तरकारी र रक्सीले बढायो नेपालमा महंगी, विश्वभर महंगी बढ्यो



काठमाडौं । तरकारीको भाउ बढ्दा त्यसले समहग्र महंगीको सूचक बढाएको छ । राष्ट्र बैंकले आज सार्वजानिक गरेको गत कात्तिक महिनाको देशको आर्थिक स्थितिमा तरकारी र मदिराजन्य वस्तुका कारण महंगी बढाएको जनाएको छ ।

राष्ट्र बैंकका अनुसार २०७४ असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.१ प्रतिशत रहेको थियो । तर २०७४ कात्तिक महिनामा तरकारी, मदिराजन्य पेय पदार्थ लगायतमा भएको मूल्य वृद्धिले समग्र वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीतिमा केही वृद्धि भई ३.९ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८ प्रतिशत रहेको थियो ।

‘पछिल्ला महिनाहरुमा न्यूनस्तरमा रहेको मुद्रास्फीति २०७४ कात्तिक महिनामा केही बढेको छ, पछिल्लो समयमा विश्वका कतिपय देशहरुमा समेत मुद्रास्फीति बढ्ने प्रवृत्ति देखिएको छ,’ राष्ट्र बैंकले भनेको छ ।

वाह्य क्षेत्रतर्फ, निर्यातभन्दा आयातमा उच्च वृद्धिको अलावा विप्रषेण आप्रवाहमा समेत कमी आएकोले चालू खाता घाटामा गएको राष्ट्र बैंकले जनाएको छ । तथापि विदेशी विनिमय सञ्चिति पर्याप्त रहेकोले मुलुकको वाह्य क्षेत्रकोअवस्था मजबुत नै रहेको छ ।

त्यसैगरी, खाद्य मुद्रास्फीति समीक्षा अवधिमा खाद्य मुद्रास्फीति २.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति २.६ प्रतिशत रहेको थियो । गत वर्षको तुलनामा यस समूह अन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा २४.१ प्रतिशत र मसलाको मूल्यमा ५.५ प्रतिशतले कमी आएकोले समग्र खाद्य मुद्रास्फीति न्यून रहन गएको हो ।

तर, समीक्षा महिनाको तरकारीको मूल्य सूचकाङ्क गत महिनाको तुलनामा ९.६ प्रतिशतले वृद्धि भएको कारण समीक्षा महिनामा मात्र खाद्य मुद्रास्फीति १.३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, गैरखाद्यतर्फको मुद्रास्फीति ५.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ६.५ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण, हाउजिङ्ग तथा युटिलिटी, स्वास्थ्य लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा कम रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो ।

क्षेत्रगत उपभोक्ता मुद्रास्फीति क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति हिमालमा ५.४ प्रतिशत, पहाडमा ४.७ प्रतिशत, तराईमा ३.७ प्रतिशत र काठमाडौं उपत्यकामा ३.२ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा हिमाली क्षेत्र अन्तर्गत रहेको चन्दननाथ बजारकेन्द्र, जुम्लामा भएको उच्च मूल्य वृद्धिका कारणले तुलनात्मक रुपमा अन्य क्षेत्रको भन्दा हिमाली क्षेत्रको मूल्य वृद्धि अधिक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा ४.० प्रतिशत, पहाडमा ६.२ प्रतिशत, तराईमा ५.१ प्रतिशत र काठमाडौं उपत्यकामा ३.० प्रतिशत रहेको थियो ।

थोक मुद्रास्फीति समीक्षा अवधिमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति दर ०.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.१ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा थोक मूल्य अन्तर्गत कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क ०.३ प्रतिशतले घटेको र स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ४.१ प्रतिशत तथा आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क १.३ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क ६.२ प्रतिशत र स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ४.७ प्रतिशतले वृद्धि भएको थियो भने आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क १.६ प्रतिशतले घटेको थियो ।


पुष्प दुलाल