राष्ट्र बैंकको चट्टानी अडानले यसरी पूरा भयो मिसन ८ अर्ब



काठमाडौं । नेपाल राष्ट्र बैंकले ०७२ साल साउन ७ गते मौद्रिक नीतिमार्फत २ बर्ष भित्र बाणिज्य बैंकहरुको चुक्ता पुँजी न्युनतम ८ अर्ब रुपैंयाँ पुर्याउनु पर्ने घोषणा गरेको थियो ।

त्यसको लगत्तै बैंकर्सहरुले पुँजी अनुसारको ब्ययसाय तत्काल बृद्धि नहुने, २ बर्षको समयमै चार गुणा (त्यतीबेला बाणिज्य बैंकहरुको चुक्ता पुँजी न्युनतम २ अर्ब रुपैंया थियो) ले पुँजी बढाउन गाह्रो हुनेलगायत कारणहरुसहित असन्तुष्टि ब्यक्त गरेका थिए । र, शक्ति केन्द्रहरुमा राष्ट्र बैंकको निर्णय उल्टाउन लबिङसमेत गरेका थिए ।

समयभित्रै ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन नसक्ने जस्तो देखिनेमा एनसीसी एक्लो बैंक होइन । एनसीसीसँगै सिभिल, प्राइम र कुमारी बैंकलाई पनि कठिन हुने देखिन्छ । किनकि सिभिलको हाल ४ अर्ब ७१ करोड, प्राइमको ५ अर्ब ७९ करोड र कुमारीको ४ अर्ब ६१ करोड रुपैयाँ चुक्ता पुँजी छ ।

तर, निर्णय उल्टिने कुनै संभावना नदेखिएपछि उनीहरु बिस्तारै पुँजी बृद्धिको बाटोमा लागे । केही बैंक आपसमा मर्ज भए, केहीले स—साना संस्थाहरु प्राप्ती वा मर्ज गरे भने केहीले हकप्रदको बाटो रोजे । अब यसै आर्थिक बर्षको अन्त्यसँगै राष्ट्र बैंकले उनीहरुलाई दिएको २ बर्षको समय सीमा सकिंदैछ । तर, राष्ट्र बैंकले चालु आर्थिक बर्षको नाफाबाट बोनस सेयर दिएर पनि तोकिए अनुसारको पुँजी कायम गराउन सकने सुबिधा भने दिएको छ ।

यो दुई बर्षको अन्तरालमा कतिपय बैंकहरुले ८ अर्ब पुँजी पुर्याइसकेका छन् । कतिपय चालु आर्थिक बर्षको बोनस पछि न्युनतम पुँजी पुर्याउन सक्ने सहज अवस्थामा छन् । केहीलाई भने न्युनतम पुँजी पुर्याउन अलि कठिन हुने पनि देखिन्छन् ।

राष्ट्र बैंकले चालु आर्थिक बर्षपछि पनि तोकिएको न्युनतम पुँजी पुर्याउन नसक्ने बैंकलाई कारबाही गर्ने बताएको छ । तर, कस्तो कारबाही भने खुलाइसकेको छैन । पुँजी पुर्याउन नसक्ने बैंकहरुलाई दबाबपूर्ण मर्जरको बाटोमा लाने बिकल्प पनि भएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

अधिकांश बाणिज्य बैंकहरुले तोकिए अनुसारको चुक्ता पँुजी पुर्याउन सक्ने अबस्था देखिएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेल बताउँछन् । असार मसान्तकै दिन ब्यालेन्ससिट मगाएर हेर्दा सबै बैंकको चुक्ता पुँजी ८ अर्ब पुगेको नदेखिए पनि सो आर्थिक बर्षको नाफाबाट बोसन सेयर प्रदान गर्दा तोकिए अनुसारको चुक्ता पुँजी पुगेको देखिने उनको अनुमान छ ।

