यसरी पदयात्रामा जान सकिन्छ बुद्धचित्तको राजधानी तिमाल गाउँ (फोटोफिचर)



काठमाडौं । तपाईं पदयात्रा जानको लागि वर्षादको समयमा रोकिनु भएको छ ? भने अब रोकिनु पर्दैन । सुन्दर स्थान भएर पनि ओझेलमा परेको काठमाडौ नजिकैको ग्रेट बुद्धिष्ट मास्टर्स ट्रेल पदयात्राको लागि छनोट गर्न सकिन्छ । जसबाट केही दिन भने पनि आफुलाई सहज र भिडभाड बाट टाढा राख्न सकिन्छ ।

अहिलेको मौसम खासगरी पदयात्राको लागि उपयुक्त नभएपनि छोटो र सजिलो पदमार्गहरुमा भने सहज र हरियाली समयले मनमोहक र रमाइलो प्रदान गर्दछ । पछिल्लो समयमात्र काठमाडौैको नजिकको स्थान बुद्धिष्ट मास्टरर्स टे«लमा जान सकिन्छ । जसको लागि पाँच दिनको समय छुट्याउँदा प्रयाप्त हुने छ ।

हुनत काठमाडौबाट गाडीमा पनि सहजै जान सकिने भएपनि पदयात्राका पारखीहरुले भने सहज तरिकाले पदयात्रामा गएर प्रकृति संग रमाउन सक्छन् । गत वर्ष ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले एक्सप्लोर गरेको उक्त ट्रेल काभ्रे र सिन्धुपाल्चोक जिल्लामा पर्दछ ।
कसरी जाने ?

पहिलो दिन: काठमाडौं-पनौति-नमोबुद्ध

पहिलो दिन काठमाडौबाट गाडीमा पनौतिसम्म जान सकिन्छ । त्यसपछि भने पदयात्रा सुरु हुन्छ । पनौति साँस्कृति दृष्टीले एकदमै धनी क्षेत्र हो । जहाँ नेवारी जातिको विभिन्न कल्चर देख्न पाइन्छ । जसले गर्दा जो सुकैलाई पनि रमाइलो बनाउँछ ।

पनौति वरपर रहेको नदी खोला तथा विभिन्न मन्दिरहरुको अवलोकन गर्न सकिन्छ । पनौतिको इं.सी सम्बत १०८२ देखि उत्पती भएको अनुमान गरिन्छ । काभ्रे सदरमुकामबाट ३२ किलो मिटर टाढा रहेको क्षेत्र पनौति भौगोलिक हिसावलेसमेत रमणीय रहेको छ । केहीबेरको घुमघाम र आरामपछि भने यात्रा नमोबुद्धतर्फ हुने छ ।

नमोबुद्ध

बुद्धिष्ट धर्मालम्बीहरुको लुम्बिनी, स्वम्भुनाथ पछिको अर्को महत्वपूर्ण क्षेत्रको नमोबुद्ध । जहाँ हजारौ बुद्धिष्टहरु बार्षिकरुपमा जाने गरेका छन भने अन्य क्षेत्रका मानिसहरु पनि नमोबुद्ध जाने गरेका छन् । स्वदेशी तथा विदेशी पर्यटक जाने नमोबुद्ध क्षेत्रको बनाइयो आर्कषक बुद्धिष्ट गुम्बाहरुले अझै मन लोभ्याउने छ । भने प्रकृतिको चिसो वातावरणले थकाइ मेटाउने छ ।

समुन्द्री सतहबाट १ हजार ६ सय ७२ मिटर उचाइमा रहेको नमोबुद्ध जान पनौतिबाट १० किलोमिटर उकालो हिड्नु पर्दछ । यात्राको पहिलो दिन सोही स्थानमा बसोबास हुने भएको त्यहाँ होटल, लज तथा गेष्ट हाउसहरु पनि पर्याप्त मात्रमा खुलेका छन् । स्थानीय परिकारहरु समेत खाएर होमस्टेमा समेत बस्ने व्यवस्था नमोबुद्ध क्षेत्रमा रहेको छ ।

