बैंकहरुबीच ‘कट थ्रोट कम्पिटिसन’, नाफामा कसले कसलाई पछारे ? (सूचिसहित)




काठमाडौं । नेपालमा २८ वटा बाणिज्य बैंक छन् । सामान्यतः सबैले नाफामा राम्रै बृद्धि गरेका पनि छन् । तर, नेपालको अर्थतन्त्रको आकारका हिसाबले बाणिज्य बैंकको संख्या अत्याधिक भएको धेरैको बुझाई छ ।

यी बैंकका नियामक निकाय नेपाल राष्ट्र बैंकको पनि यस्तै सोचाइ छ । बाणिज्य बैंकहरुको पुँजी २ अर्ब रुपैयाँबाट बढाएर ८ अर्ब रुपैंयाँ पुर्याउने राष्ट्र बैंकको निर्णयले पनि यही कुरा प्रतिबिम्बित गर्छ । यद्यपि बैंकहरुले हकप्रदबाट पुँजी बढाएका कारण राष्ट्र बैंकको बैंकहरुको संख्या घटाउने भित्री उद्देश्य खासै पुरा भएन । बिकास बैंक र वित्त कम्पनीहरुका हकमा भने धेरै हदसम्म पुरा भयो ।

२२ अर्ब डलर हाराहारी जीडीपी भएको नेपालमा बाणिज्य बैंकलगायत अन्य वित्तीय संस्थाहरुको संख्या अलि बढी नै लाग्छ । १.२ ट्रिलियन डलरको अर्थतन्त्र भएको अष्ट्रेलियामा मुख्यत ४ वटामात्र ठूला बैंक छन् । र, केही बिदेशी बैंकका शाखाहरु छन् ।

बैंक धेरै र बजार सानो भएपछि प्रतिस्पर्धा तीब्र हुने नै भयो । यहि तीब्र प्रतिस्पर्धाका कारण बित्तीय बजारमा केही अस्वस्थ क्रियाकलाप पनि देखिएकै छन् ।

हालका राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले पटक पटक सार्वजनिक फोरमहरुमा बैंकका अध्यक्ष तथा सञ्चालकहरुलाई सीइओहरुलाई धेरै नाफाका लागि बढी दबाव नदिन गरेको आग्रहले पनि यही कुराको संकेत गर्छ ।

पछिल्लो समयमा भएको लगानी योग्य पुँजीको अभावको समस्यालाई पनि बैंकहरुले धेरै नाफा कमाउन अपनाएका ‘छोटो र सहज बाटो’को परिणाम रुपमा राष्ट्र बैंकका अधिकारीहरु अथ्र्याउँछन् ।

यहाँ बैंकहरुलाई नाफाका आधारमा सूचिकृत गरिएको छ । साथै, अघिल्लो बर्षमा नाफाका आधारमा उनीहरुको स्थानलाई पनि यहाँ प्रस्तुत गरिएको छ । नाफा कमाउने तीब्र प्रतिस्पर्धामा बिगत दुई बर्षमा कुन बैंक कहाँ पुगे र कसको स्थान कहाँ छ भनेर यहाँ प्रस्तुत गर्न खोजिएको हो ।

अघिल्लो बर्ष सबैभन्दा बढी नाफा कमाउने बैंकमा नेपाल बैंक थियो । यो बर्ष भने नेपाल बैंकलाई दोस्रो स्थानमा धकेल्दै नबिल बैंक पहिलो स्थानमा उक्लिएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले पनि एक स्थान सुधार्दै तेस्रो स्थानमा चढेको छ । बाणिज्य बैंक एक स्थान झरेको छ भने कृषि बिकास ५ औं स्थानमा यथावत छ ।

ग्लोबल आइएमई बैंक र एभरेष्ट बैंकले आ-आफ्नो स्थानमा साटासाट गरेका छन्, आइएमई उक्लेर र एभरेष्ट ओर्लेर ।

प्रभु बैंकले भने ठूलै छलाङ मारेको छ । खराब कर्जा उठाएसँगै प्रभु बैंक नाफाको सुचीमा ९ औं स्थानमा पुगेको छ । अघिल्लो बर्ष प्रभुको स्थान १४ औं थियो । एनआइसी एसिया बैंकले पनि ५ स्थान सुधार गर्दै १३औं मा उक्लेको छ ।

यसैगरी सिटिजन्स् बैंक ४ स्थान झर्दै २०औं स्थानमा पुगेको छ भने बंगलादेश बैंक ९ स्थान ओर्लदैं २१ औं स्थानमा आइपुगेको छ ।
अलि ठूलो छलाङ एनसीसी बैंकले पनि मारेको छ । झण्डै डेढ अर्ब खराब कर्जा उठाएपछि बैंक नाफाको सूचिमा अघिल्लो बर्षको २३ औं स्थानबाट १६ औं मा उक्लेको छ ।

जनता बैंक अघिल्लो बर्ष सूचिको अन्तिम स्थानमा थियो भने यो बर्ष दुई स्थान सुधार गरेको छ । जनताको पुछारको स्थान भने सिभिल बैंकले लिएको छ ।


पुष्प दुलाल