‘असार मसान्तकै दिन कुन बैंकको पुँजी ८ अर्ब पुग्यो र कुन पुगेन भनेर हेर्ने हो भने धेरै बैंकको नपुगेको देखिन सक्छ, तर, असारसम्मको नाफाबाट बोनस सेयर वितरण गरेर पनि चुक्ता पुँजी पुर्याउन सक्ने सुबिधा दिइएकोले अन्तिम ब्यालेन्ससिटमा अधिकांश बैंकहरुको चुक्ता पँुजी ८ अर्ब रुपैयाँ पुगेको हुने देखिन्छ,’ राष्ट्र बैंकको नियमन विभागका प्रमुखसमेत रहेका पौडेलले क्लिकमाण्डूसँग भने ।

चालु आर्थिक बर्षको तेस्रो त्रैमास, अर्थात चैत मसान्तसम्म वित्तीय बिवरण हेर्दा राष्ट्रिय बाणिज्य बैंक, कृषि बिकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले ८ अर्ब रुपैयाँ पुँजी पुर्याइसकेका छन् । नेपाल बैंकले ७ अर्ब ४५ करोड रुपैंयाँ पुँजी पुर्याइसकेको छ । उसलाई चालु आर्थिक बर्षको नाफबाट बोनस सेयर दिएर ८ अर्ब पुँजी पुर्याउन समस्या छैन । बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममै २ अर्ब ५१ करोड रुपैंयाँ खुद नाफा गरिसकेको छ ।

यो तथ्यांक राष्ट्र बैंकले प्रकाशित गरेको चैत मसान्तसम्मको आधिकारिक तथ्यांक हो । यसबीचमा बैंकहरुले जारी गरेको हकप्रद, मर्जर वा प्राप्तीपछिको बैंकको पुँजी अबस्था यो टेबलमा संलग्न छैन । टेबलमा दिइएको चुक्ता पुँजी, खुद नाफा र थप्नुपर्ने रकम रु करोडमा हो । थप्नु पर्ने रकम चैत मसान्तसम्मको आधिकारिक तथ्यांकको आधारमा उल्लेख गरिएको हो ।

नबिल, हिमालयन र ग्लोबल आइएमई पनि ८ अर्ब रुपैंयाँ पुँजी पुर्याउन सहज अवस्थामै छन् । ग्लोबलको गत बर्षको १६ प्रतिशत बोनस सेयर जोड्दा ७ अर्ब २४ करोड रुपैंयाँ चुक्ता पुँजी पुगिसकेको छ । नबिलको चैत मसान्तसम्म ६ अर्ब १८ करोड रुपैंयाँ चुक्ता पुँजी छ । नबिलले चालु आर्थिक बर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर बाँडे न्युनतम पुँजी पुर्याउन समस्या छैन ।

यसैगरी हिमालयनको पनि ६ अर्ब ५० करोड हाराहारी पुँजी पुगिसकेको छ । चैत्र मसान्तसम्मै १ अर्ब ५३ करोड कमाइसकेको हिमालयनलाई पनि बोनस सेयर दिएर ८ अर्ब पुँजी पुर्याउन समस्या छैन ।

एसबिआई बैंकको चैत मसान्तसम्म ४ अर्ब ९८ करोड रुपैंयाँ पुँजी थियो । तर, बैंकले हाल बिक्री गरिरहेको ४० प्रतिशत हकप्रद पछि उसको चुक्ता पुँजी ७ अर्ब रुपैयाँको हाराहारी पुँजी पुग्छ, र चालु आर्थिक बर्षको नाफाबाट १५ प्रतिशत हाराहारीको बोनस सेयरले ८ अर्ब रुपैयाँ सहजै पुग्छ ।