दोस्रो दिनःनमोबुद्धदेखि कोट तिमाल

नमोबुद्ध बाट बिहान देखि सुरुहुने यात्रा कोट तिमाल पुग्नको लागि दिनभरी जसो हिड्नु पर्ने हुन्छ । बाटोमा नेवार, तामाङ तथा ब्राहमणको संस्कृति झल्कने गाउँ बस्ती हेर्दै जान पाइने छ । दाप्चा, स्यामत्ती क्षेत्र हुदै गइन्छ बाटोमा सल्लाह, लप्सी गुराँसको सिजनमा गुराँस फुलेको दृष्य समेत देखिन्छ ।

ओरालो उकालो गर्दैै काभ्रेको भकुन्डेबेसी पुगेर केही बेर आराम गर्न सकिन्छ । विहानको खाना सोही स्थानमा खाएर अगाडी बढ्दा उपयुक्त हुन्छ । भकुन्डेबेसीबाट भने केही यात्रा उकालो चढ्नु पर्ने हुन्छ । झन्डै ३ घन्टाको पदयात्रा पछि भने यात्रा कोट तिमालमा पुग्ने छ ।

१ हजार ७ सय १४ मिटर उचाइमा रहेको कोट तिमालमा तमाङको मुख्य बसोबास रहेको छ । भने अन्य जातीहरुको पनि थोरै थोरै बसोबास रहेको छ । तिमाल दरबारको साथै कोशी र रोसी नदी देख्न पाइन्छ । जसले गर्दा मनमोहक बनाउँछ । तत्कालिन नेपालको एकिकरणको समयमा पृथ्वी नारायण शाहले कोट तिमालको नाम दिइएको किम्बदन्ती रहेको छ ।

तिमालबाट आधा दर्जन भन्दा बढी हिमालको दृष्य अवलोकन गर्न पाइन्छ । जहाँबाट गणेश हिमाल, लाङटाङ र गौरिशंकर हिमालको रेन्च हेर्न पाइन्छ । अत्यन्तै सुन्दर वातावरण भएकोले तिमाल अहिले चर्चित क्षेत्रको रुपमा विकास हुदै गएको छ । दोस्रो दिन तिमालमै बास बस्ने भएकोले त्यहाँ बेलुका र भोलीपल्ट विहानका दृष्यहरु हेर्न पाइन्छ । बास बस्नको लागि साना होटलहरु तथा स्थानिय घरहरुमा समेत बस्न सकिन्छ । अहिले सानो रुपमा होमस्टेको समेत सुरुवात भएको छ ।

तिमालको चर्चा बुद्धचित्त

अत्यन्तै महंगोमा बिक्री हुने बुद्धचित्तको उत्पादन हुने स्थान कोट तिमालमा अहिले आम्दानीको मुख्य स्रोत बनेको छ । पछिल्लो समय कोट तिमालमा बुद्ध चित्तको बोट हेर्नको साथै खरिद गर्नको लागि समेत सयौ पर्यटकहरु जाने गरेका छन । बुद्धिष्टले अत्यान्तै महत्व दिने भएकोले बुद्धचित्तको माग बढ्दो छ । सो क्षेत्रको बुद्धचित्तको बगैचाले समेत एकदमै रमणिय बनाउँदछ ।

तिमालमा पर्यटन उद्यान बन्दै

टानले तिमाल स्मारक बनाउने तयारी गरेको छ । ४१ रोपनी जग्गामा निर्माण गर्न लागिएको ऊक्त स्मारकले पर्यटकहरुलाई अर्कर्षित गर्ने दावी टानका महासचिव कर्ण लामा गर्दछन ।
‘गाडी र पदयात्रबाट सजिलै तिमाल पुग्न सकिने भएको स्मारक बनाउन लागिएको हो,’ लामाले भने ।

काभ्रेका ८ वटा गाविसको केन्द्रविन्दु तिमाललाई मानेर स्मारक बनाउन लागिएको हो । स्मारकमा नेपालमा आएर ज्यान गुमाउने पर्यटक तथा पर्यटक घुमाउँदा ज्यान गुमाएका नेपालीहरु नाम तथा सालिकहरु निर्माण गरिने छ । भने भव्य भ्यु टावर र उद्यान हुने टानले जानकारी दिएको छ ।

