व्यापार घाटा चुलिँदा देशको भुक्तानी सन्तुलनमा देखियो असर



काठमाडौं । बढ्दो व्यापार घाटाले मुलुकको भुक्तानी सन्तुलन (देशभित्र भित्रिने र बाहिरिने रकमको अवस्था)लाई प्रत्यक्ष प्रभावित बनाएको छ ।

गत वर्षको कात्तिक महिनामा देशबाट बाहिरिने भन्दा देश भित्रिने रकम २१ अर्ब ९८ करोड रुपैयाँले बढी थियो । तर, चालू आर्थिक वर्षको कात्तिक महिनामा यस्तो रकम २ अर्ब ४० करोड रुपैयाँले मात्रै बढी भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार बढ्दो व्यापार घाटाले भुक्तानी सन्तुलनमा असर गरेको हो ।

चालू आर्थिक वर्षको कात्तिक महिनासम्ममा नेपालले २६ अर्ब ३५ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको छ । जुन गत वर्षकोभन्दा ७ प्रतिशतले बढी हो । तर, अघिल्लो वर्षको तुलनामा गत वर्ष भने यस्तो निर्यात १७ प्रतिशतले बढेको थियो ।

निर्यातबाट बढी आम्दानी गर्ने वस्तुहरु जुस, अलैंची, जिआई पाईप, उनी गलैंचा लगायतका वस्तुहरूको निर्यात घटेकाले निर्यातको वृद्धिदर पनि घटेको हो ।

तर यस अवधिमा आयात भने बढेर ३ खर्ब ३४ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा ८७.४ प्रतिशतले बढेको आयात यो वर्ष भने १० प्रतिशतले मात्रै बढेको हो ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, एम.एस. बिलेट, यातायातका साधन तथा पार्टपूर्जा लगायतका वस्तुको आयात बढेको छ भने कृषिजन्य उपकरण, विद्युतीय सामान, रासायनिक मल लगायतका वस्तुहरूको आयात घटेको छ ।

भन्सार नाकाका आधारमा बिरगञ्ज भन्सार र कृष्णनगर भन्सार नाकाहरूबाट भएको निर्यातमा कमी आए तापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।


पुष्प दुलाल