दक्षिण एसियाली अर्थतन्त्रमा हस्तकलाको भूमिका र चुनौति बिषयमा छलफल



काठमाडौं । काठमाडौंमा जारी दक्षिण एसियाली हस्तकला महोत्सवको दोस्रो दिन दक्षिण एसियाका विज्ञ तथा उद्यमीहरुले यस क्षेत्रका साझा समस्याबारे छलफल गर्दै सिकाईहरु आदानप्रदान गरेका छन् ।

आज शनिबारको कार्यक्रममा गरिबि निवारण कोषका कार्यकारी निर्देशक नहकुल केसी र राष्ट्रिय योजना आयोगकी पुर्व सदस्य डा. बिमला राईलगायतले ग्रामीण अर्थतन्त्रमा हस्तकला उद्योगले कसरी भूमिका खेल्न सक्छ भन्नेमा चर्चा गरे ।

‘हस्तकला उद्योगको विकासले रोजगारीको अवसरहरु सृजना गर्ने र युवाहरुलाई जीविकोपार्जनका विविध र उपायहरुको खोजी गर्न उत्प्रेरित गर्छ ।’ कार्यक्रममा बोल्दै कोषका कार्यकारी निर्देशक केसीले भने ।

यस्तै इन्दुज हेरिटेज फाउन्डेसन पाकिस्तानका अध्यक्ष सिद्धिका मलिकले समान संस्कृति भएको दक्षिण एसियाली क्षेत्रमा हस्तकला सामग्रीहरुको अन्तरदेशीय व्यापारमा अझै समस्या रहेको बताईन ।

यस्तै एसियन हेरिटेज फाउन्डेशन, भारतका कार्यकारी निर्देशक अंकुश सेठले कला उद्योगले दक्षिण एसियाली क्षेत्रको अर्थतन्त्रलाई पुनर्ताजगी गर्नसक्ने सम्भावना बोकेको चर्चा गरे ।

कार्यक्रमको अर्को सत्रमा बोल्दै लैङ्गिक तथा सामाजिक अर्थशास्त्री डा. बिना प्रधानले ग्रामीण महिलाहरुलाई अझै समस्या रहेको बताउँदै महिला कालिगढहरुलाई सशक्तिकरण गर्न ठोस कार्यक्रमहरु ल्याउनुपर्ने बताइन् ।

महिला उद्यमी महासंघ नेपालकी रीता सिँहाले सीप भएर पनि आधुनिक प्रविधि नभएर हस्तकलाको अपेक्षित प्रवद्र्धन हुन नसकेको बताइन । उनले अव प्रविधि विकासमा ध्यान दिनुपर्ने बताइन ।

महोत्सवमा नेपालका १०० भन्दा बढी कालिगढसहित भारतीय र पाकिस्तानी कालीगढहरूले बनाएका हस्तकलाहरू प्रदर्शन भइरहेको छ । यो महोत्सव आइतबार सकिने छ ।


क्लिकमान्डु