पाँचै इन्द्रीय तरंगित पार्ने फल, २ सयको लगानीले २५ लाखसम्मको कमाइ



काठमाडौं ।  हेर्दा गोलाकार आकारको र लाम्चो देखिन्छ । बाहिर खैरो बोक्रा अनि अलि–अलि झुस । बोक्रा राम्रोसँग नताछी खाए जिब्रो खिर्याउँछ पनि । तर, राम्रोसँग र अलि बाक्लो गरी ताछेर खाए जिब्रो तुरुन्तै प्रेममा पर्छ, यो फलसँग ।

बोक्रासहित खासै आकर्षक नदेखिए पनि काटेपछि भने यो फल निकै आकर्षक देखिन्छ । हरियो र रसिलो । फलको केन्द्र भागको आकृति मानव कोषको केन्द्र भाग (न्युक्लियस) जस्तै देखिन्छ, जुन घ्यू रङ्गको हुन्छ । यो केन्द्र भागलाई स–साना काला गेडाहरुले (तोरीका गेडाभन्दा केही साना) घेरेर राखेका हुन्छन्, सुन्दर रानीलाई सिपाहीहरुले घेरेर राखे जस्तै ।

मानिसका ५ वटै इन्द्रीयहरुलाई एकैसाथ तरङगित गराइदिने क्षमता राख्छ, यो फलले । हरियो, कालो र घ्यू रङ्गको कुशल संयोजनले आँखा, स्वादले जिब्रो, रस र चिस्यानले छाला, स–साना काला गेडा चपाउँदा आउने आवाजले कान र प्राकृतिक सुवासले नाकमा झंकार पैदा गराउँछ ।

फलको नाम हो किवीफ्रुट, जसलाई छोटोमा किवी पनि भनिन्छ ।

मीठो स्वाद र गुनिलो चरित्रका कारण यो फलले नेपालमा पनि आफ्नो जरो गाड्न थालिसेको छ । यसको ब्यवसायीक संभावना देखेर नेपालीहरु यो फलको खेतीमा आकर्षित हुन थालसिकेका छन् ।

त्यसैको एउटा उदाहरण हो सिन्धुपाल्चोकको हैबुङ गाउँमा भैरहेको किवीको ब्यवसायीक खेती । बिसं २०७० सालदेखि २ करोडको लगानीमा स्थानीय ४० जना किसानले सामुहिक रुपमा यहाँ किवी खेती गर्दै आएका छन् ।

यो ब्यवसायले प्रत्यक्ष रुपमा बार्षिक १ हजार जनालाई रोजगारी दिइरहेको कृषक दिनेश कुमार सिग्देल बताउँछन् ।

‘हामीले शुरुमा ३ सय रोपनी जग्गा भाडामा लिएर किवी खेती शुरु गरेका हौं, र, बर्सेनि बढाउँदै लाने गरेका छौं,’ उनी भन्छन् ।

किवीको बिरुवा रोपेको ४ बर्षदेखि फल लाग्न शुरु हुन्छ । यहाँका किसानहरुले पहिलो चरणमा नेपाली बजारलाई नै प्राथमिकतामा राख्ने र दोस्रो चरणमा निर्यात गर्ने लक्ष्य लिएका छन् । तर, अहिले नै न्युजिल्याण्डका केही कम्पनीहरु किबी किन्न सिन्धुपाल्चोकसम्म नपुगेका भने होइनन् ।

किवी रोप्दा भने भाले र पोथी दुईवटै बोट रोप्नुपर्ने रहेछ । मान्छेको जस्तै प्रजनन प्रणालीको लागि किवी फल्न पनि दुवै लिङगको आवश्यकता पर्ने रहेछ ।

‘किवीको उत्पादन चाहिँ पोथी बोटले मात्र गर्छ, भालेले गर्दैन, महिलाले मात्र बच्चा जन्माए जस्तै,’ दिनेशले भने ।

