देशभर २९ तारे होटल थपिँदै, कुन होटल कहाँ बन्दैछन् ?



काठमाडौँ । पर्यटन क्षेत्रको विकास र विस्तारको महत्वपूर्ण आधार होटल व्यवसायमा पछिल्लो समय लगानी बढेर गएको छ ।

पछिल्लो समय चौधरी ग्रुप, गोल्छा अर्गनाइजेशन जस्ता प्रतिष्ठित व्यापारिक समूह होटल व्यवसायतर्फ आकर्षित भएका छन् भने हिल्टन, मेरियट, सेराटनजस्ता अन्तर्राष्ट्रिय सञ्जाल रहेका ठूला कम्पनीले पनि नेपालमा लगानी बढाएका छन् ।

पर्यटन क्षेत्रमा अनुकूल वातावरण बनेको ठान्दै व्यवसायीले नेपालमा लगानी बढाए पनि पर्यटन आगमनको सुनिश्चितता र पर्यटकीय पूर्वाधार पर्याप्त नहुँदा लगानी डुब्ने पो हो कि भन्ने जोखिम पनि कायमै रहेको होटल व्यवसायीहरु बताउँछन् ।

होटल एशोसिएशन नेपाल (हान)का अनुसार होटल क्षेत्रमा ३ खर्ब रुपैयाँ भन्दा बढी लगानी भएको छ । करिब २ खर्ब ५० अर्ब रुपैयाँ लगानी रहेको यो क्षेत्रमा पछिल्लो समय ५७ अर्ब रुपैयाँ थपिएको हो ।

सन् २०२० सम्म तारे होटलमा अरु चार हजार शय्या थपिनेछन् । अहिले सञ्चालित होटलका कुल शय्या ३८ हजार हो ।

सरकारले सन् २०२० भित्र नेपाल आउने पर्यटकको संख्या २० लाख पु¥याउने लक्ष्य लिएको छ । तद्नुरुप पर्यटकीय पूर्वाधार निर्माणले भने गति लिन नसकेको व्यवसायीको भनाइ छ ।

होटलमा लगानी बढ्नु सुखद पक्ष भए पनि पूर्वाधारको अभावमा लगानी जोखिममा पर्नसक्ने खतरा रहेको हानका अध्यक्ष अमरमान शाक्य बताउँछन् ।
‘ठूला होटलले बैंकबाट ऋण लिएर लगानी गरेका छन् । सरकारले होटल, विमानस्थल, सडकजस्ता पूर्वाधार थपेर सेवा नदिने हो भने पर्यटक आउन मुस्किल छ । पर्यटक भएनन् भने होटलका कोठा कसरी भर्ने ? अहिलेकै अवस्था रहे ऋणसमेत डुब्ने खतरा छ । अहिलेको ‘अकुपेन्सी’ ७० प्रतिशत मात्रै हो, ठूला होटल थपिएपछि प्रतिस्पर्धा बढ्छ नै ।’ उनले भने ।

वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्य ठूला होटलमा लगानीका अवसर र चुनौती दुबै भए पनि अहिलेकै अवस्थामा पूर्वाधारमा जोड नदिइए लगानी जोखिममा पर्नसक्ने औँल्याउँछन् ।

‘बैंकको ऋणबाट ठूला लगानीका होटल/रिसोर्ट खुलेका छन् । पर्यटक बढेनन् भने कहाँबाट बैंकको साँवा ब्याज तिर्नु ? यसबाट होटल व्यवसाय मात्र हैन बैंक नै डुब्ने खतरा रहन्छ । त्यसकारण पूर्वाधार निर्माणलाई सरकारले तीव्रता दिन अवाश्यक छ ।’ शाक्यले भने ।

हानका अनुसार काठमाडौँलगायत पोखरा, चितवन, लुम्बिनी जस्ता प्रमुख पर्यटकीय गन्तव्य र हिमाली क्षेत्रमा साना ठूला सयौँको संख्यामा नयाँ होटल र रिसोर्ट खुल्ने क्रम जारी छ ।

