लघुवित्तको सेयरमा किन यस्तो आकर्षण ? यस्ता छन् अबसर र जोखिम




काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचीकृत करिब ३ दर्जन माइक्रोफाइनान्सको सेयर मूल्य हेर्दा अधिकाशंको निकै उच्च छ ।

जनउत्थान, नागबेली, समिट, आरएसडिसी, रिलायबल, एनएमबी, किसानलगायत माइक्रोफाइनान्सका सेयर मूल्य ३ हजार रुपैंयाँ प्रतिकित्ताको हाराहारीमा छ ।

त्यसैगरी फरवार्ड, लक्ष्मी, मेरो, नयाँ नेपाललगायत माइक्रोफइनान्सको सेयर मूल्य २ हजार रुपैंयाँको हाराहारीमा छ ।

सबैभन्दा कम सेयर मूल्य भएका लघुबित्त कम्पनीहरु सूर्योदय, रुरल, नेपाल ग्रामीण र नमस्ते वित्तीय संस्था जस्ता माइक्रोफाइनान्सको समेत प्रतिकित्ता सेयर मुल्य (अन्तिम कारोबार) क्रमशः ६५९, ७८१, ७५९ र ५५० रुपैंयाँ रहेको छ ।

तर, यसको मतलब सबै लघुबित्त कम्पनीको वित्तीय अवस्था बाणिज्य बैंक वा अन्य क्षेत्रका कम्पनीको भन्दा राम्रो छ भन्ने होइन । खासै राम्रो वित्तीय बिवरण नभए पनि त्योभन्दा राम्रो वित्तीय बिवरण भएका अन्य क्षेत्रका कम्पनीका भन्दा लघुबित्त कम्पनीका सेयर मूल्य उच्च छ ।

आम लगानीकर्तामाझ पनि लघुबित्त कम्पनीहरुको सेयर मूल्य निकै माथि जान्छ भन्ने छाप परेको छ । त्यसैले उनीहरु आइपिओको समयमा १० कित्ता सेयर हात पार्न पनि घण्टौं लाइनमा बस्ने गरेका छन् ।

किन हुन्छ लघुबित्त कम्पनीको सेयर मुल्य उच्च ?
किन माइक्रोफाइनान्स कम्पनीको सेयर मुल्य उच्च हुन्छ भन्ने कुरा बुझ्नु भन्दा पहिले कम्पनीको आकारका बारे बुझ्नु पर्ने हुन्छ ।

सेयर बजारमा कम्पनीको आकार तय गर्ने सबैभन्दा प्रचलित उपाय हो बजार पुँजीकरण । कम्पनीको सुचीकृत सेयर संख्यालाई सेयर मुल्यले गुणा गरेर आउने संख्या नै सो कम्पनीको बजार पुँजीकरण हो ।

नेपालको सेयर बजारमा बाणिज्य बैंकहरुको पुँजी उच्च भएका कारण उनीहरु बजार पुँजीकरणका हिसाबले ठूला कम्पनी हुन् । यस्ता कम्पनीलाई वित्तीय भाषामा ‘लार्ज क्याप’ भनिन्छ । यसैगरी अत्यन्तै कम पुँजी भएका कारण लघुबित्त कम्पनीहरु बजार पुँजीकरणका हिसाबले साना कम्पनी हुन् । यस्ता कम्पनीलाई ‘स्मल क्याप’ कम्पनी भनिन्छ ।

लगानीकर्ताले ‘स्मल क्याप’ कम्पनीहरु आफ्नो पोर्टफोलियोमा समावेश गर्नु निकै आकर्षक कुरा हो । र, एतिहासिक रुपमा हेर्ने हो भने नेपालमा मात्र नभएर बिश्वभरी नै साना कम्पनीहरुले ठूलो कम्पनीको तुुलनामा सेयर बजारमा राम्रो प्रर्दशन गरेका पनि छन् ।

सेयर बजारमा ठूला र साना कम्पनीको तुलना हात्ती र मृगसँग गर्न सकिन्छ । हात्ती उफ्रदैं हिँड्न सक्तैन । तर, मृगको गति तिब्र हुन्छ । र, छोटो समयमै धेरै दुरी तय गर्छ । तर, प्रतिकुलताको सामना गर्ने क्षमताको हिसाबले मृग हात्तीको तुलनामा कमजोर हुन्छ । अन्य जनावरले खाइदिन पनि सक्छन् । ठीक त्यस्तै साना वा ‘स्मल क्याप’ कम्पनीहरु पनि बियर मार्केटमा ठूला कम्पनीभन्दा छिटो झर्छन् ।

