बाँसखर्कको सुन्तला पश्चिमाञ्चलकै उत्कृष्ट



पर्वत । जलजला गाउँपालिका–१ बाँसखर्कमा उत्पादन भएका सुन्तला पश्चिमाञ्चलकै उत्कृष्ट ठहरिएका छन् ।

हालै पोखरामा भएको पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गत विभिन्न जिल्लाका सुन्तलाको परीक्षणमा यहाँको सुन्तला उत्कृष्ट ठहरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

अन्य जिल्लाका सुन्तलाभन्दा सबैभन्दा रसिलो र स्वादिलो रहेको कृषि प्राविधिकको ल्याब परीक्षणबाट पत्ता लागेको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए ।

कृषि विकास मन्त्रालय, क्षेत्रीय कृषि निर्देशनालय, पोस्ट हार्भेस्ट निर्देशनालय लगायतका निकायले संयुक्त रुपमा सुन्तलाको परीक्षण गरेका थिए ।

गत आइतबार गरिएको परीक्षणमा पर्वतको सुन्तला उत्कृष्ट रहेको ठहर गरेको रेग्मीले बताए । जिल्लामा अन्य ठाउँको भन्दा बाँसखर्कको सुन्तला स्वादिलो देखिएको रेग्मीले बताए ।

उक्त परीक्षण शिविरमा पर्वतलगायत स्याङ्जा, कास्की, म्याग्दी, बागलुङ, लमजुङ, तनहुँ, गोर्खा लगायतका जिल्लाका किसानका सुन्तलाको ल्याब परीक्षण गरिएको हो ।

उपयुक्त भू–बनोट, उत्तरी मोहडा फर्किएको क्षेत्र, बगैँचा सुधार, पर्याप्त मल र सिँचाइको व्यवस्थाका कारण बाँसखर्कको सुन्तला स्वादिलो हुने गरेको कृषि प्राविधिकले बताएका छन् । बाँसखर्कको सुन्तलाको दानाको आकार पनि ठूलो हुने गरेको छ ।

यो गाउँको मुख्य बाली नै सुन्तला हो । मगरको बाहुल्यता रहेको बाँसखर्कका २६१ घरधुरीमध्ये २०० भन्दा बढीले व्यावसायिक रूपमै सुन्तला खेती गर्दै आएका छन् । गाउँको मुख्य बालीका रुपमा सुन्तला रहेको छ । अन्नबाली छाडेर यहाँका किसान विगत एक दशकदेखि सुन्तलामा निर्भर हुन थालेका हुन् ।

बोटभरि लटरम्मै पाकेका सुन्तलाले मंसिरदेखि माघको अत्यसम्म यो गाउँ पहेँलपुर देखिने गरेको छ । यहाँको सुन्तला बजार पठाउन अझै योग्य भइसकेका छैनन्, पुस अन्तिम सातादेखि माघ अन्तिमसम्म मात्रै बिक्री हुने गरेको स्थानीय कृषक जगतबहादुर खत्रीले जानकारी दिए।

पहिला बाँसका घारी मात्रै हुने भएकाले बाँसखर्क नामाकरण गरिएको हो ।

सुन्तलाको आम्दानीले बेनी, बाग्लुङ, कुस्मा, पोखरा, चितवन, काठमाडौँ लगायतका शहरमा घरघडेरी जोडेका परिवार पनि यो गाउँमा रहेका छन् । सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा सुन्तला उत्पादन तथा बिक्री गर्न ‘बजारमारे सुन्तला उत्पादन सहकारी’ समेत स्थापना गरिएको छ । गाउँभरिका सुन्तलाको बिक्री सहकारीमार्फत नै गर्ने गरिएको छ ।

विसं २०६९ मा स्थापना भएको सहकारीले घरैबाट सुन्तला टिपेर राजधानी काठमाडौँदेखि चितवन, पोखरासम्मका बजार पु¥याउने गरेको छ । उत्तरी मोहडामा फैलिएर ९०० देखि एक हजार ३०० मिटर उचाइको यो गाउँका किसानले हत्तपत्त टिप्दैनन् ।

पछिल्लो दुई वर्षयता बाँसखर्कलाई ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ अन्तर्गत सुन्तला पकेट क्षेत्र घोषणा भएपछि किसानलाई रोग कीराको व्यवस्थापन, सुत्तला टिप्ने मेशिन, कलमी बिरुवा उत्पादन लगायतमा सहुलियत र सहज भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।


क्लिकमान्डु