मंसिरदेखि फागुनसम्म उत्पादन हुने यो गुनिलो फलबाट वाइन र जामजस्ता खाद्य पदार्थ पनि बनाउन सकिन्छ । र, त्यसका लागि गृहकार्य पनि शुरु भैसकेको दिनेश बताउँछन् । पछिल्लो समयमा भने बिभिन्न हर्बल उत्पादनमा पनि किवीको प्रयोग हुन थालेको छ ।

पोषणको कुरा गर्दा एउटा मध्यम आकारको किवीमा ४६ क्यालोरी, ०.३ ग्राम फ्याट, १ ग्राम प्रोटिन, ११ ग्राम र्काबोहाइड्रेट हुन्छ । किवी भिटामिन सी, भिटामिन के र भिटामिन इको पनि राम्रो स्रोत हो ।

कसैकसैलाई भने किवीको एलर्जी पनि हुन सक्छ । मुख चिलाउने, खिर्याउने आदि हुन सक्छ ।

यो फलको ब्यवसायीक खेती बिशेषतः न्युजिल्याण्ड, इटाली, चिली, ग्रिस, फ्रान्स आदि देशमा हुँदैं आएको छ । सन् १९६२ ताका न्युजिल्याण्डका उत्पादकहरुले यो फललाई ‘किवी फ्रुट’ भन्न थालेपछि यसको नाम यही रहन गएको मानिन्छ । सन् १९६६ मा न्युजिल्याण्डबाट अमेरिका प्रवेश गरेपछि यसको नाम छोट्टिँदै किवी हुन पुगेको बताइन्छ ।

किवीको इतिहास खोतल्दै गयो भने चाहिँ १२ औं शताब्दीको चीनसम्म पुग्नुपर्ने हुन्छ । न्युजिल्याण्डमा यसको बिस्तार भने २० औं शताब्दीतिर भएको मानिन्छ ।

यो फललाई सर्वप्रथम नेपाल भित्र्याउने जश भने डा. सूर्य पाण्डेलाई जान्छ । उनले केही बर्ष अघि काभ्रेमा किवीको ब्यवसायीक खेती शुरु गरेका थिए ।

उनले शुरु गरेको किवी खेतीले अहिले नेपालमा लामो यात्रा गरिसकेको छ । बिरुवाहरु नेपालमै उत्पादन हुन थालिसकेका छन् ।

करिब ५० प्रतिशत नेपालीहरु बेरोजगारीको समस्याले पिल्सिरहेका बेला किवी खेती स्वरोजगारको राम्रो बिकल्प हुनसक्छ । अरु अन्नबाली नउम्रिने भिरालो पाखो भएपनि हुने किवीको बोटको आयु १०० बर्षसम्म हुने दिनेश बताउँछन् । र, एउटै बोटले प्रतिसिजन ५० किलोसम्म किवी उत्पादन गर्छ ।

हैबुङका स्थानीयहरु २ देखि ३ बर्षमै आफ्नो लगानी उठ्नेमा ढुक्क छन् ।

कृषकका अनुसार किवीको भाले र पोथी गरी एक जोडी विरुवा किन्न २ सय रुपैयाँ लाग्छ । र, यी दुईमध्ये पोथी बोट मात्रै फल्छ । यस्तो फल प्रतिकेजी ३ सय रुपैयाँदेखि ५ सय रुपैयाँमा विक्री हुन्छ । सय बर्ष बाच्ने बोटले बार्षिक ५० केजीको दरमा उत्पादन दिदा एउटा बोटबाट मात्रै ५ हजार केजी किवी फल उत्पादन गर्ने कृषकहरु बताउँछन् । आजको बजार मूल्यमा गणना गर्दा पनि २ सय रुपैयाँमा किनेको विरुवाले १५ लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म कमाइ हुने देखिन्छ ।

तर, किवी खेतीमा केही समस्या भने नभएका होइनन् । सबैभन्दा ठूलो समस्या भनेको जरामा लाग्ने किरा रहेछ । ‘यसको लागि एउटै उपाय भनेको गाइको गहुँत हो,’ दिनेश भन्छन् ।


क्लिकमान्डु