दशैंमा पैसा हराउला नि ! जतन गर्न अपनाउनुस् यी ५ तरिका
काठमाडौं । नेपालीको सबैभन्दा ठूलो चाड दशैं आज (५ गते असोज) देखि सुरु भएको छ । घटस्थापनाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म मनाइने १५ दिने लामो पर्व मनाउन देश विदेशमा रहेका नेपाली पनि आआफ्नो घर जाने गर्छन् ।
पेशा, ब्यवसाय, रोजगारी वा अन्य कामको सिलसिलामा आफ्नो घरभन्दा टाँढा रहेका बहुसंख्यक नेपाली दशैंमा घर जान सार्वजनिक यातायातका साधन प्रयोग गर्छन् । सार्बजनिक यातायातका साधनबाट यात्रा गर्दा आइपर्ने जोखिमबारे तपाइ भुक्तभोगी हुनुहुन्छ ।
दशैंको बेलामा थोरै गाडीमा धेरै यात्रुले यात्रा गर्छन् । यसो हुँदा भिडभाड बढी हुने गर्छ । भिडभाडमा पैसा चोरी हुने वा हराउने खतरा धेरै हुन्छ । पकेटमारहरुको विगविगी पनि हुन सक्छ । बस चढ्ने ठाउँमा पनि चोरीको खतरा हुन्छ नै ।
केही गरी तपाइले दशैं मनाउन बोकेको पैसा हरायो वा नास भयो भने तपाइ र तपाइको परिवारको दशैं खल्लो हुन्छ । त्यसकारण दशैंमा यात्रा गर्दा सकेसम्म नगद बोकेर नहिड्नु होला ।
फेरि दशैंमा सवारी दुर्घटनाको जोखिम पनि बढी हुने गरेको छ । दुर्भाग्यबस तपाइ दुर्घटनामा पर्नु भयो भने तपाइलाई ज्यानको जखिम पनि हुन सक्छ । त्यसो भएन भने तपाइले दशैं मनाउन बोकेको पैसा हराउने वा अन्य किसिमले नास हुने खतरा पनि हुन सक्छ ।
केही गरी तपाइले दशैं मनाउन बोकेको पैसा हरायो वा नास भयो भने तपाइ र तपाइको परिवारको दशैं खल्लो हुन्छ । त्यसकारण दशैंमा यात्रा गर्दा सकेसम्म नगद बोकेर नहिड्नु होला । बोक्नै पर्ने बाध्यता आइपर्यो भने पनि बाटामा खर्च गर्ने पैसा छुट्टै र दशैं मनाउन बोकेको पैसा छुट्टै बोकेर हिड्नु होला ।
तर, यति भन्दाभन्दै पनि एक ठाउमा भएको पैसा दशैंमा तपाइको घरसम्म पुर्याउनै पर्ने हुन्छ । कम जोखिम मोलेर एक ठाउँको पैसा अर्काे ठाउँसम्म पुर्याउने तरिका के कस्ता छन् भनेर हामीले पूर्बबैंकर अनलराज भट्टराईलाई सोधेका थियौं । उनले यसबारेमा ५ तरिका हामीलाई सुझाएका छन्, जुन हामी यहाँ प्रस्तुत गर्दैछौं ।
१. एटिएमको प्रयोग गर्नुस्
अहिले प्रायः सबै बैंक तथा वित्तीय संस्थाहरुको एटिएम छ । तपाइले आफ्नो पैसा आफ्नै बैंक खातामा राख्नुस् । अनि तपाइको घरको सबैभन्दा नजिक रहेको बैंकको एटिएमबाट आफ्नो पैसा झिक्नुस् र सुरक्षित तरिकाले घरसम्म पुर्याउनुस् । यसो गर्नुभयो भने बाटामा चोरी हुने, हराउने वा नास हुने खतरा कम हुन्छ । अहिले एउटा बैंकको खातामा रहेको पैसा अर्काे बैंकको एटिएमबाट पनि झिक्न मिल्छ ।
२. मोबाइल बैंकिङको प्रयोग गर्नुस्
अहिले धेरै दुर्गम र ग्रामीण क्षेत्रमा पनि मोबाइल बैंकिङ सेवा पुगेको छ । तपाइसँग भएको मोबाइल वालेटको प्रयोग गरेर प्वाइट अफ सेलबाट पैसा झिक्न सक्नु हुन्छ । यो सुबिधा प्रयोग गर्नको लागि आफू बसेको ठाउको बैंक खातामा पैसा जम्मा गर्ने र मोवाइल वालेटको प्रयोग गरेर प्वाइन्ट अफ सेलबाट पैसा झिक्न सकिन्छ ।
३. ब्रान्चलेस बैंकिङको प्रयोग गर्नुस्
नगद बोकेर यात्रा गर्न तपाइलाई डर लागिरहेको छ भने ब्रान्चलेस बैंकिङ सुबिधा पनि प्रयोग गर्न सक्नुहुन्छ । अहिले धेरै गाउँ र दुर्गम क्षेत्रहरुमा ब्रान्चलेस बैंकिङ सेवा पुगेको छ । तपाइको गाउमा वा नजिकको ठाउमा ब्रान्चलेस सेवा छ छैन भनेर पहिला यकिन गर्नुस् । यो यकिन भएपछि त्यो ब्रान्चलेस बैंकिङ सेवा भएको ठाउमा तपाइका आफन्तले खाता खोलेका हुन सक्छन् । रहेनछ भने पनि आफन्तलाई त्यहाँ खाता खोल्न लगाउनुस् । त्यसपछि त्यो खातामा तपाइ बसेकै ठाउमा प्रयोग गर्ने बैंक खाताबाट पैसा जम्मा गरिदिनुस् र गाउकै ब्रान्चलेस बैंकिङ केन्द्रबाट पैसा झिकेर दशैं मनाउनुस् ।
४. आफन्तको खाता प्रयोग गर्नुस्
तपाइको गाउ वा घर नजिकै कुनै बैंकको शाखा छ भने तपाइका आफन्तको खाता त्यो बैंकमा हुन सक्छ । बैंक शाखा छ तर खाता छैन भने खाता खोल्न लगाउनुस् । त्यसपछि ती आफन्तको बैंक खातामा तपाइले आफू बसेको ठाउको बैंकबाट रकम जम्मा गरिदिनुस् । यति गरिसकेपछि तपाइले आफन्तलाई वा तपाइ आफै पुगेपछि ती आफन्तको खाताबाट पैसा झिक्नुस् ।
५. आन्तरिक रेमिटान्सको प्रयोग
सबैभन्दा पहिला पैसा बोकेर हिड्ने कुरालाई तपाइले कम प्राथमिकतामा राख्नु पर्यो । यसको विकल्पमा तपाइले आन्तरिक रेमिटान्सको प्रयोग गर्न सक्नुहुन्छ । अर्थात तपाइले आफू बसेको ठाउँबाट आफू जाने ठाउमा आफन्तको नाममा वा आफै त्यही गएर झिक्ने हो भने आफ्नै नाममा पैसा झिक्न पाउने गरी पैसा पठाउन सक्नु हुन्छ । यो विधि प्रयोग गर्दा केही शुल्क भने लाग्न सक्छ । तर, सबै रकमको जोखिम लिनुभन्दा केही शुल्क तिरेर सुरक्षित हुनु राम्रो होइन र ?