अर्को बिदेशी साझेदार रहेको एभरेष्ट बैंकको चैत मसान्तसम्म ४ अर्ब ६० करोड रुपैंयाँ पुँजी थियो । तर, बैंकले बुकक्लोज गरिसकेको ३३.३३ प्रतिशत हकप्रद पश्चात पुँजी ६ अर्ब नाघ्छ । त्यसपछि ८ अर्ब पुर्याउन एभरेष्टले चालु आर्थिक बर्षको नाफाबाट ३३ प्रतिशत हाराहारी बोनस सेयर बाँड्नु पर्ने देखिन्छ । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म एभरेष्टले १ अर्ब ५२ करोड रुपैंयाँ खुद नाफा गरेको छ ।

स्ट्यान्डर्ड चार्टडको चैत मसान्तसम्म ३ अर्ब ७५ करोड रुपैंयाँ चुक्ता पुँजी थियो । चार्टडले जारी गरेको २५ लाख कित्ता एफपिओको पुँजीकरण र प्रिमियमबापत आएको रकमको पुँजीकरण पश्चात ८ अर्ब पुँजीकरण पु्ग्ने देखिन्छ । चार्टर्डको जगेडा कोषमा एफपिओ पश्चात ३ अर्ब रुपैयाँभन्दा बढि रकम संचिति भएको छ । चार्टर्डले जगेडाकोष र चालु आर्थिक बर्षको नाफाबाट १०० प्रतिशत बोनस सेयर दिनसक्ने संभावना छ ।

मध्यमस्तरका बैंकहरु सिटिजन्स्, सनराइज, सानिमा, एनआएसी एसिया र एनएमबीको चुक्ता पुँजी पनि गत चैत मसान्त पश्चात पनि हकप्रदलगायतका माध्यमबाट क्रमशः ६ अर्ब ८७ करोड, ७ अर्ब, ६ अर्ब ८३ करोड, ६ अर्ब ६९ करोड र ६ अर्ब ४६ करोड रुपैंयाँ पुगिसकेको छ । यी बैंकहरु चालु आर्थिक बर्षको नाफाबाट १४ देखि २० प्रतिशतसम्म बोनस सेयर जारी गरि ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन सक्ने अबस्थामा छन् । एनएमबी बैंकले १.१४ करोड कित्ता एफपिओ जारी गर्न धितोपत्र बोर्डमा ओवदन दिइसकेको छ, जसको पुँजीकरण पश्चात बैंकको पुँजी बृद्धि यात्रा थप सहज हुनेछ ।

प्रभु बैंकको पुँजी चैत मसान्तसम्म ५ अर्ब ८८ करोड रुपैंयाँ छ । बैंकले सो पुँजीको ४० प्रतिशत हकप्रद जारी गरी ८ अर्ब पुर्याउने लक्ष्य लिएको छ । यसका लागि प्रभुले धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।

नेपाल बंगलादेश बैंक र माछापुछ्र्रे बैंकले पनि चैत मसान्तमा कायम पुँजीलाई बढाएर ७ अर्ब २२ करोड र ७ अर्ब ३९ करोड रुपैंयाँ पुर्याइसकेका छन् । यी बैंकले चालु आर्थिक बर्षको नाफाबाट १०/१२ प्रतिशत बोनस सेयर दिंदा ८ अर्ब रुपैयाँ पुग्ने देखिन्छ ।

यसैगरी मेघा बैंकले ६५ प्रतिशत हकप्रदको लागि इस्यु म्यानेजर नियुक्त गरिसकेको छ । ६५ प्रतिशत हकप्रद पछि बैंकको पुँजी ७ अर्ब नाघ्छ । त्यसपछि चालु आर्थिक बर्षको बोनसबाट ८ अर्ब पुर्याउने बैंकको लक्ष्य छ ।

जनता बैंकको पुँजी हाल ४ अर्ब ७२ करोड रुपैंयाँ छ । सिद्धार्थ बिकास बैंकलाई प्राप्ती गर्ने प्रक्रियामा रहेको जनताको पुँजी सो प्राप्ती पश्चात ७ अर्ब रुपैयाँको हाराहारी पुग्छ । सिद्धार्थ बिकास बैंकको पुँजी २ अर्ब २७ करोड रुपैंयाँ रहेको छ ।

