काठमाडौंमा १ तले घर किन्ने हो ? १ करोड ठीक पार्नुहोस्



काठमाडौं । तपाईंले काठमाडौंमा घर किन्ने सोच राख्नु भएको छ ? छ भने १ करोड रुपैयाँभन्दा कम मूल्यमा काठमाडौंमा घर किन्न असम्भव जस्तै भएको छ ।

न्यूनतम ३ आनामा बनेका एक तले चक्रपथ बाहिरका घर १ करोड घटी पाउन मुस्किल छ ।

घरजग्गा खरिदबिक्रीसँग सम्बन्धित विभिन्न वेवसाइटको अध्ययन गर्दा काठमाडौंमा जग्गा किनेर घर बनाउन तथा बनेको १ तल्लाको घरको लागि १ करोड पर्ने देखिएको छ ।

घर बिक्रीका लागि राखिएका सूचना हेर्दा ३ आनामा बनेको एक तलाको घरको मुल्य १ करोड रुपैयाँ छ ।

१ वर्षअघिसम्म ६० देखि ७० लाखमा पाइने १ तल्लाको घर अहिले १ करोड रुपैयाँ पर्न थालेको छ ।

बैकिङ क्षेत्रमा तरलता अभाव भएपछि घरजग्गाको मुल्य घट्ने अनुमान धेरैको थियो ।  तर, कारोबारमा केही शिथिलता आए पनि बजारमा मुल्य भने घटेको छैन ।काठमाडौंमा जग्गाको मुल्य पछिल्लो ५ वर्षकै अत्याधिक बढेको छ ।

घरजग्गा व्यवसायको परामर्श संस्था नेपाल प्रोपर्टी मार्केटका परामर्शदाता अमोल प्रधान भूकम्प र नाकाबन्दीपछि काठमाडौंमा जग्गाको मुल्य बढेको कारण १ तल्ला घरको लागि १ करोड मुल्य पुगेको बताउँछन् ।

‘१ वर्षमा जग्गामा भएको मुल्य बृद्धिले काठमाडौंमा मध्यमवर्गलाई घर किन्न असम्भव जस्तो बनाएको छ,’ प्रधानले क्लिकमाण्डूसँग भने, ‘मध्यमवर्गको लागि काठमाडौंको घर अब सपनामात्र हुने अवस्था सिर्जना हुँदै छ ।’

अघिल्लो वर्षसम्म बैंक तथा वित्तीय संस्थामा अत्याधिक तरलताको कारण घरजग्गा क्षेत्रमा अत्याधिक लगानी भयो ।

राष्ट्र बैंकले १ करोड रुपैयाँभन्दा तल घरजग्गा निर्माण तथा खरिदको लागि जाने कर्जालाई रियलस्टेटमा जाने कर्जाभित्र राख्दैन ।

बैंकहरुले घरजग्गा खरिदको लागि ओभरड्राफट्बाट पनि कर्जा दिए । राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समिक्षामार्फत् अनुत्पादक मानिने कर्जामा कडाई गरेपछि घरजग्गाको मुल्यमा भने यसको असर देखिएको छैन ।

घरजग्गा व्यवसायी तारा खड्का अघिल्लो वर्षसम्म १० देखि १२ प्रतिआना किन्न सकिने ठाउँका घडेरी २० लाखसम्म पुगेको बताउँछन् ।

‘३ आना घडेरी एकवर्षको तुलनामा २५ देखि ३० लाखसम्म महंगो छ,’ खड्काले क्लिकमाण्डूसँग भने, ‘जसले गर्दा ३ आनामा बन्ने घरको मुल्य १ करोड पुगेको छ ।’

१ वर्षअघिसम्म ३० देखि ३५ लाखसम्म पाइने जग्गा ५० देखि ६० लाखसम्म पुगेको छ । काठमाडौं उपत्यकामा न्यूनतम पनि ३ आना जग्गा किन्नको लागि ५० लाख रुपैयाँ खर्च हुन्छ ।

१ तले घर निर्माणका लागि हुने २५ देखि ४० लाखसम्म खर्च आउने गरेको छ । यस आधारमा काठमाडौंमा घर किन्न १ करोड रुपैयाँ लाग्ने देखिएको हो ।

१ वर्षको अवधीमा बैंकहरुले आवासीय घर निर्माणका लागि ६० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार बैशाखसम्ममा २ खर्ब ९३ अर्ब रुपैयाँ आवासीय घर निर्माणको लागि गएको छ ।

ओभरड्राफ्ट शिर्षक अन्तर्गत ३ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा गएको छ । ओभरड्राफ्टको ऋणको केही हिस्सा घरमा लगानी भएको हुनसक्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

बैकिङ क्षेत्रमा तरलता अभाव भएपछि घरजग्गाको मुल्य घट्ने अनुमान धेरैको थियो ।  तर, कारोबारमा केही शिथिलता आए पनि बजारमा मुल्य भने घटेको छैन ।

देशभरकै घरजग्गाको मुल्यलाई हेर्ने हो जग्गाको मुल्य अत्याधिक बढेको छ । बैदेशिक रोजगारीमा जानेहरुले कमाएपछि लगानीलाई पहिलो प्राथमिकता दिने भनेको घडेरी खरिद हो । जसको प्रभावले पहाडी क्षेत्रमा गाउँहरु खाली हुँदै गएका छन् ।

‘काठमाडौंमा जग्गाको मुल्य पछिल्लो ५ वर्षकै अत्याधिक बढेको हो,’ प्रोपर्टी मार्केटका परामर्शदाता प्रधानले भने, ‘मुल्य बृद्धि अहिलेको जस्तो नभएपनि घट्ने सम्भावना त्यति देखिएको छैन ।’

घरजग्गाको भाउ महंगो भएको भन्दै नेपाल बैंकर्स संघले १ करोड रुपैयाँको आवासिय कर्जाको सीमा बढाउन माग गरेको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा आवासिय कर्जाको सीमा बढाएर २ करोड रुपैयाँ पुर्याउन बैंकर्स संघले माग गरेको हो ।

‘घरजग्गाको मूल्य बढेको छ , अहिले काठमाडौंमा १ करोड रुपैयाँमा आवासिय घर पाउन मुस्किल छ,’ बैंकर्स संघका उपाध्यक्षसमेत रहेका एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले भने, ‘त्यसैले हामीले यो सीमालाई बढाएर २ करोड पुर्याउन माग गरेका हौं ।’


पुष्प दुलाल