पैसा छ भने सेयर, घरजग्गा, सुन किन्नु हुन्छ कि बैंकमा राख्नुहुन्छ ?: रविन्द्र भट्टराईको बिचार



मेरा एकजना आफन्त केही दिनभित्रै सरकारी सेवाबाट अवकास लिदैछन् । उनीसँग कर्मचारी सँचय कोषमा केही पैसा बचत छ । संचित विरामी विदालगायतबाट अरु केही पैसा उनलाई प्राप्त हुन्छ । जागिरबाट अवकाससँगै उनको आम्दानी पेन्सनमा सिमित हुँदैछ । जुन अहिलेको तलवको करिव आधा बराबर होला । तर खर्च घट्नेवाला छैन । अझ बढेर जाने छ ।

यी आफन्तको जस्तै अन्य धेरै कर्मचारी सरकारी सेवाबाट अवकास लिदै होलान् । उनीहरुसँग पनि केही पैसा वचत होला । कोही विदेशबाट केही पैसा लिएर फर्कदै होलान् । कसैले आफ्नै व्यापार व्यवसायबाट केही पैसा संचित गरेको पनि हुन सक्छ । हरेकको उद्देश्य तत्काल कुनै घर वा जग्गा किन्नु छैन । त्यही पैसाकै भरमा दैनिकि चलाउनु पर्नेछ । त्यसैले सवैको चिन्ता भएको पैसा कहाँ लगानी गर्दा साँवा नघटाई बढी प्रतिफल लिएर खर्च गर्न सकिन्छ भन्नेमा नै छ ।

बेरोजगार पैसा र बेरोजगार मानिस उस्तै हुन । दुवै अवस्थाले साँवा वा मुलधन समाप्त पारिदिन्छ । पैसा बेरोजगार भए थप कमाउन सक्दैन । अनि साँवा नै झिकेर खानु पर्ने हुन्छ । मानिस बेरोजगार हुँदा पनि आम्दानीको अभावमा साँवा नै खानु पर्ने हुन्छ ।

हामी सवैको चाहना साँवा बचाएर आम्दानी खाने होे । साँवा बचाएर त्यसको कमाइ खानुलाई पैसालाई काममा लगाउनु पनि भनिन्छ । जसको माध्यमबाट नै वित्तीय स्वतन्त्रता हासिल गर्न सकिन्छ । नियमित आम्दानी खोज्नु भनेको नगद प्रवाह हो । यसको अर्थ सम्पति बढाउने भन्दा पनि साँवा नमासी दैनिकि चलाउन आवश्यक पैसाको जोहो गर्ने हो । तर, त्यो कसरी सम्भब छ ?

मेरा ती आफन्तले आफुसँग भएको पैसा लगानी गर्ने उपयुक्त सल्लाह मागे । मेरो नजरमा लगानीका विकल्प धेरै थिए । जस्तो सेयरको प्राथमिक बजार । दोस्रो बजार । सुन । घरजग्गा । बैंकको बचत खाता । मुद्दतीखाता । सरकारी ऋणपत्र आदि, इत्यादि । यी अनेक विकल्पलाई मैले उनको आवश्यकतासँग जोड्ने प्रयास गरे । उनको आवश्यकता अवकाससँगै आउने पेन्सनमा नियमित केही अन्य आम्दानी थप्न सके महिनावारी खर्च धान्न सजिलो हुने थियो । नियमित आम्दानी भनेको नै नगद प्रवाह हो । यसको अर्थ भएको पैसा लगानी गरेर नियमित पैसा आइरहोस भन्ने हो ।

जस्तो सुनमा लगानी गरे सम्पत्ति त हुन्छ तर नियमित आम्दानी हुदैन । पैसा चाहिए सुन बेच्नु पर्छ । जग्गा किनौ त्यहाँ पनि सम्पति हुन्छ तर आम्दानी छैन । सेयरमा लगानी गरौं लाभांश पाइन्छ भन्ने निश्चितता छैन । र, पाइए पनि बर्षमा एक पटक पाइन्छ । महिनैपिच्छे वा हरेक तीन महिनामा पाइदैन । घट्दो दोस्रो बजारमा सेयर मूल्य बढेर खर्च धान्छु भन्ने सम्भवना तत्काल छैन । र, जोखिम पनि त्यतिकै छ ।

