कामसँगै परिवारलाई यसरी सम्हाल्छन् महिला
काठमाडौं । पछिल्लो समय महिलाको भूमिका एउटा गृहिणीको रुपमा मात्र सिमित छैन । महिला पनि पुरुष बराबर बाहिरका काममा पनि उत्तिकै सक्रिय हुँदै आएका छन् ।
कुनै समय यस्तो पनि हुने गर्थ्यो कि महिलालाई घरको काम मात्र सम्हाल्ने र घरबाट बाहिर काम गर्नु अस्वभाविक मानिने गर्थ्यो । तर, अहिले त्यो परिस्थिति र मान्यता परिवर्तन भएको देखिन थालेको छ । आजभोलि महिलाहरु घरको काम सकेर बाहिर पनि आफ्नो कामलाई सम्हाल्ने र साथै छोराछोरीको पनि हेरचाहमा उत्तिकै ध्यान राख्न सक्ष्यम भएका छन् ।
आज हामी एउटा विवाहित महिलाले कसरी घरको कामसँगै बाहिरको कामलाई पनि निरन्तरता दिएर घर र अफिस दुबैलाई सम्हाल्न सकेका छन् भन्न विषयमा केही उदाहरणीय व्यक्तिहरुको बारेमा जानकारी दिदैछौं ।
प्रहरी प्राधान कार्यालयमा कार्यरत असइ प्रेमा कुँबर परिवार र जागिर एकसाथ धानिरहेकी छन् । झण्डै १७ वर्षदेखी नेपाल प्रहरीमा कार्यरत उनी आफ्नो घर परिवारसँगै आफ्नो कामलाई पनि पूर्णरुपमा निरन्तरता दिँदै अघि बढी रहेकीछन् ।
बिहान ५ बजे उठेर खाना बनाउने, कोठा सरसफाइ गर्नेदेखि छोरीलाई स्कुल पुराउने कामसमेत आफै गर्दै आएकी उनी प्रत्येक दिन बिहान १० बजे कार्यालय पुग्ने गर्छिन् ।
२०५७ सालदेखि प्रहरी क्षेत्रमा आफ्नो कामको सुरुवात गरेकी उनले सहकर्मी सइसँग प्रेम विवाह गरेकी हुन् । विवाहपछि २ वर्षकी छोरीलाई छाडेर यूएन मिसनको लागि सुडानसमेत उनी जानुपरेको थियो । तर, घरपरिवार सबैले साथ दिएका कारण कामसँगै घर सम्हाल्न सजिलो भएको कुवरको भनाइ छ ।
‘एरपोर्टमा ड्यूटी पर्दा बिहान ४ बजे पुग्नुपर्थ्यो, कहिलेकाँही नाइट सिफ्ट पनि गर्नुपर्थ्यो, त्यस्तो समयमा श्रीमानले नै घरको सबै काम सम्हाल्ने भएकोले सजिलो अनुभूत गर्न पाएकी छु,’ कुँबर भन्छिन् ।
उनी भखरै सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो र दोस्रो चरणको चुनावमा बुथ कमान्डरका रुपमा तनहु र धनुषा पनि पुगेकी थिइन् ।
उनले अहिलेसम्म कामकै दौरान यूगान्डा, इथियोपिया र सुडान भ्रमण गरिसकेकी छन् । पछिल्लो समय भने हेडक्वाटरमा काम गर्दा १० देखि ५ बजेसम्म मात्र बस्नु पर्ने र सार्वजनिक छुटी पनि हुने भएकोले परिवारलाई समय दिन सजिलो भएको उनी बताउछिन् ।
प्रभु बैंकको केन्द्रीय कार्यालय बबरमहलमा कार्यरत मिरा थापा पनि यस्तै महिला हुन् । उनले यस क्षेत्रमा काम गर्न थालेको १० वर्ष पुगिसकेको छ । विवाहपछि बैंकमा काम सुरु गरेकी उनी आफ्नो छोरालाई मन्टेश्वरीमा छोडेर अफिस निस्कन्छिन् । बिहान ६ बजे उठेर सबै ¬(४ जनाको परिवार) लाई खाना बनाउनेदेखि छोराछोरीलाई खाजासमेत तयार पारेर स्कूल पुर्याउने उनकै काम छ ।
‘लुगा धुने काम म राति नै सक्छु र बिहानको लागि तरकारी पनि रातीनै काटेर राख्ने गर्छु, त्यसले गर्दा बिहान खाना बनाउन ढिलो हुन्न । कहिले काही नभ्याएको समय श्रीमान आफैले पनि खाना बनाउने काम गर्नु हुन्छ । हामी सबै काम मिलेर गछौँ,’ थापा भन्छिन् ।
फुर्सदिलो समयमा भने आफ्नो सुन्दरतालाई निरन्तरता दिन पार्लन पनि जाने गरेको उनले बताइन् ।
