नदीमा पानी घट्यो, लोडसेडिङ हुन नदिन भारतसँग किनियो ३७० मेगावाट बिजुली



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् माग बढ्न थालेपछि लोड व्यवस्थापनमा समस्या पर्दै गएको छ ।

आन्तरिक रुपमा उत्पादन गरिरहेका जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन कम भएपछि लोड व्यवस्थापनमा समस्या भएको हो ।

हिउँद लागेपछि नदीमा पानीको बहाव कम भएकोले समस्या उत्पन्न भएको हो ।
कुल उत्पादन क्षमताको करिब ५० प्रतिशतको हाराहारीमा मात्रै आयोजनाबाट विद्युत् उत्पादन भइरहेको छ ।

देशभित्र कम विद्युत् उत्पादन हुँदा यसको प्रत्यक्ष असर प्रणालीमा पर्न थालेपछि प्राधिकरणले भारतबाट आयातको मात्रा बढाउन थालेको छ । केन्द्रीय प्रणालीमा हाल ९६० देखि ९८० मेगावाट विद्युत् प्रवाह भइरहेको छ ।

निजी क्षेत्र र प्राधिकरणको विद्युत् उत्पादनको अवस्था समान रहेको छ । तर साना तथा मझौला आयोजनाबाट भएका उत्पादनले मात्रै माग धान्न नस्क्ने अवस्था देखिएको छ ।

केन्द्रीय प्रणालीमा परेको भार व्यवस्थापनका लागि भारतबाट थप आयात गर्न थालिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको भार प्रेषण केन्द्रकाअनुसार हाल ३७० मेगावाट विद्युत् आयात गर्न थालेको छ । मंसिरको पहिलो सातासम्म ३१० मेगावाट मात्रै विद्युत् आयात गर्दै आएको प्राधिकरणले एक्कासी ६० मेगावाट थप गरी ३७० मेगावाट बनाएको हो ।

नदीमा पानीको बहाब थप घट्दै गएकाले विद्युत् आयातको परिमाण पनि बढ्दै गएको प्रवक्ता प्रबल अधिकारीले बताए ।

प्राधिकरणले कुशाह–कटैया १३२ केभी लाइनबाट १३० मेगावाट, ढल्केबर–मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय लाइनबाट हाल १०० मेगावाट र रक्सोल–परवानीपुर १३२ केभीबाट ६५ मेगावाट आयात भइरहेको जनाएको छ ।

टनकपुर र रामनगरबाट २५÷२५ मेगावाट तथा सीमा क्षेत्रका ३३ केभी लाइनबाट करिब २५ मेगावाट आयात भइरहेको छ । माग व्यवस्थापनका लागि प्राधिकरणले उद्योगलाई पनि नियमति दिदै आएको विद्युत् कटौती गर्न थालेको छ ।

साँझको समयमा दुई घन्टा विद्युत् कटौती हुन थालेको छ । वर्षाकालमा उद्योगले पनि नियमति रुपमा २४ सै घन्टा विद्युत् प्राप्त गरिरहेका थिए । प्राधिकरणले भारतबाट ५ सय मेगावाटसम्म आयात गर्ने तयारी गरिरहेको छ ।


पुष्प दुलाल