत्पादन नहुँदा भारतबाट विभिन्न प्रजातिका फूल आयात गरी व्यवसाय सञ्चालन गर्न फूल व्यवसायी बाध्य छन् । फूलको व्यावसायिक खेती गर्न नसक्दा नेपाली अझै पनि भारतीय फूलको भर पर्नु परेको छ ।

बिहेबारी गर्ने बेला, कसैलाई सम्मान तथा सत्कार गर्नुपर्ने होस् या घर सजाउनका लागि फूल आवश्यक पर्दछ । विभिन्न समयमा फूल आवश्यक हुन थालेपछि खरिद गर्ने उपभोक्तासमेत बढ्दै गएका छन् । तर फूलको माग बढे पनि फूल व्यवसायको प्रवद्र्धन गर्न नसक्दा फूलको कारोबारमा नेपाल भारतनिर्भर हुनुपरेको छ ।

सुनसरीको धरानमा यस वर्ष पनि फूल प्रवद्र्धनका लागि दोस्रो पुष्प मेलाको आयोजना गरिएको छ । गत पुस २७ गतेदेखि शुरु भएको मेलामा दैनिक जसो पाँच लाख रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको छ । तर स्थानीय उत्पादन हुन नसक्दा भारतबाट फूल ल्याएर बिक्री–वितरण गर्नुपर्ने बाध्यता रहेको इलामका फूल व्यवसायी मनोज गोलेको भनाइ छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालको तथ्याङ्कअनुसार प्रत्येक वर्ष ५० प्रतिशतभन्दा बढी फूल तथा शत्प्रतिशत फूलका बीउ बिजन भारतबाट आयात हुने गरेका छन् । भारतबाट ल्याइएका फूलको बिक्रीले व्यवसायीलाई फाइदा भएपनि उपभोक्ता भने मारमा परेको धरानका फूल व्यवसायी राजेशकुमार राईले बताए ।

फूल व्यवसायलाई कृषि उत्पादनसँग जोड्न सके स्थानीय स्तरमा उत्पादन भएका फूल भारतलगायत अन्य देशमा निर्यात गर्न सकिने सम्भावना छ । तर राज्यले फूल उत्पादन तथा व्यवसायमा प्रवद्र्धनात्मक कार्यक्रमहरु गर्न आवश्यक रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालका सुनसरी सचिव प्रेम पराजुलीले बताए।

नेपालको कूल आम्दानीमा ० दशमलव ०५ प्रतिशत योगदान गर्दै आएको फूल व्यवसायलाई प्रवद्र्धन गर्दै नेपाली उत्पादनलाई अन्य मुलुकमा निर्यात हुने गरी उत्पादन बढाउन आवश्यक छ । नत्र आफ्नै ठाउँमा उत्पादन हुने फूल अन्य मुलुकबाट ल्याउनु पर्दा मुलुकको आर्थिक वृद्धि नहुनेमा कुनै दुई मत देखिँदैन । त्यसैले यस विषयमा सरोकारवाला निकायले सोच्नुपर्ने बेला आएको छ ।


क्लिकमान्डु