साना कम्पनीहरु ठूला कम्पनीको तु्लनामा लगानीका लागि जोखिमपूर्ण मानिन्छन् । उनीहरुसँग साधन स्रोतको कमी हुनुको साथै परिवर्तित ब्यवसायीक वा अन्य मौसमलाई सहज रुपमा आत्मसात गर्ने वा सामना गर्ने क्षमता कम हुन्छ ।

तर, साना कम्पनीहरुले लगानीकर्तालाई लाभांश धेरै दिन्छन् । र, कम्पनीको बृद्धिदर पनि उच्च हुन्छ । एकरुपता भने नहुन पनि सक्छ । बिशेषत आर्थिक संकुचनका बेला साना कम्पनीहरुमा गरिएको लगानी निकै जोखिमपूर्ण मानिन्छ ।

नेपालका लघुबित्त कम्पनीहरुको पनि प्रतिसेयर आम्दानी उच्च छ । नेपालका उच्च प्रतिसेयर आम्दानी भएका ५ लघुबित्त कम्पनीहरु फर्वाड कम्युनिटि, नादिप, नागबेली, नेशनल र छिमेक लघुबित्त हुन् । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म उनीहरुको प्रतिसेयर आम्दानी क्रमशः १३६.४५, ७९.२९, ७४.७५, ७४.५२ र ७०.९३ रुपैंयाँ रहेको छ । यसको मतलब उनीहरु आफ्ना लगानीकर्तालाई उच्च प्रतिफल दिने क्षमता राख्छन् ।

नेपालमा मात्र नभएर बिश्वभरी नै साना कम्पनीको प्रतिफल उच्च छ । उनीहरुले बिगत १६ बर्षमा ठूला कम्पनीको भन्दा तीन गुणा बढीले प्रतिफल दिएका छन् । बिश्वका बिभिन्न २३ बिकसित बजारहरुको साना कम्पनीको प्रतिफलको आधारमा यो तथ्याङ्क निकालिएको हो ।

तर, इतिहासले सँधै भविष्यमा सही नै बाटो देखाउँदैन । साना कम्पनीहरुमा तरलता र तीब्र उतारचढावको जोखिम त छँदैछ । फेरि राम्रो सानो कम्पनी, जुन भविष्यमा ठूलो बन्ने क्षमता राख्छ, छान्ने चुनौति पनि छ । साथै, साना कम्पनीको मूल्य आम्दानी अनुपात पनि उच्च देखिन्छ । बिश्वमा ठूला कम्पनीको (निश्चित बजार पुँजीकरणका आधारमा ठूला कम्पनी भनिएको हो) मूल्य आम्दानी अनुपात औसतमा १६ छ भने सानाको २५.८ छ । मूल्य आम्दानी अनुपात जति बढी भयो लगानीको लागि त्यस्तो कम्पनी उति नै जोखिमपूर्ण मानिन्छ ।

नेपालमा पनि लघुबित्त कम्पनीहरुको मूल्य आम्दानी अनुपात निकै उच्च छ । सिभिल लघुबित्त, एनएमबी, नयाँ नेपाल, किसान र रिलायबल माइक्रोफाइनान्सको मूल्य आम्दानी अनुपात क्रमशः २१५, १५१, ५८, ५१ र ४८ गुणा छ ।

उता उच्च मूल्य आम्दानी अनुपात भएका ५ बाणिज्य बैंकहरु सिभिल, स्ट्यान्डर्ड चार्टर्ड, एसबिआइ, एभरेष्ट र एनसीसी बैंकको मूल्य आम्दानी अनुपात क्रमशः ६९, ६२, ४९, ४६ र ४२ गुणा मात्र छ ।

कस्ता लगानीकर्ताले छान्ने साना कम्पनी ?
आफ्नो पोर्टफोलियो बनाउने क्रममा ठूला र साना कम्पनीको सन्तुलन कसरी मिलाउने भन्ने प्रश्न महत्वपूर्ण छ । यसमा आफ्नो उमेर, दायित्व जोखिम बहन गर्ने क्षमतालगायतको आधारमा निर्णय लिनु उचित हुन्छ ।

ठूला संस्थागत लगानीकर्ताहरु पेन्सन फण्ड, बीमा कम्पनीहरु र म्युचुअल फण्डहरु सामान्यतः ठूला कम्पनीहरु रोज्छन् । उनीहरुले जनताको पैसा चलाउने हुनाले बढी सचेत र जवाफदेही हुनै नै भए ।

उता साना कम्पनीमा भने निकै अवसर हुन्छ, सेयर मूल्य र कम्पनीको ब्यवसाय बृद्धि दुवैको । सामान्यतः युवा र पारिवारिक र अन्य दायित्व कम भएका लगानीकर्ताका रोजाइमा यस्ता कम्पनीहरु पर्छन् ।


क्लिकमान्डु