देशभर उनन्तीस तारे होटल बन्दै

पर्यटन विभागका अनुसार ११ पाँचतारे, सात चारतारे र ११ तीनतारे गरी २९ वटा नयाँ होटल खुल्दैछन् । यस क्षेत्रमा लगानी बढ्नु समग्र पर्यटन क्षेत्रका लागि उत्साहजनक भएको विभागको होटल शाखाका निर्देशक विष्णुप्रसाद रेग्मीले बताउए ।

राजधानीका प्रस्तावित पाँचतारे होटलमा सिटी होटल कालीमाटी, होटल क्राउन इम्पेरियल रविभवन, एभरेस्ट हस्पिटालिटी नक्साल, जगदम्बा हस्पिटालिटी नक्साल र अकला होटल धुम्बाराही र होटल ली शेर्पा छन् ।

त्यस्तै, राजधानीबाहिर रारा परियोजना, होटल टाइगर वान रूपन्देही, होटल पवन प्यालेस लुम्बिनी, भेगास सिटी इन्टरटेन्मेन्ट र होटल मेची क्राउन झापा छन् ।

पछिल्लो आकाँडा अनुसार पर्यटन विभागमा दर्ता भएका होटलको संख्या ५८५ छ । विभागमा पाँचतारे १०, चारतारे तीन, तीनतारे ३१, दुईतारे ४३, एकतारे ३३ र पर्यटकस्तरका ४६५ वटा होटल दर्ता छन् ।

हानका महासचिव विनायक शाहका अनुसार अन्तर्राष्ट्रिय चेन होटल तथा ठूला व्यापारिक प्रतिष्ठानले होटलमा ठूलो लगानी गरेका छन् । नयाँ होटलमा मात्र करिब ५७ अर्ब रुपैयाँ लगानी थपिएको छ । निर्माणाधीन अवस्थाका १० वटा होटल सन् २०१९ भित्र सञ्चालनमा आउनेछन् ।

गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेको एमआइटी समूह होल्डिङ्सले करिब १२ अर्ब रुपैयाँको लगानीमा होटल शेराटन बनाइरहेको छ । यो सन् २०१९ भित्र सञ्चालनमा आउने जनाइएको छ ।

ठमेलको छाँयादेवी सेन्टरमा बन्दै गरेको पाँचतारे होटलमा झण्डै पाँच अर्ब रुपैयाँको लगानी छ र यो सन् २०१८ सम्ममा सञ्चालनमा आउनेछ । नक्सालमा चार अर्ब रुपैयाँ लगानीमा बनिरहेको मेरियट होटल पनि २०१९ भित्रै सञ्चालनमा ल्याउने योजना छ ।

रुपन्देहीको कोटिहवामा हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज समूहले निर्माण गरिरहेको टाइगर प्यालेस पनि पाँचतारे होटल हो । यसमा तीन अर्ब रुपैयाँ लगानी छ । भैरहवाको बालापुरमा पाँचतारे बोधि रेडसन होटल सञ्चालनको तयारीमा छ । बेलहियामा खोलिने नान्स होटल र पवन प्यालेसमा करोडौँको लगानी छ । सन् २०१९ भित्रै ती होटल खुल्नेछन् ।

पछिल्लो समय होटलमा लगानी बढेको बढ्यै छ, तर विदेशी पर्यटक आगमन भने खासै बढेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् २०१६ मा सात लाख २९ हजार ५५० पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

सन् २०१५ मा पाँच लाख ३८ हजार ९७० पर्यटक नेपाल आए । नेपाल पर्यटन वर्ष ९सन् २०११० मा सबैभन्दा बढी आठ लाख ३० हजार ९२ र लुम्बिनी भ्रमण वर्ष ९सन् २०१२० मा सात लाख ९७ हजार ६१६ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

पोखरामा एक खर्बको लगानी

पोखरास्थित रासस समाचारदाता वासुदेव पौडेलका अनुसार सुन्दर पर्यटकीय नगरी पोखरामा पर्यटक लक्ष्यित होटलमा व्यवसायीले एक खर्ब रुपैयाँ लगानी गरेका छन् ।

