सिइओले जागिर छाडेपछि एकैदिन लगानीकर्ताले ५ खर्ब गुमाए



काठमाडौं । आइटीको क्षेत्रमा भारतको चर्चित कम्पनी इन्फोसिसका प्रमुख कार्यकारी अधिकृत विशाल सिक्काले राजिनामा दिएपछि लगानीकर्ताले करिब ५ खर्ब रुपैयाँ गुमाएका छन् ।

लामो समयदेखि इन्फोसिस कम्पनीका मुख्य प्रवद्र्धक र सिइओबीच विवाद चलिरहेको थियो । शुक्रवार सिक्काले राजिनामा दिने घोषणा गरेपछि यसको प्रभाव सेयर बजारमा परेको हो ।

मुम्बई स्टक एक्सचेन्जमा बिहीवारको दिन इन्फोसिसको सेयर मुल्य १०२१ भारु थियो । यसको बजार पुँजीकरण २.३४ लाख करोड भारतीय रुपैयाँ थियो ।

शुक्रवार बिहान सिक्काले सिइओ पदबाट राजिनामा दिने घोषणा गरे । उनले राजिनामा दिने घोषणा गरेपछि मुम्बई स्कट एक्सचेन्जमा भूकम्प नै आयो । इन्फोसिसको सेयर मुल्य कारोबार बन्द हुँदा घटेर ८८४ भारुमा आयो । बजार पुँजीकरण २.०२ लाख करोडमा झर्यो ।

इन्फोसिसका लगानीकर्ताले एकैदिन ३० हजार करोड भारतीय रुपैयाँ गुमाएका छन् । यो भनेको ३ खर्ब भारतीय रुपैयाँ हो । जसको नेपालीमा रुपान्तरण गर्दा ४ खर्ब ८० अर्ब हुन्छ ।

सिक्का इन्फोसिसको प्रमुख कार्यकारी अधिकृत बनेर सन् २०१४ मा आउँदा इन्फोसिसको बजार पुँजीकरण १.८० लाख करोड थियो ।
इन्फोसिसका संस्थापक अध्यक्ष नारायण मुर्ती र सिक्काबीच विवाद रहेको थियो ।

इन्फोसिसले सिक्काले सिइओ पदबाट राजिनामा दिएपछि तत्कालको लागि युबी प्रविण रावलाई जिम्मा दिएको छ ।

सिक्काले दिएको राजिनामा पत्रमा ३ वर्षको अवधीमा कम्पनीलाई आफुले पुर्याएको योगदानको बारेमा उल्लेख गरेका छन् । उनले कम्पनीका संस्थापक नारायण मुर्तीको चर्को आलोचना गरेको इकोनोमिक्स टाइम्सले जनाएको छ ।

सिक्का इन्फोसिसको पहिलो गैर संस्थापक सिइओ थिए । सिक्कालाई सिइओको रुपमा ल्याउँदा इन्फोसिसका संस्थापक नारायण मुर्तीले विशाल सिक्काको अर्थको कम्पनीलाई ‘मोर मनी’ बताएका थिए ।

मोर मनी भनिएका सिक्का मुर्तीबीच सम्बन्ध भने राम्रो हुन सकेन ।

सिइओ र मुख्य प्रवद्र्धकबीचको विवादको कारण लगानीकर्ताहरु निराश बनेका थिए । एक पटक सिक्काले भनेका थिए,‘ म एक क्षेत्रि योद्दा हो र लड्न तयार छु ।’

लड्न तयार भनेपनि शुक्रवार पदबाट राजिनामा दिएर सिक्काले लडाई छाडेका छन् ।

समाचार ऐजेन्सी एनआईका अनुसार इन्फोसिका संस्थापक नारायण मुर्तीले सिक्काले लगाएको आरोपको जवाफ दिन अस्विकार गरेका छन् ।

‘यस्ता आरोपहरु मेरो सम्मानको विरुद्धमा छन्,मैले यसको जवाफ दिनु पर्दैन।’मुर्तीले भने । उनले सन् २०१४ मा आफुले इन्फोसिसको बोर्डबाट बाहिरिने निर्णय गर्दा परिवार र बच्चाको लागि नसोचेर निर्णय गरेको बताए ।

इन्फोसिस कम्पनीको स्थापना सन् १९८१ मा भएको थियो । नारायण मुर्ति, नदन निलेकणी, एनएस राघवन, एस गोपालकृष्णन, एस डी शिवुलाल, के दिनेश र अशोक अरोराले इन्फोसिस सुरु गरेका थिए ।

इन्फोसिस कन्सलटेन्सीको स्थापना गर्दा पुँजी दुई सय ५० डलर अर्थात २५ हजार नेपाली रुपैयाँको थियो । अर्थात, सातजना साथीले २५ हजार रुपैयाँबाट कम्पनीको सुरुवात गरेका थिए ।

कम्पनीमा काम गर्ने सामान्य कर्मचारी पिउन र ड्राइवरपनि करोडपति बनेका थिए ।


क्लिकमान्डु