नेताको फोन आउँदा तर्सन थाले ब्यवसायी, चुनाबभरको लागि बिदेश जाने तयारी




काठमाडौं । जब–जब चुनाव आउँछ, सवैभन्दा बढी मारमा निजी क्षेत्र पर्ने गरेका छन् । चुनाव आउने वित्तिकै केही नेता कार्यकर्ताहरु ठूला नेताको नाम लिने र पैसा कमाउने धन्दामा समेत लाग्ने गरेका छन् ।

विगत र अहिलेको चन्दा लिने शैली भने पार्टीहरुले फरक गर्दै लगेका छन् । विगतमा सिधै ज्यान मार्र्ने धम्कीबाट सुरु हुने आतंक अहिले पार्टीलाई सहयोग दिनुपर्नेमा झरेको व्यवसायी बताउँछन् । विगतमा धम्की दिदै व्यपारीसँग पैसा उठाउने गरे पनि पछिल्लो समय भने सहयोग दिनका लागि व्यवसायीलाई फोन गर्ने गरेका छन् ।

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि चन्दा माग्ने नेता तथा कार्यकर्ताका फोन प्रत्येक व्यवसायीलाई जाने गरेका छन् ।

‘एउटा नेता होइन, प्रत्येक पार्टीका नेता तथा कार्यकर्ताहरुले फोन गरेपछि मैले त फोन उठाउन छाडेको छु,’ एक व्यवसायीले भने । अव केही दिनको लागि विदेश घुम्नुको विकल्प नदेखेर ब्यापारीहरुको ठूलै समूह विदेश जान लागेको समेत ती व्यवसायीको भनाइ छ ।

कति चन्दा माग्छन् ?
चुनावको समयमा पार्टीका लागि भन्दा पनि उम्मेदवारपिच्छे फोन आउने गरेको व्यवसायी बताउँछन् ।

‘चुनावसम्मको लागि गुप्तवास बस्नुको विकल्प छैन,’ अर्का व्यवसायीले भने ।

चन्दा रकमको परिमाण नेता अनुसार फरक फरक हुने गरेको छ । ५ हजार रुपैयाँदेखि १०औं लाखसम्म व्यवसायीसँग चन्दा माग्ने गरिएको छ । व्यवसायीहरुले चेक मार्फत मात्रै चन्दा दिन पाउनु पर्ने माग गर्दै आएका थिए ।

‘हामीले पार्टीको समेत हिसाव पारदर्शीताका लागि चेकमा कारोबार गरेर खर्चमा हिसाव गर्न पाउनुपर्ने माग गरेका हौ,’ राष्ट्रिय व्यवसायीक पहल (एनवीआई) का महासचिव सुरेन्द्रवीर मालाकारले भने ।

यो पटकको चुनावको चन्दामा सवै व्यवसायीहरुलाई चेकमा मात्रै चन्दा दिन भनेको समेत मालाकारले जानकारी दिए ।

विगतमा चन्दाकै रुपमा धम्की दिदै व्यवसायीसंग चन्दा असुल गर्ने परम्परा रहे पनि पछिल्लो समय भने सहयोगको रुपमा चन्दा माग्ने गरेको मालाकार बताउँछन् ।

एउटै व्यवसायीको दर्जनौ पार्टी र कार्यकर्ता
पार्टीले चन्दा माग्ने भन्दा पनि व्यक्ति पिच्छे चन्दाले व्यवसायीहरु मारमा परेको उनीहरु बताउँछन् ।

‘पार्टीहरुलाई त समय समयमा दिइरहेका छौं, व्यक्ति पिच्छे चन्दा दिदाँ व्यवसायी आजित भएका छौ,’ एक व्यवसायीले भने ।

एउटै पार्टीबाट दर्जनौ व्यक्ति चन्दाका लागि आउने गरको व्यवसायीको गुनासो छ । व्यवसायीका आफ्नै पार्टी र सिद्धान्त भए पनि सवै पार्टीलाई रिझाउनु पर्ने बाध्यता रहेको छ ।

‘सवैका आफ्नो पार्टी हुन्छ, तर सवै पार्टीलाई चन्दा दिनुपर्ने बाध्यता छ,’ ती व्यवसायीले क्लिकमान्डूसँग भने ।

एकै क्षेत्रमा दुई जना उमेद्वारलाई सहयोग गर्नुपर्ने अबस्था आएको छ । हाम्रो पैसा लगेर चुनाव उठ्ने एउटा नेता हार्दा अर्को जित्ने छ। हाँस्दै ती व्यवसायीले सुनाए ।

अन्यौलमा व्यवसायी
अहिले जसको फोन आउँदा पनि झस्किने अवस्थामा व्यवसायीहरु पुगेका छन् । कति फोन उठाउनुपर्ने हुन्छ, उठाउँदा समस्या रहेको व्यवसायी बताउँछन् । दलहरु चुनावी प्रचारमा लागिसकेका छन् । तर, उम्मेदवारका नजिकका व्यक्तिहरु भने दिनहूँ व्यपारीका घर धाउने र चन्दा उठाउने अभियानमा रहेको व्यवसायीहरु बताउँछन् ।

दलहरु अपारदर्शी
राजनीतिक दलहरुले उद्योगी ब्यवसायीबाट करोडौं रकम चन्दा लिने गरेपनि त्यसको पारदर्शीतमा सधै प्रश्न उठ्ने गरेको छ । एक पटक नेकपा एमाले चन्दालाई संस्थागत गर्नेभन्दै पार्टीको आधिकारीक बैंक खातामा मात्रै चन्दा दिन आग्रह गरेको थियो । तर, उक्त आग्रह एक महिनमा पनि टिकेको थिएन ।

पार्टीका नेताहरुले वेला वेलमा चन्दालाई पारदर्शी बनाउने बताए गरेको भएपनि हालसम्म कुनै पनि नेता तथा पार्टीले चन्दा सार्वजनिक गरेका छैनन् ।

‘हामीले पटक पटक दलहरु पारदर्शी हुनको लागि हाम्रो अडिट रिपोर्टमा चन्दा राख्न पाउनु पर्ने माग गरेका हौ,’ महासचिव मालाकारले भने । पार्टी तथा नेता पारदर्शी हुने हो भने व्यवसाय पनि सुध्रने दावी मालाकार गर्दछन् ।


क्लिकमान्डु