आब्बुई महंगी ! चुनाबपछि छोइनसक्नु भयो बजार भाउ




काठमाडौं । पछिल्लो समय विकास निर्माणका सामाग्री सहित दैनिक उपभोग्य बस्तुको मूल्य असाध्यै बढेको छ । सिमेन्ट, रड, इटा, बालुवा जस्ता निर्माण सामाग्रीसँगै चामल, दुध, नुन, मैदा जस्ता दैनिक उपभोग्य बस्तुको मूल्य पनि आकाशिएको छ ।

सरकारले चालु आर्थिक बर्षमा स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेको छ । चुनाबको समयदेखि नै बढ्न थालेको बजार भाऊँ चुनाब सकिएसँगै आकाशिएको छ ।

मंसिरयता जिरा मसिनो चामल ६५ रुपैयाँ प्रतिकेजीबाट बढेर ७० रुपैयाँमा पुगेको न्यू सुस्मिता स्टोरीकी व्यापारी कल्पना चौधरीले बताइन् । खुद्रा पसलमा नै सोना मन्सुली चामल ३५ रुपैयाँ प्रतिकेजीबाट बढेर अहिले प्रतिकेजी ४० रुपैयाँमा विक्री भैरहेको छ ।

‘१ हजार २ सय पर्ने सस्तो चामल त १ हजार ३ सय ६० रुपैयाँ पुगिसकेको छ,’ चौधरी भन्छिन् ।

यस्तै मैदाको मूल्यमा ८ रुपैयाँ वृद्धि भएको छ । मंसिरअघि ४० रुपैयाँ प्रतिकेजीमा विक्री हुने गरेको मैदा अहिले ४८ रुपैयाँ प्रतिकेजीमा विक्री हुन थालेको हो ।

यस्तै दैनिक प्रयोग हुने दुध र नुनको मूल्यमा पनि वृद्धि भएको छ । ३२ रुपैयाँ प्याकेट विक्री हुने गरेको सिताराम दुध अहिले ३५ रुपैयाँ पुगेको छ । यस्तै डिडिसीको दुध ३५ रुपैयाँबाट बढेर ४० रुपैयाँ प्रतिप्याकेटमा किन्न उपभोक्ताहरु बाध्य भएका छन् ।

केही समय अगाडी प्रतिप्याकेट २० रुपैयाँमा किन्न पाइने नूनको मूल्य पनि बढेको छ । नुनको मूल्य प्रतिप्याकेट ४ रुपैयाँ वृद्धि भएको हो । अहिले बजारमा नून २४ रुपैयाँ प्याकेट पुगिसकेको छ ।

आयातकर्ताले मूल्य बढाएको कारण चामलमा मूल्य बृद्धि भएको खुद्रा ब्यापार संघका पूर्वअध्यक्ष पवित्र बज्राचार्यले जानकारी दिए ।

‘आयातकर्ताले नै एक केजीमा २ देखि ४ रुपैयाँ मूल्य बढाएका छन्, बंगलादेश र श्रीलंकाले चामको माग अधिक गरेका कारण भारतले मूल्य बढाएको भनिएको छ, कारण जे भए पनि नेपाली बजारमा अहिले चामलको मूल्य बढेको छ,’ बज्राचार्यले क्लिकमाण्डूसँग भने ।

निजी क्षेत्रका ब्यापारीहरुले चिनीको मूल्य घटाए पनि सरकारी निकाय साल्ट ट्रेडिङले मूल्य नघटाउँदा खुद्रा ब्यापारीलाई फाइदा भएको छ । निजी क्षेत्रका ब्यापारीहरुले एकैचोटी ठूलो मात्रामा चिनी आयात गर्दा सस्तो परेकोले उनीहरुले मूल्य घटाएको हुन सक्ने भन्दै आफूहरु त्यसो गर्न नसकिने साल्ट ट्रेडिङका अधिकारीहरु बताउँछन् ।

‘बजारमा अरुले श्रीलंका र बंगलादेशबाट ट्रकका ट्रक चिनी ल्याएर सस्तोमा बेचे भन्दैमा हामीले सस्तोमा बेचेर स्टक सक्काउने कुरा हुँदैन, हाम्रो स्टक सकिनासाथ बजारमा चिनीको मूल्य बढ्छ। त्यसैले स्टक मेन्टेन गर्ने गरी जानुपर्ने हुँदा मूल्य नघटाएका हौं,’ साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले भने ।


क्लिकमान्डु