पोखरामा दुई पाँचतारे, १४ तीनतारे र अन्य पर्यटक स्तरीय होटेलको संख्या ४०० रहेको पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुलीले जानकारी दिए ।

‘हिप्पी’ पर्यटकको आगमनसँगै सन् १९६० देखि पोखरामा पर्यटक आउन थालेको हो र सन् १९८० को दशकदेखि यहाँ पर्यटन उद्योग फस्टाउन थालेको छ । भूकम्पअघि झण्डै वार्षिक छ लाख ५० हजार पर्यटक पोखरा आउँथे ।

अध्यक्ष पराजुलीका अनुसार भूकम्पपछि त्यो संख्या घटेर लगभग तीन लाख ५० हजारमा झ¥यो । नेपालमा आउने कुल पर्यटकमध्ये लगभग ४५ प्रतिशत पर्यटक पोखरा घुम्न जान्छन् ।

चितवन ‘पर्ख र हेर’को अवस्थामा

नाकाबन्दी, भूकम्प र अस्तव्यस्त नारायणगढ–मुग्लिन सडकका कारण चितवनमा पर्यटक आगमनमा कमी देखिएको छ । त्यसकारण यहाँ होटलमा ठूलो लगानी हुन सकेको छैन ।

नारायणगढ-मुग्लिन सडकखण्ड स्तरोन्नतिका क्रममा पहिरो खसेर घण्टौँ सवारी आवागमन अवरुद्ध हुन थालेपछि चितवन आउने पर्यटक अन्यत्र जाने गरेका छन् ।

जिल्लाको सौराहा, पटिहानी, जगतपुर, मेघौली लगायतका क्षेत्रमा पर्यटकीय होटल छन् । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा दुर्लभ वन्यजन्तु हेर्न स्वदेश र विदेशबाट पर्यटक आउँछन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार भूकम्प गएयता होटलमा लगानी घटेको छ ।

घिमिरेका अनुसार जग्गाबाहेक पर्यटकीय होटल निर्माणमा अनुमानित आठ अर्ब रुपैयाँ भन्दा बढी लगानी भइसकेको छ ।

अहिले यहाँका व्यवसायी लगानी गर्न धेरै इच्छुक भए पनि ‘पर्ख र हेर’को अवस्थामा रहेको उनले बताए ।

सौराहामा पार्क सफारीमा करिब २० करोड, जगतपुर र पटिहानीमा ३५ करोड रुपैयाँको लगानीमा होटल खुल्दैछन् । साना होटल बन्ने र स्तरोन्नति हुने क्रम रहे पनि आक्रामक ढङ्गबाट होटलमा लगानी नभएको घिमिरेले बताए ।

चितवनका रासस समाचारदाता नारायण अधिकारीका अनुसार व्यावसायिक घरानाहरु भने चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनको आसपासमा होटल खोल्ने तयारीमा रहेका छन् ।

जिल्ला पर्यटन विकास समितिका अध्यक्ष दिलीप मैनाली शहरी क्षेत्रमा होटल धानिन सके पनि निकुञ्ज आसपासका पर्यटकीय होटल धान्न मुस्किल भएकाले थप होटल खोल्ने क्रम घटेको बताउछन् ।

भूकम्पअघि एकै साथ मेघौलीमा बाराही, मेघौली सेराई, जगतपुरमा टाइगरल्यान्ड, जंगल भिल्ला, कसरा रिसोर्ट, सौराहामा ल्यान्डमार्क, ग्रिनपार्क र सेभेन स्टारजस्ता ठूलो लगानीका होटल बने । त्यसयता ठूला होटल बनेका छैनन् ।

चितवनमा अन्तर्राष्ट्रियस्तरका होटल पनि छन् । सिजी सफारी एन्ड टुर्स प्रालिले मेघौलीमा मेघौली सेराई ताज सफारीका नामबाट ठूलो होटल सञ्चालनमा ल्याएको छ ।

मेघौलीमै पछिल्लो समय खुलेको होटल बाराहीमा पनि ३० करोड रुपैयाँभन्दा बढी लगानी भएको प्रबन्ध निर्देशक विप्लव पौडेल बताउँछन् । रासस


पुष्प दुलाल