एउटा परिवारलाई सन्तुलित बनाएर लानको लागि फ्यामली प्लानिङको पनि निकै ठूलो भूमिका हुने गरेको उनी बताउछिन् । यस विषयमा सबैले ध्यान पुर्याउनु पर्ने उनको भनाइ छ ।
उनी आफुले पहिलो सन्तान विवाह गरेको ४ वर्षपछि भएको र दोस्रो सन्तान साढे ५ वर्ष पछि भएको हुनाले पनि आफ्नो कार्यमा धेरै समस्या नभएको उनको भनाइ छ ।
पुराना कुरा कोटाउँदै उनले भनिन् ‘छोराछोरी सानो हुनजेल मात्र गाह्रो हो, ५ वर्ष पछि त सजिलै हुदो रै छ । छोरा ३ महिनाको हुँदा तन्नामा बेरेर काममा जाने गर्थें, २ वर्षदेखि मन्टेश्वरी हाले, अहिले दुबै जना आफै स्कुल जान्छन् ।’
काठमाडौंकै बौद्धमा बुटिकमा काम गर्ने निर्मला राईको भनाइ पनि यस्तै छ । उनी त्यहाँ कपडा सिलाउने काम गर्छिन् । करिब ३ वर्षदेखि सिलाई बुनाइको काम गर्न थालेकी उनको २ छोरी छन् ।
श्रीमान बराइनमा कामको सिलसिलामा गएको बताउने उनी बिहानदेखि रातिसम्म उत्तिकै व्यस्त रहने गर्छिन् ।
बिहान साढे ५ बजे उठेर घर सरसफाइ गर्ने र छोरीहरुलाई स्कुल पुर्याएर पसल जाने गरेकी उनी राती साढे ८ बजेसम्म बुटिकमै काम गर्ने गर्छिन् ।
परिवारमा सँगै बहिनी ज्वाइहरु पनि बस्ने गरेकोले खासै ठूलो पारिवारिक समस्याहरु भोग्नु नपरेको बताउने उनी आफ्नो काम र घर परिवार सबैलाई आफै सम्हाल्दै आएकी छन् ।
सुरुमा मःम पसलमा काम गर्ने गरे पनि पछि पसल भाडामा लिएर बुटिक सञ्चालन गर्न थालेको उनले बताइन् ।
उनी भन्छिन् ‘परिवारमा कोही पनि छुटेर बसेका छैनन्, त्यसैले घर सम्हाल्न सजिलै भएको छ । समय नभएको बेला बहिनीले छोरीहरुको हेरचाह गरिदिन्छिन् ।’
नर्सिङ क्षेत्रमा आवद्ध जीना शर्मा एकल महिला हुन् । आफ्नो करियरको सुरुमा नेपालकै चर्चित अस्पतालमा काम गर्न पाएकी उनी विवाह पश्चात आफै खाना बनाउने गर्थिन् । केही समयपछि उनले छोरीलाई जन्म दिइन् ।
नर्सिङ पेसामा सुत्केरी बिदा ३ महिना भएपनि बिदा सकेपछि ३ महिनाकी छोरीलाई आफैसँग बोकेर जाने गर्थिन् उनी । यसरी घर परिवार र सानो नानीको साथमा नर्सिङ पेसालाई समेत निरन्तरता दिनुपर्दा उनले निकै समस्याहरुको सामना गर्नुपरेको थियो ।
नाइट डिउटीमा छोरी बोकेर नै रातभर उभिएर काम गर्नु परेको उनले सुनाइन् । यसरी सानी छोरीलाई बोकेर काम गर्न अस्पताल आएको भन्दै अस्पतालका सुपरभाइजरले उनलाई अस्पतालको कामबाट निस्कासन गरेका थिए ।
यसरी आफ्ना हरेक चुनौतिका बाबजुत आफ्नो कामलाई निरन्तरता दिएकी उनी त्यहाँबाट निस्कासित भएपछि केही समय बेरोजगार नै बस्नु परेको थियो ।
काठमाडौंमा बेरोजगारीसँगै जीवन चलाउन सम्भब थिएन । यसरी मुस्किल अवस्थाबाट जिवनयापन गरेकी जीनाको जीवनमा अर्को दुखद घटना घट्यो । छोरी ३ वर्षकी मात्र भएकी थिइन्, उनको श्रीमानको सडक दुर्घटनामा मृत्यू भयो ।
तर, उनलाई छोरीको जिम्मेवारीबाट पन्छिने अबसर थिएन र उनी यो चाहदैनथिन पनि । श्रीमानको मृत्यूपछि उनले छोरीलाई मन्टेश्वरीमा भर्ना गरिदिइन् ।
बिहानै उठेर खाना बनाउने र छोरीलाइ मन्टेश्वरी छाडी आफु कामको खोजीमा हिड्न थालेकी उनले भाग्यबस भक्तपुर क्यानसर अस्पतालमा काम गर्ने अवसर पाइन् । यसरी आफ्नो कामसँगै छोरी, घरलाई पनि सम्हाली रहेकी उनी अहिले आफ्ना आमा बुबासँग बस्दै आएकीछन् । हाल उनी ४ वर्षदेखी सोही अस्पतालमा काम गर्दै आएकी छन् ।