५३ रुपैयाँमा किनेको पेट्रोल ९८ रुपैयाँमा बेच्दा पनि निगम मासिक ५४ करोड घाटामा




काठमाडौं । रक्सौलमा प्रतिलिटर ५३ रुपैयाँमा किनेको पेट्रोल काठमाडौंमा प्रतिलिटर ९८ रुपैयाँ बेच्दा पनि नेपाल आयाल निगम मासिक ५४ करोड रुपैयाँ नोक्सानीमा छ ।

सरकारले पेट्रोलिम पदार्थमा उच्च कर लिने गरेको र अन्य शुल्क समेत जोड्ने गरेका कारण यस्तो भएको हो । नेपाल आयाल निगमका अनुसार एक लिटर पेट्रोलमा सरकारी कर तथा अन्य शुल्क गरी ३६ रुपैयाँ लिने गरेको छ । रक्सौलमा निगमले अहिले एक लिटर पेट्रोल ५३ रुपैयाँ ६५ पैसामा खरिद गर्ने गरेको छ ।

सरकारले पेट्रेलियम पदार्थमा भन्सार शुल्क, सडक मर्मतसम्भार कर, बूढीगण्डकी जलविद्युत आयोजनाका लागि पूर्वाधार कर, प्रदुषण शुल्क, मूल्य स्थिरिकरण कोष र मूल्य अभिबृद्धि कर (भ्याट) गरी प्रतिलिटर पेट्रोलमा कुल ३६ रुपैयाँ ९८ पैसा उपभोक्ता मार्फत उठाउने गरेको छ ।

यस्तै रक्सौलमा निगमले डिजेल प्रतिलिटर ५३ रुपैयाँ ६२ पैसामा किन्छ । यसमार्फत सरकारले विभिन्न करहरुलाई जोडी कुल १८ रुपैयाँ ७८ पैसा कर काट्ने गरेको छ । काठमाडौंमा डिजेलको उपभोक्ता मूल्य प्रतिलिटर ७४ रुपैयाँ छ ।

निगमले रक्सौलमा प्रतिलिटर ५० रुपैयाँमा किनेर काठमाडौंमा ७४ रुपैयाँ प्रतिलिटरमा डिजेल बेच्ने गरेको छ । डिजेलमा विभिन्न कर गरी प्रतिलिटर २ रुपैयाँ ७७ पैसा सरकारले लिन्छ ।

यसैगरी आन्तरिक उडानका लागि प्रयोग गरिने हवाइ इन्धन रक्सौलमा प्रतिलिटर ४९ रुपैयाँ पर्ने गर्छ । यस मार्फत सरकारले विभिन्न करहरु कुल १७ रुपैयाँ ३८ पैसा लिने गरेको छ । यसको खुद्रा मूल्य ८२ रुपैयाँ प्रतिलिटर छ ।

खाना पकाउने ग्यास निगमले रक्सौलमा प्रतिसिलिन्डर १ हजार ९९ रुपैयाँ तिर्ने गर्छ । यस मार्फत कुल २ सय २१ रुपैयाँ कर काटिने गर्छ । यसको उपभोक्ता मूल्य १ हजार ३ सय २५ रुपैयाँ छ ।

अन्तराष्ट्रिय उडानको लागि प्रयोग हुने हवाइ इन्धन रक्सौलमा प्रतिलिटर ४९ रुपैयाँ रहेको छ । यस मार्फत सरकारले कुल ५ रुपैयाँ कर लिने गरेको छ । यसको मूल्य ०.७५० अमेरिकी डलर रहेको छ ।

अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेसँगै भारतले पनि निर्यात गर्ने मूल्यमा वृद्धी गरेको नेपाल आयाल निगमको भनाइ छ ।

अन्तराष्ट्रिय बजारमा पेट्रोलको मूल्य बढेको छ । करिब १ बर्ष अगाडि प्रतिब्यारेल ३० अमेरिकी डलरको हाराहारीमा आएको पेट्रोलियम पदार्थको मूल्य अहिले करिब ६० डलरको हाराहारीमा छ ।

भारतले आयल निगमलाई पढाएको पछिल्लो मूल्यसुची अनुसार निगमलाई मासिक करिब ५४ करोड घाटा हुने निगमका वितरण डाइरेक्टर बिरेन्द्र गोइतले जानकारी दिए ।

गोइतका अनुसार निगमले अहिलेसम्म पेट्रोलमा प्रतिलिटर १४ पैसा नाफा, डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ९८ पैसा नोक्सान, मटितेलमा १५ रुपैयाँ नाफा, आन्तरिक हवाइ इन्धनमा १२ रुपैयाँ नाफा, अन्तराष्ट्रिय हवाइ इन्धनमा १८ रुपैयाँ नाफा र एलपि ग्यासमा प्रतिसिलिन्डर २ सय ३७ रुपैयाँ नोक्सान छ ।

गोइतले भने ‘चाडपर्वका कारण मूल्य नबढाएका हौं, तर, अब मूल्य समायोजन गर्छौँ ।’


क्लिकमान्डु