अमेरिकामा ग्रिनकार्ड र नागरिकता हुनेको पनि सामाजिक संञ्जाल जाँच गरिँदै



वासिंगटन डिसी । अमेरिकी सरकारले अमेरिकामा रहेका आप्रवासीहरुको सामाजिक सञ्जालको समेत अनुगमन गर्न सक्नेगरी नयाँ नीति ल्याउने भएको छ ।

यहाँको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अमेरिकामा रहेका आप्रवासीहरुको सामाजिक सञ्जालहरु हेर्न र सुचना संकलन गर्न सक्ने अधिकारसहितको नयाँ नीति सार्वजनिक गरेको छ ।

यहाँको फेडरल रजिष्ट्ररमा गत साता प्रकाशित सुचनामा आगामी अक्टोबर १८ देखि गोपनियता ऐन १९७४ मा नयाँ व्यवस्था गर्न लागिएको जनाईएको छ ।

सूचना अनुसार अमेरिकी सरकारको सुरक्षा निकाय होमल्याण्ड सेक्यूरिटीले अमेरिकामा स्थायी बसोबासको अधिकारप्राप्त (ग्रिनकार्ड भएका) आप्रवासी र प्राकृतिक नागरिकता लिएकाहरुको समेत सामाजिक सञ्जालको गतिविधि अनुगमन गर्ने अधिकारसहितको नयाँ नीति लागू हुन लागेको हो ।

नीतिमा आप्रवासीका सामाजिक सञ्जालहरु, उनीहरुले प्रयोग गरेका उपनामहरु, सम्बन्धित पहिचान योग्य जानकारीहरु र इन्टरनेटमा खोजी गरिएका परिणामहरु समेत संकलन गर्ने उल्लेख गरिएको छ ।

यहाँ सक्रिय गोपनियता ऐन १९७४ कै व्यवस्थामा केही सुधार गरी रेकर्ड प्रणालीमा केही थप गर्न लागिएको होमल्याण्ड सेक्युरिटीले जनाएको छ । अनुगमन गरिएको सामाग्रीहरुमा शंकास्पद रहे आप्रवासीको सम्पूर्ण विवरण हुने एलियन फाइलमै अपडेट गरिने समेत समाचारहरुमा जनाईएको छ ।

डिपार्टमेन्टले उसले चाहेको बेला आप्रवासीको सुचना संकलन गर्नेछ, जसमा सामाजिक सञ्जालको साथै ईन्टरनेटमा खोजिएका सामाग्रीहरुको ईतिहास समेत हेर्न सक्ने उल्लेख गरिएको छ ।

अक्टोबर १८ देखि लागु हुने बताईएको यो नीतिको लागि डिपार्टमेन्टले केही सुझाव भए अक्टोबर १८ अगाडि नै पेस गर्न समेत आग्रह गरेको छ ।

गत साता राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ८ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरेसँगै नयाँ नीतिसमेत सार्वजनिक भएको सञ्चारमाध्ययमहरुले जनाएका छन् । नयाँ नियम यहाँका आप्रवासी, ग्रिनकार्ड भएका र प्राकृतिक नागरिकता प्राप्त नागरिकको हकमा समेत लागु हुने जनाईएको छ ।

यो बाहेक आप्रवासीहरुसँग सामाजिक सञ्जालको प्रयोग गरेर शंकास्पद कुराकानी गर्ने अमेरिकी नागरिकको समेत सामाजिक सञ्जाल अनुगमन हुनसक्ने जनाईकोछ ।

तर, यो नीति नागरिक वाक स्वतन्त्रताको विरुद्धमा हुनसक्ने भन्दै यहाँका नागरिक युनियनका अधिकारीहरुले यसको विरोध गरेका छन् ।

कतिले त ट्रम्प प्रशासनको आप्रवासी विरोधी अभियानको उपज भनेर समेत आलोचना गरेका छन् ।

नयाँ व्यवस्थाले व्यक्तिको स्वतन्त्रता हनन् हुने भन्दै विभिन्न समुहले विरोध जनाएको न्यूजविक पत्रिकाले आफ्नो अनलाईन संस्करणमा लेखेको छ ।

सुचनामा होमल्याण्डले आप्रवासीको सामाजिक सञ्जालको प्रयोग, अनलाईनमा खोजि गरिएका सामाग्रीहरुको ईतिहास तथा सार्वजनिक रुपमा उपलब्ध सुचनाहरुको अनुसन्धान गर्न सक्ने जनाईएको छ ।

जसको लागि गूगल तथा ईन्टरनेट सेवा प्रदायकहरुको सहयोग लिनसक्ने समेत बताईएको छ । यद्यपी फेसबुकले यसअगाडि नै प्रयोगकर्ताहरुको गोप्य सुचना दिन नमिल्ने बताईसकेको थियो ।

गत मे महिना मै सार्वजनिक एक समाचार अनुसार ट्रम्प प्रशासनले आप्रवासीहरुले अमेरिका प्रवेश गर्नु अगाडी नै आफ्नो पाँच वर्षदेखिको सामाजिक सञ्जालको प्रयोग देखाउनुपर्ने नियम बनाउन लागेको जनाईएको थियो ।

अमेरिकाका केही संसदहरुले भने उच्च सतर्कता अपनाउनुपर्ने देशका आप्रवासीले अमेरिकामा पनि जोखिम बढाउने भन्दै उनीहरुको सबै कोणबाट विगत र वर्तमान हेर्नु अन्याय नभएको बताएका छन् ।


क्लिकमान्डु