यी चार कारण जसले सेयर बजारलाई घटाउँदै छ



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक साताको पहिलो दिन ३२.६४ अंकले घटेको छ ।

बजार बन्द हुनुभन्दा एक घण्टा अगाडिसम्म १४९२ मा झरेको परिसूचक पछि बढेर १५१० अंकमा अडियो ।

सेयर बजारको इतिहास हेर्दा लेफ्ट एलायन्ससँग बजार बढी शंशकित हुने गरेको छ ।

यस आधारले हेर्दा अहिले सेयर बजार घट्नुको पछाडी बामपन्थीसँग कन्फिडेन्स नभएका लगानीकर्ता,अत्याधिक सेलिङ प्रेसर तथा नघटेको ब्याजदर र नेप्सेको नयाँ नेतृत्वलाई मान्न सकिने अनुमान विश्लेषकको छ ।

दशैं लगत्तै देशका प्रमुख कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रले चुनावी तालमेल हुँदै पार्टी एकतासम्मको घोषणा गरे । त्यसपछि सेयर कारोबारको लागि खुलेको बजारले बामपन्थी एकतालाई अझै स्वागत गर्न सकेको छैन ।

आइतबार १५२ कम्पनीका ९ लाख ७२ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । ४१ करोड ४९ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएको बैंकिङ समूह २८.८४, ट्रेडिङ समूह ९.५४, होटल समूह ६६.२५, विकास बैंक समूह ५३.०८, जलविद्युत समूह ३७.३९, वित्त समूह १५.०६, बीमा समूह १९३.१२ र अन्य समूह १८.४८ अंकले घटेका छन् ।

यस आधारले हेर्दा अहिले सेयर बजार घट्नुको पछाडी बामपन्थीसँग कन्फिडेन्स नभएका लगानीकर्ता,अत्याधिक सेलिङ प्रेसर तथा नघटेको ब्याजदर र नेप्सेको नयाँ नेतृत्वलाई मान्न सकिने अनुमान विश्लेषकको छ ।

सेयर बजारमा रातो रङ पोखिएको छ ।

स्टक ब्रोक्रर एशोसियनका पूर्व अध्यक्ष नरेन्द्रराज सिंजापति बजारमा सेयर आपूर्ति बढी भएर सेलिङ प्रेसर भएको समयमा लेफ्ट एलायन्सले बजार घटाउन मद्दत पुर्याएको बताउँछन् ।

‘आजको कारोबारमा २ बजेपछि परिसूचक बढ्न थाल्यो,’ सिंजापतिले भने,‘यसले लेफ्ट एलायन्सले नै सेयर बजार पूर्ण रुपमा घट्छ भन्ने देखिएको छैन।’

उनले २ बजेपछि बढेको बजारले आशा जगाएको बताउँदै तत्कालै आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन् ।

‘ सूचिकृत कम्पनीको लाभांश घोषणा हुने क्रममा छ’,उनले भने,‘निर्वाचनको घोषणा भएको र लेफ्टको सरकार बन्दैमा आत्तिनुपर्ने अवस्था छैन,विगतमा पनि कम्युनिष्ट सरकार बनिसकेका छन्।’

यद्यपी लगानीकर्ताहरु बढी आंशका कम्युनिष्ट सरकारसँग गर्छन् ।

पुँजीबृद्धिको नीतिको कारण बोनस र हकप्रत सेयरले गर्दा अहिले बजारमा सेयरको आपूर्ति बढी छ । बैकिङ क्षेत्रमा लगानी योग्य रकम(तरलता)मा सुधार भएपनि पुस नलाग्दासम्म ब्याजदर घट्ने सम्भावना छैन । ऋण लिएर सेयर कारोबार गर्नेहरु अझै बढ्न सकेका छैनन् ।

हाथवे इन्भेष्टमेन्टमा आवद्ध विश्लेषक प्रकाश तिवारी राजनीति माहोल तथा नेप्सेको नेतृत्वको अन्यौलताले लगानीकर्ताको कन्फिडेन्स लुज भएको बताउँछन् ।
‘नेप्सेमा सिइओ नियुक्त हुन लागेको अवस्था छ’,उनले भने,‘कस्तो व्यक्ति नियुक्ती हुन्छ र बजार विकासको लागि उसले के गर्छ भन्ने अहिले लगानीकर्ताले हेरिराखेको अवस्था छ।’

अर्थमन्त्रालयले नेप्सेको सिइओ छनोटका लागि ३ जनाको नाम सिफारिस गरेको छ । अब बस्ने मन्त्रीपरिषद्को बैैठकले सिइओको नियुक्ती गर्छ ।


क्लिकमान्डु