तेस्रो दिनः कोट तिमाल देखि छापापोखरी

तिमालमा बिहानको दृष्अवलोकन पश्चात भने यात्रा छापापोखरी तर्फ हुनेछ । बुद्धिष्टहरुको गुरु रिम्पोचे र धर्मगुरु पद्मासम्भावब बसेको स्थान ग्यालुङले चर्चित बुद्धिष्ट धर्मालम्बीहरुले विशेष महत्व दिने गर्दछन । ग्यालुङबाट तोङसाङ हुदैै यात्रा काभ्रेको नारायणथान मन्दिरतर्फ हुने छ ।
१ हजार ९ सय १२ मिटर उचाइमा रहेको उक्त नारायणथान मन्दिर भने हिन्दु धर्मालम्बीहरुको लागि चर्चित मन्दिर हो । मन्दिरमा झाँक्री बस्ने परम्परा रहेको छ । केही उकालो र ओरालो गर्दै तेस्रो दिनको बास बसाई छापापोखरीमा हुने छ ।

अत्यन्तै सुन्दर स्थान छापापोखरी १ हजार ७ सय ५५ मिटर उचाइमा रहेको छ । बस्ने साना होटल तथा लज रहेका छन । त्यसको साथै होमस्टेहरु समेत रहेका छन । खानको लागि भने स्थानिय परिकारहरु समेत उपलव्ध हुने गरेको छ ।

चौथो दिनः छापापोखरी देखि नेपाल थोक

विहान एक कप चिया खाएर छापापोखरीबाट यात्रा नेपाल थोकको गर्न सकिन्छ । सिन्धुपाल्चोक तर्फ रहेको नेपाल थोक अत्यान्तै सुन्दर र रमणिय स्थान हो ।

सुनकोशी, रोशी लगायत नदीको नजिक हुदै जाने ऊक्त स्थानमा तामाङ तथा अन्य जातजातीहरुको बसोबास रहेको छ । नेपालथोक जानको लागि महाभारतको उच्च श्रृङखलाको अवलोकन गर्र्दै जान सकिन्छ ।

काभ्रे, रामेछाप तथा सिन्धुली क्षेत्रमा पर्ने महाभारत श्रृङखलाको दृष्यले पदयात्रालाई रमणिय बनाउँछ । समुन्द्रि सतहबाट जम्मा ५ सय ८ मिटर उचाइमा रहेको नेपालथोकमा बाल्मिकी गुफासमेत रहेको छ । छापापोखरीबाट झन्डै ७ घन्टाको हिडाइपछि नेपालथोक पुग्न सकिन्छ । पदयात्राको चौथो दिन सोही स्थानमा बासोबास गर्नुपर्ने हुन्छ ।

पाँचौ दिनः नेपालथोकदेखि काठमाडौं

विहानको चिया तथा नास्ता गरेर कुशेवर महादेव मन्दिरको दर्शन गरेर काठमाडौ तर्फको यात्रा तय गरिन्छ । नेपालथोक कोदारी राजमार्ग नजिक पर्ने भएकोले काठमाडौ तीन घन्टाको गाडीको यात्रामा आउन सकिन्छ ।

पदयात्राको लागि के के लैजाने ?

-हिड्नु पर्ने भएकोले स्पोर्टस सुज तथा कपडा सोही अनुसार
-लठ्ठी, तथा केही सामान्य औषधीहरु
-जिवनजल, पानीको बोत्तल र केही ड्राई फुडहरु
-रेनकोट, छाता, झोल र केही जोर कपडा

कति लाग्छ खर्च ?

खासै महंगो होटलहरु नभएकोले समान्य खर्चमा पनि पदयात्रा सम्पन्न गर्न सकिन्छ । दैनिक १ हजारको दरले पाँच दिनमा ५ हजार रुपैयाँले पदयात्रा सम्पन्न गर्न सकिन्छ ।

प्याकेज बिक्री

काठमाडौंबाट नजिकको गन्तव्य भएकोले व्यवसायहीहरुले स्वदेशी र विदेशी दुवैलाई प्याकेज बिक्री सुरु गरेका छन् । काठमाडौंबाट छिटो गएर फर्कन चाहनेहरुको लागि पदयात्रा छिटो सकाएर ३ दिनको प्याकेजमासमेत छोट्याइने गरेको छ भने विदेशीहरुले प्रायः पाँच दिनको प्याकेज लिने गरेको टानका महासचिव कर्ण लामाले बताए ।


पुष्प दुलाल