२ पाने सुझावले मन्त्रीलाई एभरेष्ट बेसक्याम्पमा खाजा खुवायो




काठमाडौं । नेपालको हवाइ सुरक्षाप्रति सरकारी निकाय कति गैरजिम्मेवार छन् भन्ने तथ्य हालैको एउटा घटनाले थप उजागर गरेको छ ।

हेलिकोप्टर सेवा प्रदायक कम्पनी हेलि एभरेष्टले हवाइ सुरक्षामा खेलवाड गरेको भन्दै त्यहाँ कार्यरत इन्स्ट्रक्टर पाइलटले सरकारी निकायमा दिएको लिखित जानकारीलाई दुरुपयोग गरी पर्यटनमन्त्री परिवार सहित सोलूखुम्बु घुमेर ब्रेकफाष्ट खाएर फर्केका छन् ।

क्लिकमाण्डूलाई प्राप्त प्रमाण अनुसार हेलि एभरेष्टका इन्स्ट्रक्टर पाइलट माइकल रबिन्सनले सो कम्पनीले हवाइ सुरक्षामा अत्याधिक लावरवाही गरेको भन्दै हवाइ क्षेत्रको नियामक निकाय नागरिक उड्डयन प्राधिकरण अन्तरगतको हवाइ सुरक्षा विभागमा लिखित जानकारी दिएका थिए ।

गत असोज २२ गते (अक्टोबर ८) मा प्राधिकरणमा दिइएको सो जानकारीमा विभिन्न ७ वटा कैफियत रहेको जानकारी दिइएको छ । तर प्राधिकरणले सो बिषयको कुनै छानविन गरेर सुरक्षा सतर्कता बढाउन निर्देशन दिनुको साटो पर्यटनमन्त्री जितेन्द्र नारायण देब उनकी छोरी सहित सोलूखुम्बुको स्याङ्बोचेमा रहेको होटल एभरेष्ट भ्यूमा ब्रेकफास्ट गरेर फर्किका छन् ।

‘मन्त्रीज्यू छोरी सहित आज (कात्तिक ८ गते) सोलू पुगेर फर्किनु भएको छ, के कार्यक्रममा जानुभएको थियो भन्ने कुनै जानकारी प्राप्त भएको छैन,’ पर्यटन मन्त्रालय स्रोतले भन्यो ।

स्रोतका अनुसार मन्त्री देबलाई परिवार सहित स्याङ्बोचेसम्म जाने र होटल एभरेष्ट भ्यूमा ब्रेकफाष्ट खाने बन्दो बस्त हेलि एभरेष्टका अध्यक्ष लाक्पा शेर्पाले बन्दोबस्त गरेका हुन् ।

काठमाडौंबाट सोलूको स्याङबोचसम्म हेलिकोप्टरमा आवतजावत गर्न हेलि एभरेष्टले ३ हजार अमेरिकी डलर भाडा लिने गरेको बताइएको छ । तर, कम्पनीले हवाइ सुरक्षामा कम्प्रमाइज गर्न मन्त्री देबलाई यस्तो आतिथ्यता गराएको स्रोतको दाबी छ ।

अमेरिकी नागरिक पाइलट रबिन्सनले यस्तो सुझाव दिएपछि प्राधिकरणको हवाइ सुरक्षा विभागले ३ दिनसम्मको लागि हेलि एभरेष्टका सबै पाइलटहरुलाई जहाज नउडाउन निर्देशन दिएको थियो । तर, सो तीन दिनपछि पहिलाको जस्तै नियमित हेलिकोप्टर चलिरहेका बताइएको छ ।

पाइलट माइकलले प्राधिकरणमा बुझाएको पत्रको पहिलो पाना

अमेरिकी नागरिक पाइलट रबिन्सनले हवाइ सुरक्षामा खेलबाड भएको भन्दै प्राधिकरणको सुरक्षा विभागका सेफ्टी इन्स्पेक्टर गुन्जमान लामालाई लिखित जानकारी गराएका थिए । सो विभागका प्रमुख भेषराज सुबेदीले पनि सो बिषय अध्ययन गरेका भएपनि कुनै कारबाही नभएको बताइएको छ ।

नेपालले हवाइ सुरक्षमा आवश्यक ध्यान नदिएको आरोप अन्तराष्ट्रिय जगतबाट लाग्दै आएको छ ।

पाइलट माइकलले प्राधिकरणमा बुझाएको पत्रको दोस्रो पाना

युरोपेली युनियन र आइकाओले नेपालको हवाइ सुरक्षा कमजोर भएको भन्दै लामो समयदेखिको विशेष सुरक्षा चासो अन्तरगतको कालोसुचीमा राखेको थियो । केही महिना अगाडि मात्रै नेपाल कालोसुचीबाट हटेपनि यस्ता गतिबिधिले पुन कालोसुचीमा पर्ने खतरा आइपर्ने हवाइ क्षेत्रका विज्ञहरु बताउन थालेका छन् ।


क्लिकमान्डु