‘दातृ निकायको दबाबमा हचुवामै हानिदैछ स्मार्ट सिटीको गफ’




काठमाडौं । सरकरले आर्थिक बर्ष २०७२÷७३ को बजेटमा नेपालका ३ शहरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने घोषणा गरेको थियो । सरकारले बाराको निजगढ, कपिलबस्तुको लुम्बिनी र गोरखाको पालुङटारलाई स्मार्ट सिटी बनाउने घोषणा गरेको हो ।

नयाँ शहर आयोजना समन्वय कार्यालय कायम मुकायम निर्देशक पराग कायस्थले यी ३ शहरको आसपासको क्षेत्रमा राष्ट्रिय गौरवको आयोजना निर्माणबाट हुन सक्ने तीब्र बसाइँसराइ उत्पन्न हुन सक्ने असहज परिस्थिति रोक्नका लागि स्मार्ट सिटीको अवधारण अगाडि सारिएको जानकारी दिन्छन् ।

यी ३ शहर भौगोलिक, संस्कृति र धार्मिक रुपमा पनि एक अर्काभन्दा भिन्न भएकाले पनि सरकारको प्राथमिकतामा परेको कायस्थ बताउँछन् ।

निजगढ चुरेको फेदमा रहेको मिश्रित बस्ती हो । यस्तै लुम्बिनी गौतम बुद्धको जन्म स्थल भएकाले पनि सो स्थानको धार्मिक रुपमा महत्वपूर्ण छ । पहाडी भेगको उच्च स्थानको रहेको समथर भु–भाग भएको गोरखाको पालुङटारलाई स्मार्ट सिटीको रुपमा विकास गर्न लागिएको उनी बताउँछन् ।

किन यी शहरलाई स्मार्ट सिटी बनाउन खोजियो ?
निजगढ चुरेको फेदमा अवस्थित मिश्रित समुदायको बसोबास भएको शहर हो । निजगढमा अन्तराष्ट्रिय विमानस्थल र निजगढ–काठमाडौं फास्ट ट्रयाक बन्ने चरणमा छ । नेपाली सेनाको जिम्मामा फास्ट ट्रयाक निर्माणको काम भईरहेको छ । अन्तराष्ट्रिय विमानस्थललाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको छ ।

गौतम बुद्धको जन्म स्थान भएकाले लुम्बिनी धार्मिक रुपमा महत्वपूर्ण शहर हो । सो शहर नेपालको पश्चिम तराईमा अवस्थित छ । बैद्ध धर्मालम्बीहरुको तिर्थ स्थलको रुपमा विकास गर्नका लागि सरकारले लुम्बिनी गुरु योजना यो सहरमा बनाउने तयारीमा छ । साथै, लुम्बिनी नजिकैको अर्को शहर भैरहवामा क्षेत्रीय विमानस्थल निर्माणकार्य प्राथमिकताका साथ अगाडि बढिरहेको छ ।

विगतमा विमानस्थल निर्माणको लागि छनोट गरिएको पालुङटार समथर भु–भाग रहेको छ । सरकारले गोरखामा १२ सय मेगावटको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्दैछ ।

सरकारलाई थाहा छैन स्मार्ट सिटी कस्तो हुन्छ भन्ने ?
२०७२/७३ को अर्थमन्त्री डा. रामशरण महतले स्मार्ट सिटी बनाउने भनेर बजेटमा समाबेश गरेका थिए । डा.महत नै स्मार्ट सिटी बनाउनुभन्दा पहिला शहरलाई व्यवस्थित बनाउनु पर्ने बताउँछन् ।

‘नेपालमा सबै जना स्मार्ट सिटी बनेर पछि लागेका छन्, कुनै पनि शहरलाई स्मार्ट बनाउनका लागि पहिला त्यहाँ व्यवस्थित पूर्वाधार निर्माण गर्नुपर्ने हुन्छ,’ डा. महतले क्लिकमाण्डूसँग भने ।

नयाँ शहर आयोजना समन्वय कार्यालय कायम मुकायम निर्देशक पराग कायस्थल पनि स्मार्ट सिटी कस्तो हुन्छ भन्ने जानकारी नभएको बताउँछन् ।

‘स्मार्ट सिटी नेपालका लागि नयाँ विषय हो, स्मार्ट सिटी कस्तो हुन्छ भन्ने कुरा परामर्शदाताले तयार पर्ने रिर्पोटले बताउँछ,’ कायस्थले भने ।

सरकारले स्मार्ट सिटी बनाउने भनेका शहरहरु हालसालै गाविसबाट नगरपालिकामा परिवर्तन भएका छन् । ती शहरमा स्मार्ट सिटी बनाउनका लागि आवश्यक धेरै पूर्वाधारहरु निर्माण भईसकेका छैनन् । स्मार्ट सिटी बनाउनुभन्दा अगाडि सरकारले व्यवस्थित शहरका आवश्यक भौतिक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने विज्ञहरुले बताउदै आएका छन्

स्मार्ट सिटीको बारेमा विज्ञको धारण कस्तो छ ?
कुनै पनि शहरलाई स्मार्ट बनाउनका लागि शहरी विकासका आधातभूत पूर्वाधार निर्माण हुनु पर्ने पूर्वाधार विज्ञ सूर्यराज आर्चाय बताउँछन् ।

‘सस्तो लोकप्रियता कमाउनका लागि शहरी विकासका आधातभूत पूर्वाधार निर्माण नगरि स्मार्ट सिटी बनाउने भनिएको छ, स्मार्ट सिटीका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणमा भने नीतिगत रुपमै बर्षैदेखि नजरअन्दाज गरिदै आएको छ,’ आर्चायले भने ।

उनले काठमाडौंको उदारण दिदै उनले ४० बर्ष अगाडि व्यवस्थित शहरी विकासको अवधारण अनुसार अगाडि बढाउनु पर्नेमा त्यसो हुन नसकेको बताए । त्यस समय नीतिगत कार्यमा ध्यान दिन नसकेकाले काठमाडौंका सडक विस्तारका लागि पनि विभिन्न समस्या देखिने गरेको आचार्यको भनाइ छ ।

‘नेताहरुले आइएनजीओ, विदेशी दातृ निकायको प्रलोभनमा परेर स्मार्ट सिटीको कुरा उठाएका हुन्, स्मार्ट सिटीका बारेमा बोल्नु अघि आवश्यक पूर्वाधार निर्माणका लागि काम गर्नु पर्ने हुन्छ,’ उनले भने ।

टेलिफोन, इन्टरनेटको बढ्दो प्रयोगसँग जनताहरु स्मार्ट भईसकेका छन् । तर शहरलाई स्मार्ट बनाउनका लागि व्यवस्थित पूर्वाधार निर्माण गर्नु पर्ने उनी बताउँछन् ।

स्मार्ट सिटी के हो ?
साधारण भाषामा भन्ने हो भने सूचना प्रविधिको व्यापक प्रयोग गरिने शहरलाई स्मार्ट सिटी भनिन्छ । स्मार्ट सिटी भौतिक संरचना, दीर्घकालीन निर्माण, संचार र बजार अत्याधुनिक हुन्छ । यसलाई पूर्णव्यवस्थित शहरको रुपमा पनि परिभाषित गर्ने गरिन्छ । आधुनिक शहरमा आवश्यक पर्ने कुनैपनि विषय नछुटेको शहरलाई स्मार्ट सिटी भनिन्छ ।


क्लिकमान्डु