यसैगरी चैत मसान्तसम्म ४ अर्ब ५७ करोड रुपैंयाँ पुँजी रहेको बैंक अफ काठमाण्डौंले हाल ५ अर्ब ६२ करोड रुपैंयाँ पुर्याएको छ । ६१.५८ लाख कित्ता एफपिओ जारी गर्ने प्रक्रियामा रहेको बैंकको एफपिओ पश्चात ६ अर्ब २३ करोड पुग्नेछ । त्यसपछि बैंकले चालु आर्थिक बर्षको नाफबाट २९ प्रतिशत हाराहारी बोनस सेयर बाँडे पछि ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुग्ने देखिन्छ ।

चैत मसान्तसम्म ३ अर्ब ७७ करोड रुपैंयाँ चुक्ता पुँजी रहेको सिद्धार्थ बैंकले हकप्रद र बोनस सेयर पश्चात हाल ६ अर्ब ८२ करोड रुपैंयाँ पुर्याएको छ । त्यसपछि बैंकले जारी गर्ने ३० प्रतिशत हकप्रद र त्यसपछि कायम पुँजीको फेरि १० प्रतिशत हकप्रपछि बैंकको पुँजी ७ अर्ब ५० करोड नाघ्छ ।

हाल ४ अर्ब ७१ करोड रुपैंयाँ पुँजी रहेको सेन्चुरी बैंकको ४० प्रतिशत हकप्रद पछि ६ अर्ब ५९ करोड रुपैंयाँ पुग्नेछ । त्यस पश्चात बैंक सगरमाथा फाइानान्स र अल्पाइन बिकास बैंकलाई प्राप्ती गर्ने प्रक्रियामा छ । त्यसपछि बैंकको पुँजी ७ अर्ब रुपैयाँको हाराहारी पुग्छ र चालु आर्थिक बर्षको नाफाबाट १० प्रतिशत हाराहारीको बोनस सेयर दिएर ८ अर्ब पुँजी पुर्याउने लक्ष्य सेन्चुरीले लिएको छ ।

यसैगरी लक्ष्मी बैंकको गत चैत मसान्तसम्म ३ अर्ब १६ करोड रुपैंयाँ थियो । तर, हाल हकप्रद र बोनस सेयरबाट बैंकले ७ अर्ब ४७ करोड रुपैंयाँ पुँजी पुर्याइसकेको छ ।

४ वटा बिभिन्न बिकास बैंक प्राप्ती गरेको एनसीसी बैंकको हाल ४ अर्ब ६८ करोड रुपैंयाँ पुँजी छ । बैंकले हालको पुँजीको ५० प्रतिशत हकप्रद र चालु आर्थिक बर्षको बोनस सेयरबाट ८ अर्ब पुँजी पुर्याउने लक्ष्य लिएको थियो । तर, एपेक्स बिकास बैंकको अत्याधिक खराब कर्जाका कारण हकप्रदको प्रक्रिया ठप्प भएको छ । यो हिसाबले बैंकले राष्ट्र बैंकले दिएको समयसीमा भित्र ८ अर्ब पुर्याउने संभावना कम देखिएको छ ।

समयभित्रै ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन नसक्ने जस्तो देखिनेमा एनसीसी एक्लो बैंक होइन । एनसीसीसँगै सिभिल, प्राइम र कुमारी बैंकलाई पनि कठिन हुने देखिन्छ । किनकि सिभिलको हाल ४ अर्ब ७१ करोड, प्राइमको ५ अर्ब ७९ करोड र कुमारीको ४ अर्ब ६१ करोड रुपैयाँ चुक्ता पुँजी छ ।


पुष्प दुलाल