खाडीको राजनीतिले नेपालीको भान्सामा असरः कतारमै रोकियो करोडौं रेमिट्यान्स



काठमाडौं । पछिल्लो चार महिनादेखि खाडी देश कतारमा संकट चुलिएको छ । जसको प्रत्यक्ष असर नेपाल भित्रिने रेमिट्यान्समा देखिएको छ ।

खाडी देशहरु साउदी अरब, युएई, बहराइन र इजिप्टले साउदीसँग सम्बन्ध बिच्छेदको घोषणा गरेपछि कतारमा संकट आइपरेको हो ।

खाडीको राजनीतिले नेपालको अर्थतन्त्रमा सीधा प्रभाव पारेको छ । बैदेशिक रोजगारीको प्रमुख गन्तब्य खाडीमा भएको समस्याले नेपालको अर्थनीति र भान्सासम्म असर पुर्याउने संकेतहरु देखिएका छन् ।

पछिल्लो महिनादेखि कतारबाट पैसा नेपाल भित्राउनको लागि समस्या सिर्जना भएको छ । छिमेकीले सम्बन्ध बिच्छेद गरेपछि कतारको विदेशी सन्चिति घट्ने भएपछि कतारले आफ्नो देशबाट पैसा पठाउनको लागि कडाई गर्दै लगेको छ ।

सोमबारदेखि शुक्रबारसम्म हरेक दिनजसो पैसा पठाउने नेपालमा पठाइने भए पनि अहिले साताको २ दिनमात्र सटही सुविधा दिने गरेको छ ।

नेपालको प्रमुख रेमिटेन्स कम्पनी आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलका अनुसार कतारले विदेशी विनिमय सन्चितिलाई घट्न नदिन त्यहाबाट पैसा पठाउन कडाई गर्दै लगेको बताए ।

‘पहिला हरेक दिनजसो हुने पेमेन्टमा अहिले ढिलाई हुने गरेको छ’, टण्डनले क्लिकमाण्डूसँग भने,‘ खाडीमा सहज ढंगले राजनीतिक अवतरण भएन भने हामीलाई समस्या पर्छ ।’

‘कतारले पैसा पठाउने विषयमा नीति परिवर्तन गर्न खोजेको छ’, पोखरेलले क्लिकमाण्डूसँग भने, ‘कतारका बैंकले मनि ट्रान्सफरलाई दिने सुविधा दिएका छैनन् ।’

रेमिटेन्स कम्पनीका अनुसार अहिले ५० देखि ६० करोड रुपैयाँसम्म यसरी कतारमा पैसा अड्केर बसेको छ ।

‘कतारका कम्पनीहरुले कामदारहरुलाई लामो छुट्टीमा पठाउने थालिसकेका छन्, यो परिस्थिमा तत्काल सुधार नआए नेपाली कामदारको संख्या धेरै कटौती हुने देखिन्छ,’ पोखरेलले भने, ‘कतार संकटले नेपाल आउने रेमिट्यान्समा अझै ठूलो असर पर्नसक्ने देखिन्छ ।’

कतारले सन् २०१६ मा ५५ अर्ब अमेरिकी डलरको निर्यात गरेको थियो भने ३१ अर्ब अमेरिकी डलर आयातमा खर्च गरेको थियो । यसरी गतवर्ष कतारको व्यापार नाफा २३ अर्ब अमेरिकी डलर थियो ।

कतारसँग सम्बन्ध विच्छेदको घोषणा गरेपछि साउदी कम्पनीहरुको कारोबार बन्द छ । कतारमा गरिएको ऋणपत्रको लगानी तथा निक्षेप साउदी लगायतका राष्ट्रले फिर्ता लगेका छन् ।

रेमिटेन्स कम्पनी सिटी एक्सप्रेसका प्रवन्ध निर्देशक चन्द्र टण्डन भुक्तानी सन्तुलनमा संकट आउने देखेर कतारले विदेशमा पैसा पठाउन कडाई गर्दै लगेको बताउँछन् ।

‘पहिला हरेक दिनजसो हुने पेमेन्टमा अहिले ढिलाई हुने गरेको छ’, टण्डनले क्लिकमाण्डूसँग भने,‘ खाडीमा सहज ढंगले राजनीतिक अवतरण भएन भने हामीलाई समस्या पर्छ ।’

कतार भौगोलिक तथा जनसंख्याको दृष्टिकोणले सानो भएपनि आर्थिक रुपमा भने निकै बलियो छ । विश्व बैंकका अनुसार कतारको अर्थतन्त्रको आकार १ खर्ब ५२ अर्ब अमेरिकी डलर छ । प्रतिव्यक्ति आम्दानी ५९ हजार ३३० अमेरिकी डलर छ ।

नेपालमा रेमिटेन्स आउने प्रमुख स्रोतमा कतार पर्छ । गतवर्ष नेपालमा सबैभन्दा बढी कतारबाट १ खर्ब रुपैयाँ रेमिटेन्स आएको थियो ।

पछिल्ला महिनामा भने कतारमा देखिएको संकटपछि कतारमा रोजगारीमा जानेको संख्या भने घट्दै गएको छ । निर्यात व्यापार नहुँने तथा आयात अत्याधिक भएको हाम्रो देशको लागि कतारको संकट ठूलो समस्याको रुपमा आउन सक्ने देखिन्छ ।

सन् २०२२ मा विश्वकप आयोजना गर्न लागेको कतारले पूर्वाधार निर्माणको लागि दक्ष-अदक्ष दुबै किसिमका कामदार भित्राएको थियो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ मसान्तको तथ्यांक अनुसार रेमिटेन्सको बृद्धिदर ०.६ प्रतिशतले बढेको छ । आयातमा भएको अत्याधिक बृद्धि तथा रेमिटेन्सको सुस्त बृद्धिदरले चालु खाता तथा शोधानान्तर बचत घाटामा गएको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार कतार संकट सहजै समाधान हुने देखिएको छैन ।

कतारसँग सम्बन्ध बिच्छेद गरेका देश बहराइनका विदेशमन्त्री शेख खालिद बिन अहमत अल खालिफाले गल्फ कोअपरेशन काउन्सिल (जिसीसी) सदस्यबाट कतारलाई हटाउन माग गरेका छन् ।

यदि कतार जिसीसीको बैठकमा सहभागी भए बहराइनले बैठकमा भाग नलिने उनले सार्वजनिक गरेका छन् । कुवेतमा जिसीसीको बैठक बस्दै छ ।


पुष्प दुलाल