सेयरको प्राथमिक बजारमा गरिने लगानीबाट पनि नियमित लाभांश पाइदैन । प्राथमिक बजारमा आउने प्रायः कम्पनीबाट लाभांश पाउन केही बर्ष कुर्नु पर्ने हुन सक्छ । यस्तै अर्को विकल्प सरकारी ऋणपत्रमा लगानी गर्नु हो । र, सरकारी ऋणपत्र तत्काल खुल्ने क्रममा पनि छन् । तर, यीनले दिने व्याज बैंकको व्याजभन्दा कम हुनुको साथै छ महिनामा एक पटक पाइन्छ । तर, पैसा हरेक महिना चाहिरहेको हुन्छ । छ महिना कुर्न सक्ने क्षमता हुदैन ।

यी बाहेकका विकल्प भनेको बैंक निक्षेप हुन् । जसबाट नियमित आम्दानी प्रप्त गर्न सकिन्छ । समय अवधि अनुसार वाणिज्य बैंकले मुद्दति खातामा १२-१३ प्रतिशतसम्म व्याज दिइरहेका छन् । र, ब्याज प्रायः त्रैमासिक रुपमा प्राप्त हुन्छ । आफूसँग ठूलै रकम भए बैकसँग मोलमोलाई गर्न सक्दा कतिपय बैंकले मासिक रुपमा पनि ब्याज भुक्तानी गर्न सक्छन् । जागिरबाट अवकास हुदै गरेका आफन्तलाई मेरो सुझाव भएको पैसा तत्काल बैंकको मुद्दति खातामा राख्नुहोस् भन्ने नै हो । मासिक ब्याज आउने मुद्दति भए राम्रो हो । त्यो नभए त्रैमासिक पनि ठीक छ । सेवा निवृत्त भएर वा अन्य कुनै माध्यमबाट केही पैसा हातमा हुने र सोही पैसाको भरमा जीवननिर्वाह गर्नुपर्नेहरुको लागि मुद्दतिखातामा पैसा राखेर ब्याज खानु अहिलेको समय उत्तम समय हो । बैंक निक्षेपमा यस्तो प्रतिफल सँधै प्रप्त हुदैन । यस्तो अवसर यस अघि २०६७/६८ मा आएको थियो ।

सेयरको प्राथमिक निश्कासनमा नियमित जसो आवेदन दिदै गरेका ती आफन्तले मेरो सल्लाह सुन्दै भने ‘त्यसो भए एक बर्षे मुद्दतिमा पैसा राख्नु पर्ला । अर्को बर्ष व्याज अझ माथि जाला अनि बढी दरमा नविकरण गर्नुपर्ला ।’

उनको पैसाको निर्णय गर्ने अधिकार उनैसँग सुरक्षित छ । तर विगतको इतिहास र आगामी दिनलाई हेरेर म उनको त्यो निर्णयसँग सहमत हुन सकिन । विगतमा पनि अहिलेकै तहमा पुगेर ब्याज घटेकाले अर्को बर्ष ब्याज अझ माथिजाने भन्दापनि तल जाने सम्भावना बढी रहन्छ । जसको प्रमुख कारण चुनाबी खर्च र नयाँ आवसँगै बढ्न सक्ने सरकारी खर्च हुन् ।

यदि भएको पैसा एक बर्षे मुद्दतिमा राख्ने हो भने अर्कोबर्ष अहिलेको भन्दा कम ब्याजमा मुद्दतिमा पैसा राख्नु पर्ने अवस्था हुन्छ । जसले आम्दानी बढ्ने भन्दापनि अझ घट्न जान्छ । अहिलेको व्याजबाट अधिकतम फाइदा लिन बढीभन्दा बढी अवधि जस्तो तीन बर्षे चार बर्षे मुद्दति खातामा पैसा राख्न सके राम्रो नगद प्रवाह प्राप्त हुन सक्छ । जुन प्रतिफल अन्य कुनै बिकल्पले दिन सक्दैन । भट्टराई सेयर बजार विश्लेषक हुन ।


क्लिकमान्डु